• मंगलबार ५-२-२०८३/Tuesday 08-18-2026
मनोरञ्जन

सिक्किम गान्तोकको कन्सर्टमा नेपथ्यको टिशर्ट सार्वजनिक गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङ

काठमाडौं ।लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ ।

 

भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र टिकट सार्वजनिक गरिदिए । उक्त टिशर्ट सिक्किम कन्सर्टकै लागि विशेष रुपमा तयार पारिएको हो । यसअघि नेपथ्यले आफ्नो आधिकारिक वेबसाइट मार्फत् आगामी अक्टोबर ३१ तारिख शनिबारका दिन गान्तोक कन्सर्टको घोषणा गरिसकेको छ ।

 


नेपथ्यले यसअघि पनि सिक्किममा तीनपटक आफुलाई प्रस्तुत गरिसकेको छ । पहिलो कन्सर्ट नेपथ्य ब्याण्डको पुनरागमनलगत्तै बन्द सभागृहभित्र भएको थियो । त्यसपछि दुवै कन्सर्ट भने विशाल मैदानमा फैलिएका दर्शकमाझ आयोजना गरिएका थिए । यसरी आयोजित आउटडोर कन्सर्टमा दोश्रो आयोजनास्थल पाक्योङ थियो भने तेश्रो राबाङला । पाक्योङमा त्यहाँस्थित सेन्ट जेभियर्स स्कुल अगाडिको विशाल मैदानमा कन्सर्ट आयोजना गरिएको थियो भने राबाङलामा चो जो लेकको किनार ।

 

राजधानी गान्तोकको मुख्य रंगशाला पाल्जोर स्टेडियममै आयोजना भएका हिसाबले यसपटकको चौथो भने सिक्किम यात्रामध्येकै सबैभन्दा भब्य हुने विश्वास आयोजकहरुले लिएका छन् ।


यसपटकको नेपथ्य कन्सर्टलाई सिक्किमका समस्त तन्नेरीहरुको उर्जा, उत्साह र सिर्जनशीलतालाई अघि बढाउने, संस्कृतिको संरक्षण र राज्यको सुन्दरतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अघि बढाइएको जानकारी आयोजक ‘पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क’ले दिएको छ ।


आफ्नो फेसबुकमार्फत आयोजना टोलीका संयोजक तेन्जिङ दोर्जेले सिक्किमको संगीत, संस्कृति र युवा पुस्तालाई अघि बढाउन यो कन्सर्ट सहयोगी हुने विश्वास ब्यक्त गरेका छन् । आफुहरुको प्रयासमा अघि बढेको कार्यक्रमका लागि स्वयं मुख्यमन्त्रीले टिकट र टिशर्ट सार्वजनिक गर्दै अपनत्व प्रकट गरिदिएकामा उनले हार्दिक आभारसमेत ब्यक्त गरेका छन् ।  


‘मुख्यमन्त्रीबाट प्राप्त सहयोग र हौसलाका लागि म आभारी छु,’ उनले भनेका छन्, ‘नेपालकै महत्वपूर्ण सांगीतिक टोली नेपथ्यलाई सिक्किममा भब्य स्वागत गर्ने क्षणको हामी ब्यग्र प्रतिक्षा गर्दैछौं ।’
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार