युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन,युवा सशक्तिकरण र उद्यमशीलतामा जोड

पोखरा ।‘युवाका लागि अबको निकास : उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने मूल नाराका साथ पोखरामा युवा उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । सम्मेलन उदघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेतृत्वलाई गाली मात्रै हैन आफूले देशका निम्ति उदाहरणीय काम गरेर देखाउन युवालाई सुझाव दिएका छन ।
यस्तै कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारीले युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा आफ्नो अनुभव र सिकाई सेयर गर्नुका साथै युवाहरूलाई आम सञ्चारको सदुपयोग र मिडिया साक्षरताबारे प्रशिक्षण दिएकी थिइन।
सहभागीहरूमा देशप्रतिको चासो चिन्ता र नेतृत्वलाई प्रश्न गर्ने हुटहुटी देखिएको बताउदै उनले भनिन 'यो पुस्ता आफ्नो देश सुन्दर भएको हेर्न चाहन्छ। नेतृत्वलाई गाली मात्रै हैन आफूले देशका निम्ति उदाहरणीय काम गरेर देखाउनुपर्छ भन्ने प्रतिबद्धता पनि उनीहरूसँग छ।'
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम,गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिका दयमन्ती रुचाल लगायतले आफ्ना भनाइ राखेका थिए ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट अनलाइन फर्म भरेर छनौट भएका युवा उद्यमी खुल्ला छलफलमा सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय युवा परिषद्, गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र नगर युवाको आयोजनामा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस