• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
अर्थ

कोलकतामा सुन्तला पर्यटन महोत्सव शुरु 

कोलकाता । नेपाललगायत हिमालय शृङ्खलामा जोडिएका देशमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतस्थित पश्चिम बङ्गालको राजधानी कोलकातामा तीन दिवसीय ‘हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल (सुन्तला महोत्सव)’ शुरु भएको छ ।

 

भारतको एशोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमद्वारा आयोजित सो महोत्सव मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ । कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवले शुक्रबार साँझ कोलकाताको साल्ट लेकमा रहेको सिटी सेन्टरमा आयोजित कार्यक्रममा महोत्सव शुभारम्भ गरे। 

 

महावाणिज्यदूत अर्यालले नेपाल संसारकै ठूलो प्राकृतिक सङ्ग्रहालय भएको चर्चा गर्दै भारतीय पर्यटकलाई नेपाल घुम्न आउन आह्वान गरे। सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको बताउँदै उनले द्विदेशीय पर्यटन प्रवद्र्धनका लागि ‘रामायण सर्किट’ र ‘बुद्ध सर्किट’को अवधारणा संयुक्त रूपमा अघि सारिएको चर्चा गरे। 

 

महोत्सवमा नेपाल, भारत, भूटान र म्यानमारका ग्रामीण पर्यटनसँग आवद्ध दर्जनौँ सङ्घ संस्थाका स्टल छन् । तीन दिनमा करीब एक लाख पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवस्थलको अग्रभागमै नेपालका पाँच स्टल राखिएको छ । ती स्टलमध्ये इलामको सलकपुर, धनकुटाको खोकु र भोजपुरको सुन्तला धेरैको चासोको विषय बनेको थियो । 

 

कार्यक्रममा सहभागी हुन प्रदेश नं १ बाट ग्रामीण पर्यटनसँग आवद्ध होटल व्यवसायी, ट्राभल व्यवसायी, सामुदायिक घरबास सञ्चालक, नृत्यकार, चित्रकार र सञ्चारकर्मी गरी ८२ जनाको टोली कोलकाता आइपुगेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए।


नेपालका तर्फबाट सहभागी ताप्लेजुङको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालको कृषि उत्पादन र ग्रामीण पर्यटनको प्रचारप्रसारका लागि महोत्सव फलदायी भएको बताए।

 

नेपाली स्टलहरुमा सुन्तला, अलैँची, अदुवा, ग्रीनटी, जिम्मु, छुर्पी, अल्लोको कपडा, ढाकाको कपडा, कोदोको पिठोलगायतका कृषि उत्पादनका साथै प्रदेश नं १ का विभिन्न पर्यटकीयस्थल र सामुदायिक घरबासको प्रचारका सामग्री राखिएका छन् ।

 

एशोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमका अध्यक्ष राज बसुले नेपाल, भारत, भूटानलगायत हिमालय क्षेत्रका मुलुकलाई सुन्तला महोत्सवले पर्यटनको विकासमा हातेमालो गरेर अघि बढ्न प्रेरणा मिलेको धारणा व्यक्त गरे।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार