• सोमबार ८-७-२०८३/Monday 11-23-2026
खेलकुद

सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएल च्याम्पियन बन्ने इतिहास रचेको हो ।

 

पहिलो खेलमै लुम्बिनी लायन्ससँग पराजित हुँदै तेस्रो संस्करणको यात्रा सुरु गरेको सुदूरपश्चिमले अन्ततः फाइनलमा त्यही लुम्बिनीलाई हराएर उपाधि जितेको छ । यससँगै लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ भने तेस्रो प्रयासमा च्याम्पियन बन्ने आफ्नो सपना पनि पूरा गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

 

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले अविजित १२५ रनको शतकीय पारी खेले । उनले ५४ बलमा १२ छक्का र आठ चौका प्रहार गरेका थिए । ओपनर विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहे । लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ तथा अलि शेखले २४ रन बनाउनुभयो । डार्सी शर्टले २१ रन जोड्नुभयो ।

 

सुदूरपश्चिमका स्कट कुगलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले एक–एक विकेट हात पारेका थिए । उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ६० लाख रुपियाँ पाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार