• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
डबली

दुर्गा कार्कीको 'कुमारी प्रश्नहरू' सार्वजनिक

काठमाडौं । लेखक दुर्गा कार्कीको प्रथम कृति  ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयले २०२० को पहिलो पुस्तकका रुपमा ‘कुमारी प्रश्नहरू’ सार्वजनिक गरेको हो ।

 

पुस्तकलाई नेपालयको कालिकास्थानस्थित ुआरु शालामा शुक्रबार आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

 

साहित्यमा महिलाको स्थानको संक्षिप्त वर्णन गर्दै राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन् । पोलिटले बेलायतको साहित्यिक इतिहासको स्मरण गराउँदै उसबेला उता पनि जर्ज एलिट जस्ता महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको सन्दर्भ कोट्याइन् र भनिन्- 'महिलालाई महत्वका साथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूमी बन्नेछ ।' राजदूत पोलिटले आफ्नो मन्तव्य नेपालीमै व्यक्त गरेकी थिइन् ।

 

कार्यक्रममा कथाकार दुर्गा कार्कीको लेखकीय व्यक्तित्वबारे प्रकाश पार्दै पत्रकार ढकालले भने, ‘दुर्गाको लेखनीमा विशेष शैली छ जसमार्फत् उनले उठान गरेका हरेक विषयवस्तुले नवीन जीवन पाउँछन् । त्यही नवीनता र गुरुत्व उनको कथा संग्रहमा पनि छर्लङ्ग देखिन्छ ।’

 

पुस्तकका बारे बोल्दै लेखक कार्कीले भनिन ‘लेख्नु भनेको लेखाइ मार्फत् अरुलाई बुझ्नु पनि हो, त्येसैले यी कथा लेख्दा मैले धेरै मान्छेका भावनालाई महसुस गर्ने मौका पाएकी छु । त्यसरी नै पात्रका भावनाहरुमार्फत समाजका विविध पक्षलाई केलाउने मौका पनि पाएकी छु,’ उनले भनिन्, ‘म आख्यान र गैरआख्यान दुवै विधामा लेख्न रुचाउँछु तर आख्यान लेख्दा वैचारिक आग्रह नथोपरियोस् भन्नेमा सचेत रहन्छु ।’

 

अन्त्यमा नेपालय पब्लिकेसनकी सम्पादक भूषिता वशिष्ठले प्रकाशित पुस्तकको सेरोफेरोमा रहेर लेखकसँग अन्तरसंवाद गरेकी थिइन् । संवादले पुस्तकको भाषा, शिल्प, शैली र विधाबारे प्रकाश पार्दै लेखकीय चुनौतीको विषयलाई समेटेको थियो ।

 

पुस्तक सार्वजनिक भएसँगै दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ नेपालका अधिकांश विक्रेताका साथै एमेजन डटकममार्फत् संसारभर उपलब्ध हुने जनाइएको छ । सार्वजनिक पुस्तक ‘कुमारी प्रश्नहरू’ को मूल्य ४२५ रुपैयाँ तोकिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार