निर्जीवन बीमा व्यवसायी संघद्धारा भोटेकोशी बाढी पीडितलाई ३ करोड ४७ लाख सहयोग
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति नेपाल निर्जीवन बीमा व्यवसायी संघले दुःख व्यक्त गर्दै राहत तथा पुनर्जागरणका लागि ३ करोड ४७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघ र यसमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूका तर्फबाट संकलित उक्त सहयोग रकम सङ्घका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा विभिन्न बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो । सहयोग गर्ने कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेका छन् ।
यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूका तर्फबाट संकलित थप २६ लाख २३ हजार १८ रुपैयाँसमेत अर्थमन्त्रीलाई बुझाइएको छ । एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सले यसअघि नै सहयोग हस्तान्तरण गरिसकेको र बाँकी कम्पनीहरू पनि योगदान गर्ने क्रममा रहेको संघले जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक संकटमा परेका बेला बीमा कम्पनीहरूले गरेको आर्थिक सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।संघको बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । साथै, बाढीबाट क्षति पुगेका आयोजना, पूर्वाधार र जनधनको विवरण प्राप्त हुनासाथ बीमा दाबी भुक्तानीको कार्यलाई उच्च प्राथमिकतामा राखेर तत्काल भुक्तानी गरिने संघले प्रतिबद्धतासमेत जनाएको छ ।





प्रतिकृया दिनुहोस