• आइतबार १-२८-२०८२/Sunday 05-11-2025
अन्तर्वार्ता

‘अभियानको खर्च बिवरण पत्रकार सम्मेलनमा बुझाईसके’

काठमाडौं। यातायात व्यवसायमा आवद्ध सुबन गिरी यतीखेर चर्चामा छन। कुनै समय नेविसंघमा बसेर काम गरेका गिरीले आफ्नो व्यवसायसंगै बिभिन्न अभियानहरु चलाउँदै आएका छन। पछिल्ला केहि महिनादेखि उनले अर्को नयाँ जिम्मेवारी संहालेका छन। यस्तो संकटको बेला सहयोग गर्नुपर्छ भनेर उनी लयाएतका युवा नेता भुपेन्द्र जङ शाही, ऋषि कोइराला, सुबास कट्टेलले अभियनबारे मन्थन गरे र कार्यक्रम सुरु गरे। अभियान घोषणा गरेसंगै आफैले खल्तीबाटै पैसा जुटाएर भएपनि भोकालाई निःशुल्क भोजन गराउने उनको अभियानले सार्थकता पायो । हाल उनी वीपी युथ सर्कल बागमती प्रदेशका अध्यक्ष छन ।

 

संस्था सुरु गरेको केहि महिना मै संस्थाले परोपकारी कार्यमा हात अघि बढाएको छ। यस्ता कार्यलाई थप निरन्तरता दिनुपर्छ भन्नेमा उनको टिम लागेको छ। सर्कलले १८ दिनसम्म काठमाडौंको माछापोखरीमा ९ हजार बढीलाई खाना बितरण गर्‍यो। धेरै मनकारीहरुले उनलाई स्देश तथा बिदेशबाट सहयोग गरे र हौसला प्रदान गरे। निशेधाज्ञा थप चपेटामा परेको आफ्नो यातायात व्यवसायलाई कुनै प्रवाह नगरी उनी यो अभियानमा दिनरात नभनी खटिए र अभियानलाई सफल बनाउन लागि परे । यस्ता अभियान चलाउन सहज पक्कै छैन। अभियानमा खटिएका सुबन गिरीले यो अभियानसंग जोडिएका आफ्ना अनुभव फ्रेसन्यूज नेपाल संग साटेका छन । 


के सोचेर तपाईंले यो अभियान शुरूवात गर्नुभयो  ?
अहिले देशलाई एउटा संकट परेको छ। देशका सबै नगरिकहरू संकटमा छन्। अहिले देशभर पूरा निषेधाज्ञा छ, लकडाउन छ। विपन्न परिवारका मानिसहरूको अहिले काम खोसिएको छ। विभिन्न  कलाकारखाना तथा उद्योगहरू बन्द छन। बिहान काम गरेर बेलुका चुलो बाल्नेहरूको चुलो  निभेको छ। लामो समयदेखि निषेधाज्ञा हुँदा समस्या झनै बढेर गएको छ। हामी सामाजिक तथा राजनीतिमा रहेर काम गरिरहेका मानिस यतिबेला हामीले विपन्न तथा गाह्रोसाह्रो परेका मानिसहरूलाई केही राहत मिलोस् भन्ने कारणले यो अभियान शूरूवात गरेका थियौं । हामी चुप लागेर बस्न सकेनौं । अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

 
यसमा प्रत्यक्ष, अप्रत्यक्ष कसरी संस्थागत रूपमा सहयोग जुटाईरहनुभयो ? 
वास्तवमा यो अभियान विभिन्न संघ–संस्थाबाट भएको साथ सहयोगले नै सम्भव भएको हो । सामाजिक व्यक्तिहरूले सहयोग गरिरहनुभयो । यो सामाजिक कार्य भएकाले सबैले राम्रो काम हो यो राम्रो छ सह्रानीय कार्य गर्नुभएको छ भन्दै हौसला दिनुभयो। खान नपाएका भोको पेट भएका मानिसहरूलाई तपाईंले सहयोग पुर्‍याइरहनुभएको छ । तपाईंलाई हामी सहयोग गर्न तयार छौँ । अभियानमा सहयोग गर्ने मानिसहरू पनि धेरै हुनुहुँदोरहेछ । 

 

 

तपाई नेपाली कांग्रेसको राजनीतिसँग पनि जोडिनुभएको छ । तपाई विभिन्न संघसंस्थाहरूसँग पनि आवद्ध हुनुहुन्छ ?तपाईंको अलिकति पृष्ठभूमी बताईदिनुहोस न ?  
म विगत १५ वर्षदेखि विभिन्न संघ–संस्थामा बसेर सामाजिक कार्य गर्दै आइरहेको छु । मैले नुवाकोटबाट नेपाली कांग्रेसको सक्रिय राजनीति गरिरहेको छु । म नुवाकोटबाट तरूण दलको वर्तमान जिल्ला सचिव रहेको हुँ । वीपी स्डटी युथ क्लबको वागमती प्रदेश अध्यक्ष पनि हुँ । सुपर माउन्ट एक्प्रेस व्यावसायिक संघको अध्यक्ष पनि छु । त्यस्तै म एकदर्जन बढी सामाजिक संघसंस्थाहरूमा रहेर काम समेत गरिसकेकोछु । यतिखेर मलाई म आफ्नो दायित्व,नागरिकको कर्तव्य सम्झेर  काम गरिरहेको छु । मैले त्यति ठुलो काम त गरेको छु जस्तो लाग्दैन । त्यही पनि भोका पेटहरूको भोक मेटाउने धेयले नुवाकोट वीपी युथ क्लबका संयोजक अध्यक्ष सुवास कट्टेल र म बसेर यो अभियान चलाएका हौं ।


केन्द्रदेखि समान्य मान्छेलेसम्म यस अभियानमा सहयोग गर्नुभएको छ । केन्द्रीय नेताहरूको नाम सम्झिदा क–कसलाई सम्झनुहुन्छ। यसमा क–कसको सहयोग योगदान रहेको छ ?
यो अभियान शुरु गर्नको निमित्त उत्प्रेरण दिने, भोलीका दिनमा तपाईंहरूलाई धर्म र पुण्य मिल्छ भनेर हामीलाई तरूण दलका केन्द्रीय महामन्त्री तथा प्रभावशाली नेता भुपेन्द्र जङ शाहले हामीलाई यो बाटो देखाउनुभयो र हामीहरूले यसमा निरन्तर रूपमा लागिपर्‍यौं । वीपी स्टडी युथ क्लबका केन्द्रीय अध्यक्ष ऋषि कोइरालासँग सल्लाह गरेर हामी संस्थागत निर्णय पछि यो अभियान थालेका हौं ।


अब यो अभियान कस्तो रूपमा अगाडि बढ्छ । कोरोनाले गर्दा आम मानिसको जिन्दगी त अप्ठ्यारोमा परेको छ । कसरी चल्छ त अब यो अभियान ?
स्वयंसेवक साथीहरू तथा  विभिन्न राजनीति दलहरूबाट हामीले सधै साथ र सहयोग पाइरह्यौं । हामीले नेपाली कांग्रेसभित्र रहेको एउटा संघठनबाट यो अभियान चलाएका हौं । नेपाली कांग्रेसको व्यानरबाट यो काम चल्यो । एउटा पार्टीको आस्थामा सबैको भरोसा रहेको  हुन्छ । हामीले यो कार्य १९ दिनसम्म संचालन गर्‍यौं । आगागी दिनहरुमा पनि थप यस्ता सामाजिक कार्यहरुमा तपाईले हामीलाई अवश्य देख्नु हुनेछ ।

 


अहिलेसम्म कति जनाले सहयोग गर्नुभयो। अहिले त सामाजिक कार्य भनेपछि पैसाको चलखेल हुन्छ भन्ने चलन छ ? उनीहरूलाई कसरी बुझाउनहुन्छ ? 
म एउटा व्यवसायीक क्षेत्रमा पनि राम्रो काम गरिरहेको मान्छे हो। मैले यो अभियान चलाउने क्रममा नुवाकोटका वीपी स्टडी युथ सर्कल नुवाकोटका अध्यक्ष सुवास कट्टेल जो व्यवसायी,समाजसेवी हुनुहुन्छ । उहाँ र मेरो बिचमा सल्लाह भयो। हामी अरूसँग पैसा लिएर काम गर्ने सोचमा नै होइनौं । जति सकिन्छ त्यति गरौं। दुई पाँचलाख हाम्रो खर्च गरेर भोका पेटहरू भरिन्छन् भनेर हामीले यो अभियान शुरूवात गरेका हौँ । तर के हुँदोरहेछ भने सामाजिक कार्य गरेपछि म तिम्रो सहयोग लिन्न भन्न सकिदैनरहेछ । यसपछि विभिन्न संघसंस्थाल, सामाजिक व्यक्तिहरू हामीले गरेका कामहरू सामाजिक सञ्जालमा राखेको देखेर उहाँहरूले माक्स, स्यानीटाइजर, तरकारी, चामल तेल तथा आर्थिक सहयोग गर्नुभयो। हामीले सबैबाट सहयोग जुटाएर नै यो कार्य गरेका छौँ । मैले व्यवसायीक क्षेत्रमा पनि धेरै वर्ष विताएको छु । विभिन्न संघसंस्थाहरूबाट साथीहरूले सहयोग गर्नुभयो । म सबैलाई स्वागत गर्न चाहन्छु। हामी सबैसँग हातेमालो गरेर अघि बढेका हौं। हामीले कुनै माध्यमबाट पनि कसैलाईसहयोग गर भनेर भनेका रहेछौं भने तपाईंले भोलि हामीलाई प्रश्न गर्न सक्नुहुन्छ। सबै सहयोगी हातहरूलाई हामी नमन गर्न चाहान्छौँ । र अर्को कुरा हामीले यस अभियानमा उठेको सबै खर्च बिवरण अभियानको अन्तिम दिन पत्रकार सम्मेलन गरेर बुझाईसकेको छौं । म सधै काम गरेपछि सबैकुरा प्रष्ट र खुल्ला हुनुपर्छ भन्ने ब्यक्ति हुँ । म चाहन्न कि हामीलाई पछि कसैले पनि औंला उठाउने काम नगरुन् । 


यहाँ माक्स,स्यानीटाइजरहरु पनि रहेछन् । यो कसले सहयोग गर्नुभएको हो ?
नेपाली कांग्रेस भित्रका विभिन्न मनकारीहरूकोही डाक्टर, स्वास्थ्यकर्मीहरू हुनुहुन्छ । मेडिकलहरूले सबै सामान लिएर आएका हुन्छन्। साथीहरूले फोटो पनि खिचिरहनु भएको हुन्छ। तर, सार्वजनिक काम गर्नु निकै गाह्रो कार्य हुँदो रहेछ। अझै समाजको काममा रहेर सामाजिक कार्य गर्नु निकै गाह्रो कुरा हो। यहाँ केही तलमाथि भए आयोजक कमिटीमाथि औला उठ्ने भएकाले हामी आयोजक कमिटी निकै सचेत भएर यसमा लागेका हौं । 


दिनमा कति घण्टा खट्नुहुन्थ्यो ?
बिहान ६ बजे घरबाट निस्केपछि हामी सडकमा नै हुन्छौं । दिउँसो १२ बजे पछि हामी घर फर्किन्छौँ र खाना खान्छौँ । एक दुईघण्टा हामी सामाजिक सञ्जालमा व्यस्त हुन्छौँ र दुईबजे सडकमा निस्केपछि बेलुका ८–९ बजेसम्म सडकमा नै हुन्छौं । हामी दिनमा लगभग १५–१६ घण्टा यसैमा व्यस्त हुन्छौं । म राजनीतिक दलहरूलाई के भन्न चाहन्छु भने,हामी देश चलाउँछौ,राजनीति गर्छौ, नेता बन्छु देश चलाउँछु भन्ने मान्छेहरूलाई म प्रश्न गर्न चाहन्छु । अहिले ती व्यक्तिहरु कहाँ छन् ? कहाँ छ राज्य ? देशमा अहिले कुर्सीको चालखेल भइरहेको छ । सत्ता टिकाउने काम मात्र भइरहेको छ । देश अहिले ठप्प छ । जनताहरू मारमा छन् । मर्न तयार छन् अक्सिजन नपाएर । कति जनताहरू मरिरहेका छन् । म सबैलाई आग्रह गर्न चाहन्छु, यस्तो बेलामा सबैजनाले सामाजिक कार्यगर्नु अपरिहार्य छ । यो हामी सबैको उत्तरदायित्व पनि हो ।


वीपी स्टडी युथ सर्कल भोलिका दिनमा पनि यस्तै काम गर्ला ?
वीपीको सोच, विचार,सपना भनेको गरिवहरूलाई सहयोग गर्नु नै हो । त्यसैमा रहेर राजनीति गर्नु हो, क्रान्ती गर्नु हो। वीपी स्टडी युथ सर्कलको जन्म नै यसैकारण भएको हो। यसले निरन्तर सामाजिक कार्यहरू गर्दै जानेछ । 

 

अन्त्यमा के भन्न चाहनुहुन्छ  ?
यो अभियानमा यहाँसम्म आउँदा र समापन गर्दा  सुवास जी र मेरो मात्र विचार सोचले अभियान सफल भएको होइन । यो अभियानमा सयौं व्यक्तिवहरु जोडिनुभएको छ । यहाँ एउटा सिंगो टिम छ । हामीलाई पर्दा पछाडि बसेर धेरैले सहयोग गर्नुभयो । भीम गिरी, दयराम गिरि, तीर्थ गिरि, रमा गिरी,रमन गिरी, पुस्कर लम्साल, राजन गिरी, पशुपति गिरी, भीम रोक्का लगायत सबै साथीहरूको सहयोगले नै यो कार्यक्रम सफल भएको हो । हामीलाई सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । उहाँहरूले गर्दा नै यो कार्य सफल भएको हो । आगामी दिनमा फेरी यस्ता अभियानहरुमा यहाँहरुको साथ हौसला र सर्मथनको अपेक्षा राखेको छु ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार