• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
पत्रपत्रिका

हिमाली भेगमा अलपत्र दुई हजार पर्यटकको उद्धार

काठमाडौँ । वर्षा र हिमपातका कारण देशका हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । 

 

पदयात्राको मुख्य सिजनमै भएको भारी हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाका उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा अलपत्र परेका स्थानीय, आन्तरिक र बाह्य पर्यटक गरी बुधबारसम्म एक हजार पाँच सय जना स्थानीय र आन्तरिक पर्यटक तथा दुई सयभन्दा बढी विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको हो । हिउँमा फसेका केही पर्यटकको उद्धार जारी छ ।

 

मनसुनजन्य विपत्का बेला राज्य संयन्त्र तत्काल उद्धार कार्यमा खटिँदा मनाङबाट सबैभन्दा बढी पर्यटकको उद्धार गरिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार बुधबारसम्म मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, उपल्लो मनाङलगायत क्षेत्रमा अलपत्र परेका सबै पर्यटकको उद्धार  भएको छ ।

 

हिमपातका कारण बाटो अवरुद्ध भएपछि जिल्लामा सवारीको समेत अभाव भएको जनाउँदै उहाँले मनाङबाट सकुशल पर्यटकलाई १५ वटा जिप र दुई वटा बसबाट गन्तव्यतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो । मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार सफल भएको उहाँले बताउनुभयो ।मीनराज भण्डारी/ गोरखापत्र

तस्बिर : नेपाली सेना

 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार