भोटेकोशी बाढीको त्रास,फेरि यस्तो भोग्न नपरोस् !
-देवी सापकोटा
गोसाइकुण्ड गाउँपालिका टिमुरेकी क्षेतेन डोल्मा घले भदौ १० गते काठमाडौं मै थिइन । भोटेकोशीमा आएको बाढीले टुमेरेमा रहेकी आमाको अवस्थाबारे थाहा पाउन नसकेपछि होस हराए झै भइन । उपत्यकामा भएका आफन्तको साथ सहयोगमा दिउँसो २ बजे पछि मात्रै सेनाको हेलिकप्टरबाट उनी टिमुरे पुगिन । आमाको फोन लागिरहेको थिएन । डाडाको बाटो भएर आफन्त भेट्न गएको भन्ने थाहा पाइन। संयोगले आमालाई भेट्न र आफूसंगै ल्याउन पाइन तर आफूले बाल्यकाल बिताएको घर र धेरै आफन्तहरु भने उनले गुमाइन । हु्र्के बढेको घर कहाँ थियो भन्ने नै ठम्याउन सकिन्न। उनी अहिले स्वयम्भुको मुस्ताङ गुम्बामा मनोपरामर्शकर्ताको रुपमा काम गर्दै गरेको भेटिन्छिन। यस गुम्बामा अहिले रसुवाका ३३१ जना प्रभावितहरु बस्दै आएका छन । सेल्टरमा बस्ने देखी अस्पताल धाइरहेकाहरुको एउटै प्रशन छ ‘जे हुनु भइसक्यो बाचेकाहरुलाई सु्क्षित बास देउ गरी खाने व्यवस्था मिलाइदेउ’। दशकौं देखी गर्दै आएको व्यवसाय गुमेको पिडा एकातिर छ भने अर्को तर्फ परिवारका सदस्य सम्पर्कविहीन हुँदा होस गुमेझै भइरहेका छन उनीहरु ।
त्रिवी शिक्षण अस्पताल परिशरमा बेपत्ता भएका आफन्तहरुको फोटो टासेको छेउमा उभिएकी ६६ बर्षकी गायत्री ढकाल पनि हराएका आफन्त भेटिन्छन की भन्दै फोटोहरुमा आँखा डुलाईरहेकी थिइन । ‘म छोरीको घर काठमाडौं मै थिए । उपचारका लागि आएको थिए, म त बाँचे तर मेरो परिवारका धेरै आफन्तको अहिले पनि अवस्था थाहा छैन’ भावुक हुँदै उनले सुनाइन । ‘यो उमेरमा यस्तो घटना भोग्नुपर्छ भनेर कल्पना पनि गरेका थिएनौं । मेरो बहिनी ज्वाई र भाइहरुको जिवनभरको कमाई बगर भएको छ । घर पनि बाढीले बगायो’ भोटेकोशी बाढीका प्रभावितहरुलाई अहिले रसुवा, नुवाकोट र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरहरुमा राखिए पनि कतिपय ति सेन्टरहरुबाट बाहिर निष्केका छन । नुवाकोटमा भेटिएका प्रभावितहरु विदुर बजारका भाडाका घरहरुमा बस्न थालेका छन ।
नुवाकोट त्रिशुलीमा भेटिएका युवनप्रसाद अघिकारीले झण्डै ७० बर्ष यहि ठाउँमा बिताए । आफू संगै हुर्के बढेका दर्जनौ छिमेकी र आफन्त गुमाएको पिडा उनी शब्दमा व्यक्त गर्न सक्ने अवस्थामा छैन्न । ‘यो बाटो छेउमा झण्डै ३० बढी पसलहरु थिए अहिले न यहाँको संरचना छ न त यी घरहरुमा बस्ने आफ्न्त नै’ क्षति भएको ठाउँ देखाउँदै उनले भने, ‘कति सपना योजनाहरु थिए, अचानक आएको बाढीले सबै सखाप बनायो, अब कसरी उठ्ने केहि सोच्न सक्ने अबस्थामा छैनौं हामी ।’
ढुङ्गेमा रहेको बान्द्रे गुम्बामा भेटिएका अन्तरे लामा घटनाको प्रत्यक्ष साक्षी हुन ।डर लाग्दो आवाज,कालो मैलो लेदो सहित आएको बाढी देखेपछि उनी नित्य पाठ छाडेर बाहिर आए । स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गर्दा घाटी सुकेर बोल्न पनि नसकेको त्यो दिन उनले स्मरण गरे ।‘यो गुम्बामा हामी दुई जना थियौं, के गर्ने के नगर्ने अन्योलकै विचमा हामी चिच्याई रहेयौं ।’ अवस्था अहिले पनि असामान्य छ । सिंगो गाउँ शोकमा छ । लामाले पनि दर्जनौं आफन्त गुमाएका छन । उनले हरेक दिन भेट्ने गरेका छिमेकी र आफ्न्तको तस्वीर श्रद्धान्जलीका लागि गुम्बामा राखिएका छन । मनलाई सम्हाल्दै नित्यपाठ गर्ने गरेका उनले भने ‘उनीहरु अब आउदैंन्न, बाच्नेहरुलाई पिडा छ । अब शोकमै बसेर पनि त भएन ।’ सान्त्वना दिने शब्द पनि उनीसंग छैन ।
ढुङेमा भाडाको घरमा बस्दै आएकी भवानी अधिकारीको परिवारले १० गतेको बाढी पछि केहि दिन त्रिपालमै रात काटे। भुइतलामा लेदो भरिएको थियो। पक्षघात भएका ससुरा बुवाको रेखदेखमा समस्या भए पछि ५ जनाको परिवार त्रास बोकेर पुन त्यहि घरमा फर्किएको छ। ‘ विरामीको हेरचाह गर्न निकै कठिन भयो त्यसपछि हामी उही पुरानै ठाउँमा फर्केयौं’ उनले सुनाइन।
हजारौँ नागरिक अहिले घरबारबिहिन भएका छन । सरकारले पीडामा भएकाहरुलाई मलम लगाउँदै पुर्नस्थापनालाई तीब्रता दिनुपर्छ । प्रभावीतलाई सामान्य जनजीवनमा फर्काउनु सरकारको दायित्व हो । परिवारका सदस्यहरु गुमाएको चोट त छ नै जिवनभर कमाएको भौतिक सम्पति पनि बाढीले बगाएको छ । मानसिक र शारीरिक चोट भूलेर सामान्य दैनिकीमा र्फर्केन सबै पक्षको भूमिका महत्वपूर्ण हुन्छ ।
सुचना र विपदबारे अभ्यासको महत्व
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै यस क्षेत्रका मानिसहरुले भोग्नुपर्ने जोखिमका बारेमा नेपालमा पनि केहि बर्ष देखी चर्चा हुदैं आइरहेको थियो । बहस र छलफल शहरमा मात्रै केन्द्रीत हुँदा प्रत्यक्ष असर पर्ने नागरिकहरु भने त्यसबाट बन्चित हुन पुगे । जल तथा मौसम विज्ञान नीति, २०८१ ले आधुनिक पूर्वसुचना प्रणाली बिस्तार गर्न भनेर उल्लेख गरेपनि व्यवहारमा यो लागू हुन सकेको छैन भन्ने जव्लन्त घटना हो भोटेकोशी विपद र मानविय क्षति । घटना भएको एक महिना कटिसकेको छ । एक हजार ४ सय बढीको मृत्यु पुष्टि भइसकेको छ भने ६ हजार बढी मानिस अझै बेपत्ता छन । प्रभावित क्षेत्रबाट १३ हजार ७ सय बढीको उद्धार गरिएको सरकारी तथ्यांक छ। सरकारले पुनस्र्थापनाका लागि नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को दश प्रतिशत आवश्यक पर्ने भनेको छ ।
श्री चण्डी आधारभूत विद्यालयका पूर्व प्र.अ अर्जुनप्रसाद अधिकारीका अनुसार, ठूलो बाढी आउँदै छ भन्ने सुचना स्थानीयले पाए पनि ढिला गरि पाएको सुचना उनीहरुले अनुमान गर्न र पत्याउन नसकेको बताउँछन । बसेको भूगोल,बनोट र चुनौंतीबारे छलफल कम हुने गरेका छन । हिमाल, हिमनदीको बनोट, जोखिम र सावधानीका बारेमा कम चर्चा हुने गरेको छ । भौंगोलिक विभिदता र आउनसक्ने जोखिमका बारेमा पाठयक्रम बनाउनुपर्ने बताउँदै उनले भने ‘यो बेल्टमा हुन सक्ने सम्भावित जोखिम र आवश्यक अभ्यासहरु गर्न सकिन्थ्यो,सामान्य अभ्यास पनि गराउन नसक्दा धेरैंको ज्यान गुम्यो । बालबालिकालाई कक्षा कोठामा पढ्दै अभ्यास गर्ने शिक्षा दिन पाठयक्रम पनि चुक्यो ।’
हिमालहरुको आर्कषणबारे चर्चा हुन्छ तर,त्यसले निम्त्याउन सक्ने जोखिमका बारेमा कम चर्चा हुने गरेको छ । यसबाट हुन सक्ने जोखिम र ठूलो बाढी आउँदा तटिए क्षेत्रमा अपनाउनु पर्ने सावधानीबारे पाठयक्रममा समावेश गर्न र समय–समयमा अभ्यासहरु गराउन सकेको भए मानविय क्षति घटाउन सकिने बताइन्छ । डिपीनेट नेपालका अध्यक्ष बसन्तराज अधिकारीले हिमालहरुबारे बुझन र बुझाउन आवश्यक भएको बताउछन ।'नेपालको नेतृत्वमा हिमाल बुझ्ने प्रभावकारी कार्यदल चाहिन्छ । जोखिम भएका ति क्षेत्रहरुमा के भइरहेको छ भन्ने तटिय क्षेत्रका बासिन्दालाई नियमित अवगत गराउनुपर्छ ।' प्रभावितको स्थायी आवास संगै उनीहरुको दैनिकीलाई सामान्य अबस्थामा फर्काउन सरकारले ढिला गर्नु हुन्न । भोटेकोशी बाढीको उदगम स्थलमा तत्काल विज्ञहरु पठाएर थप जोखिम भए नभएकोबारे सरकारले जानकारी गराउनु पर्ने उनको सुझाव छ ।
देशको छानो बनेर रहेका हिमाल,हिमनदी र हिमतालको अबस्था कस्तो छ भन्ने जानकारी समयमा हुन नसक्दा मानविय क्षति बढेको छ । आगामी दिनमा थप जोखिम बढ्न सक्ने विज्ञहरुले चेतावनी समेत दिदै आइरहेका छन । सिमित दिवसहरुमा बाहेक हिमाल र हिम नदिहरुले ल्याउन सक्ने जोखिमको बारेमा खासै चर्चा हुने गरेको पाईदैन । सरकारले छिमेकी देशहरुसंग भरपर्दो सुचना संयन्त्र बनाउन अब ढिला गर्न हुँदैन ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस