नेपालमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय हिमालयन बुटोह फेस्टिभल’ हुँदै
काठमाडौं । नेपालमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय हिमालयन बुटोह फेस्टिभल’ आयोजना हुने भएको छ। जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्च बुटोहलाई केन्द्रमा राखेर फेस्टिभल हुन लागेको हो। तीनदिने महोत्सवमा सात देशका कलाकारले आफ्ना प्रस्तुति दिने भएका छन्।
असोज ३० देखि कात्तिक १ गतेसम्म कास्कीको पोखरास्थित काव्यवाटिका, पुम्दीमा महोत्सव आयोजना हुनेछ। अदृश्य आर्ट्स, आर्ट घर र सद्भाव थिएटर नेपालको संयुक्त सहकार्य रहेको महोत्सवको नेतृत्वमा राम केएसी, केदारनाथ पौडेल, भीष्म राज जोशी र किरण चापागाईं रहेका छन् ।
बुटोह जापानबाट विकसित भएको एक प्रयोगात्मक डान्स थिएटर तथा फिजिकल थिएटरको शैली हो। यसको कुनै एउटै निश्चित शैली वा कथा संरचना हुँदैन। शरीरको गति, मौनता, समय, संवेदना र भौतिक उपस्थितिमार्फत मानिसका भित्री अनुभूति तथा अस्तित्वका प्रश्नलाई अभिव्यक्त गर्नु यसको मुख्य विशेषता हो।
बुटोहको उद्गम दोस्रो विश्वयुद्धपछि जापानमा भएको हो। युद्धपछिको जापानमा देखिएको सामाजिक, सांस्कृतिक र मानसिक उथलपुथलसँग यसको विकास जोडिएको पाइन्छ। हिरोशिमा र नागासाकीको विनाश, युद्धको स्मृति, मृत्यु, भय तथा आधुनिक समाजको संकटजस्ता अनुभवले यस कलाको संवेदनात्मक पृष्ठभूमिमा प्रभाव पारेका थिए।
आर्ट घरका संस्थापक जोशीले महोत्सवले शारीरिक अभिव्यक्ति र प्रयोगात्मक कलाका विभिन्न आयामबारे संवाद र आदानप्रदानको वातावरण निर्माण गर्ने अपेक्षा व्यक्त गरे। उनका अनुसार, नेपालमा यस किसिमको अन्तर्राष्ट्रिय महोत्सव आयोजना हुनु कलाकारका लागि विभिन्न देशका सिर्जनात्मक अभ्याससँग प्रत्यक्ष साक्षात्कार गर्ने र नेपाली दर्शकका लागि रंगमञ्चको फरक सौन्दर्यसँग परिचित हुने अवसरसमेत हुनेछ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस