• बुधबार ६-२८-२०८३/Wednesday 10-14-2026
डबली

सुनिल बाबु पन्तद्वारा लिखित पुस्तक सार्वजनिक

काठमाडौँ । संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक आइतबार सार्वजनिक गरिएको छ। शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको संविधान सभाको मानवअधिकार समितिकी सभापति बिन्दा पाण्डे, परशुराम रम्तेल, राष्ट्रिय सभा सदस्य रेनु चन्द, राजनीतिक नेतृ उषाकिरण तिम्सिना, प्राध्यापक राम लोहनी, लेखक सुशील पौडेल, कानुनकी विद्यार्थी अञ्जली कार्की, बौद्ध गुरु र शिखा बुक्सका पुष्प पराजुलीले संयुक्त रूपमा विमोचन गरे।

 

 

लैङ्गिक तथा यौनिक विविधताबारे समाजमा रहेको बुझाइ स्पष्ट पार्न पुस्तक उपयोगी हुने वक्ताहरूले बताए। उनीहरूले पुस्तकका विषयवस्तु विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न सुझाव दिए।लैङ्गिक तथा यौनिक विविधतालाई पूर्वीय दृष्टिकोणबाट माटो सुहाउँदो ढङ्गले बुझ्न पुस्तकले सहयोग गर्ने उनीहरूको भनाइ थियो। पश्चिमा बुझाइका कारण सिर्जना भएका भ्रम चिर्न पनि पुस्तक उपयोगी हुने उनीहरूले बताए।

 

लिङ्ग भन्ने बित्तिकै पुरुष र महिला मात्रै बुझ्ने समाजमा समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी व्यक्तिको पहिचानलाई सर्वस्वीकार्य बनाउन पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने वक्ताहरूले विश्वास व्यक्त गरे। लैङ्गिक तथा यौनिक विविधता जैविक, सामाजिक र मानवीय पक्षसँग जोडिएको विषय भएकाले यसबारेको बुझाइलाई फराकिलो बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

 

२०६२/०६३ को आन्दोलनदेखि नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संवैधानिक रूपमा समावेश गराउनसम्म पन्तको भूमिका महत्त्वपूर्ण रहेको वक्ताहरूले बताए। पुस्तकले लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी बहसलाई थप तार्किक र तथ्यपरक बनाउने उनीहरूले विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार