• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

‘लुट्न सके लुट’ बोलको गीत सत्तापक्षको आक्रोशका कारण युट्युवबाट हटाइयो, गायक शर्माले मागे माफी

काठमाडौं । केही दिन अगाडि रिलिज भएको लोक तथा दोहोरी गीतलाई युट्युवबाट हटाइएको छ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीतलाई युट्युवबाट हटाइएको हो । उनको गीतमा प्रयोग भएको केही शब्द विवादमा तानिएपछि उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि देखिएका शब्दहरुलाई परिमार्जन गर्ने बताएका छन् । 

 

देशमा पछिल्लो समय भइरहेको समसामयिक घटनाक्रमलाई आधार बनाएर तयार पारिएको गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ । व्यंगात्मक शैलीको गीतमा शर्माले चर्चित वाइड बडी काण्ड, राष्ट्रपतिले डेढ करोडको हेलिकप्टर चढेको, भ्रष्टचार मौलाएको भन्दै यस्तो लुट मच्चाउने छुट नेपालमा भएको भन्दै आलोचना र व्यंग गरेका थिए । 

 

गत बिहीवार आएको गीतले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला विपक्षीहरुको मनोभाव झल्किएको भन्दै सरकार र सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि जनाएका थिए ।

 

गीतमा प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ । काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे बालुबाटारमा छललफल भएको थियो ।

 

यता गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।

 

गायक शर्माको विज्ञप्तिः–

 

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार!

 

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु । 

 

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु की म राजनीतिलाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो। 

 

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु। 

 

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु । 

 

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु । 

धन्यवाद । 
पशुपती शर्मा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार