• आइतबार ७-२९-२०८३/Sunday 11-15-2026
खेलकुद

विराटनगरको तेस्रो जित,पोखरा प्लेअफबाट बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा  विराटनगर किङ्सले चार विकेटले जित हासिल गरेको छ । शुक्रवार भएको खेलमा पोखरा एभेन्जर्सले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा छ विकेटमा जित निकालेको हो। खेलमा बसिर अहमदले ३७, लोकेश बमले ३३ र इमरान शेखले १० रनको योगदान दिए । अविजित रहेका इसुरु उडानाले २५ र शेहान जयसूर्याले १७ रन बनाए ।

 

पोखराका लागि बलिङतर्फ कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई तथा विपिन खत्री र धनन्जय लक्षणले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच  ओभरमा १३२ रनमा अलआउट भएको थियो । 

 

ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन् । धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

 

विराटनगर किङ्सका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २७ रन दिएर सर्वाधिक छ विकेट लिए । त्यसमा सन्दीपको ह्याट्रिक समावेश छ । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए ।

 

यो खेलसंगै विराटनगरले ६ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।  विराटनगरले लिगको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ । यस्तै पोखराको भने छैटौं खेलमा यो पाँचौ हार हो र २ अंकसहित पूछारमा रहेको पोखरा लिग प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार