• बुधबार ३-३१-२०७७/Wednesday 07-15-2020
रंगमञ्च

लकडाउन पछिको रंगमञ्च

काठमाडौं । रंगमञ्च एकान्तलाई सार्वजनिक गर्ने कला हो । एउटा समुदायभित्र छिरेर नै नाट्य प्रस्तुतिहरुले सम्पुर्णता पाउँछन् । रंगमञ्चको यो आधारभुत कुराहरुमा नै लकडाउनका कारण आघात पुगेपछि  रंगमञ्चको जुन सार अहिलेको दिनसम्म थियो त्यो रहेन अब । थिएटर बन्द छन् । रगंकर्मीहरुमा अब आउने दिन कस्तो होला भन्ने अनिश्चितताले गाँजेको छ । यसले रंगकर्मीहरुलाई मानसिक र शारीरिक रुपमा असर गरेको स्थिति छ । अहिलेको चुनौती भनेको नै कसरी रंगमञ्चीय गतिविधिलाई जारी राख्ने र रंगकर्मीहरुलाई कसरी इङगेज गराउने भन्ने हो । र यो नेपालको मात्र होईन आइसोलेसनले विश्वको रंगमञ्चमा पारेको असर हो । तर हामीले के बुझौँ भने जीवनधारा कहिले पनि समाप्त हुँदैन, कल्पना कहिले पनि थामिँदैन र रचनाशीलताले जुनसुकै विकट स्थितिमा पनि आफ्नो आकार बनाउँदछ ।

 

जीवनका विकटताले अ्प्ठेराहरु मात्र ल्याउने होइन, मानिसलाई विकल्पहरु पनि उपलब्ध गराउँदछ र त्यसले निकास पाउँछ । शायद हामी आआफ्नो काममा यसरी व्यस्त भयौँ कि समग्र मानवीय सम्बेदनाको सुत्लो कतै बिलाएर गयो । आफ्ना जीविकालाई मात्र केन्द्रमा राखेर मानिसले प्रकृतिको दोहन ग¥यो । आफ्नो मुलबाट मानिसहरु छुटे । तर मानिसका निम्ति एक किसिमको रियालाईजेसन जरुरी छ । यो एकान्तबासले मानिसहरुलाई जानीनजानी आफ्नो मूलतिर फर्कने बाटो बनाइदिएको छ । हामीले बिर्सेका कुरालाई सम्झाउन थालेको छ । र अहिलेको यो एकान्त र मौनताले रंगमञ्चलाई छुट्टै नविन अनुहारमा प्रस्तुत गर्नेछ भन्ने मलाई विश्वास छ । लकडाउन लाई एउटा अवसरको रुपमा लिइनुपर्छ ।

 

रंगकर्मीहरु अहिले सोसल मिडियामा विमर्श गरिरहेका छन् । आफुलाई रंगकर्मको कुनै न कुनै पक्षमा ईन्गेज गराउने कोशिस भईरहेको छ रंगकर्मीहरुबाट । कहिले पुरानो नाटकहरुको सोसल नेटवर्कमा स्ट्रिमिंग गरेर, कहिले लाईभ भएर, कहिले टेलिफनिक विमर्श त कहिले कुनै ग्रुप बनाएर, अडियो शेयर गरेर, बौद्धिक पुँजी निर्माणको काम गरिरहेका छौँ । नेपालमा अस्ति भर्खर थिएटर मलले क्वारेन्टाइनमा भर्चुअल थिएटर गरेर केहि नाटकको लाईभ स्ट्रिमिंग गरेको थियो । शैलीले थिएटरले विश्व बाल कविता महोत्सवको आयोजना गरिरहेको छ । हामी एक्टर्स स्टुडियोका साथीहरुबीच कविता, कथा, उपन्यास, नाटक, सिनेमा र चित्रकला आदि विषयमा निरन्तर आन्तरिक बहस गरिरहेका छौँ । यो आफनो इन्गेजमेण्टको भन्दापनि सोशल रिलेभेन्सीको लागि भईरहेको छ ।

 

रंगकर्मको यो अभ्यास भोली आउने रगमञ्चको लागि पनि ठूलो एसेट हो । कोरोना भाइरसको प्रकोपले हामीलाई नयाँ तरिकाले रंगमञ्चीय गतिबिधिलाई जारी राख्न नयाँ तरिका दिएको छ ।  एउटा महत्वपूर्ण कुरा यहाँ उल्लेख गर्न चाहान्छ’– त्यो के भने नाटकका दर्शक त्यो दिन अझ खुशी हुनेछन् जब हामी थिएटरमा लाईभ परफरमेन्स गर्नेछौ ।

 

कोरोनोको प्रकोप रहुन्जेल रंगमञ्चको गतिविधि सोसल नेटवर्कको माध्यमबाट नै अगाडि बढ्नेछ । पुराना नाटकको लाईभ स्ट्रिम गरिनेछ । स–साना स्पेसमा खेल्न सकिने मोनोलग या ससाना नाटक, नाटकका गीतको प्रस्तुति, नाटकका बिषय रुपशैली माथि बहस, विमर्श आदि पनि यसैबाट सम्पन्न हुनेछन् । आइसोलेसनमा बसेका अलग अलग र एक्लो व्यक्ति नै यसको दर्शक हुनेछ । र ती व्यक्ति बसोबास गर्ने घर या स्थानले नै प्रेक्षालयको काम गर्नेछ । जुन दिन प्रकोपको असर सकिएला त्यो दिन फेरि थिएटर घरहरुमा नाटक खेलिनेछ ।

 

दैनिक रोजगारीको रुपमा काम गर्ने हरेक व्यक्तिलाई यो ठुलो कष्टकर समय हो । विश्वमै रंगमञ्च यसैपनि आर्थिक रुपले अझै सबल क्षेत्र होइन । यसले गर्दा स्वतन्त्र रंगकर्मीहरु हुन् या रंग संस्थाहरुमा आबद्ध रंगकर्मीहरु हुन्, तीनले आफ्नो राशनपानीको कसरी व्यवस्थापन गर्लान् भन्ने प्रश्न उदाएको छ यतिखेर । यसको लागि अनलाइन सोसल मिडियाले भुमिका खेल्नसक्छ । हामी अनलाइनमा एक्टिङ र निर्देशनको कार्यशाला गर्न सक्छौँ होला । चिल्ड्रेनहरुलाई अभिनय सिकाउने, नाटकबारे ज्ञान बाँड्ने काम गर्न सक्छौँ होला र त्यसकार्य गरे वापत केही डोनेसन लिन सकिन्छ । यसैगरी आफ्नो खिचेका पुराना नाटक (यदि क्वालिटिको छ भने) अनलाइनमा पैसा तीरेर हेर्न मिल्ने बनाउन सकिन्छ ।

 

पछिल्लो समयमा ब्रिटेन नेशनल थिएटर । न्युयोर्कको ब्रोड वे, अष्ट्रेलियाको थिएटर सिन आदीले आफ्ना पुराना प्रोडक्शनका अनलाइन स्ट्रीमिङ गरेका प्रशस्त नाटकहरु पाइन्छन् पनि । यो समयमा डिजिटलाइज यस्ता प्रयासले पनि फन्ड कलेक्ट गर्न मद्दत गरेका छन् ।

 

(पत्रकार सुकृत नेपालले रंगकर्मी अनुप बरालसँग गरेको कुराकानीको सार) 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार