• सोमबार ३-२-२०८२/Monday 06-16-2025
शिक्षा

वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिँदै शान्ति समाजले मनायो स्थापना दिवस

 काठमाडौं ।वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिँदै समाजले २५ जिल्लामा २६ वटा कार्यक्रम गरि २९ औँ स्थापना दिवस मनाएको छ ।मानव अधिकार तथा शान्ति समाजको स्थापना २०५३ जेठ १९ गते भएको थियो ।

 

 यस क्रममा समाजद्वारा काठमाण्डौमा आयोजित नागरिक संवाद कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै घरपरिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याइ त्यसैबाट उपचार गर्ने व्यवस्था मिलाउन प्रयासरत रहेको बताउदैँ गर्छु भनेका कतिपय काम स्रोत सुनिश्चितताको अभावले पनि पूरा गर्न जटिल भइरहेको धारणा व्यक्त गर्नुभएको थियो । अनेक प्रयासका बावजुद स्वास्थ्य क्षेत्रमा बजेट बढेर आएको तर पर्याप्त नभएको मन्त्री पौडेलको धारणा थियो ।


कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतन्त्रको स्थायित्वका लागि सदैव दृढताका साथ उभिने बताउँदै वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सर्वत्र प्राथमिकता हुनुपर्ने र विशेषगरी कर्णाली प्रदेशमा सरकारको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।


स्वास्थ्यविद एवं पूर्व राजदुत डा. महेश मास्केले शिक्षा र स्वास्थ्य राज्यको मूल दायित्व भएको हुँदा सो सन्दर्भमा राज्य स्पष्ट हुनुपर्ने, लगानी बढाउनुपर्ने र जनस्वास्थ्यका  नविनतम चुनौतीहरुलाई सामना गर्न त्यसै अनुरुप नीति बनाउनुपर्नेमा जोड दिनुभयो।शिक्षाविद डा. विद्यानाथ कोइरालाले नेपाली समाजको मौलिक ज्ञान, परम्परा, सिप र संस्कार हस्तान्तरण र पुस्तान्तरण हुन नसकेको भन्दै शिक्षामा लगानी नै समान रूपमा हुन नसकेको, शिक्षक र विद्यार्थीको अनुपात नमिलेको, कर्णाली र मधेस प्रदेशमा शिक्षामा पर्याप्त लगानी हुन नसकेको भन्दै गुणस्तरीय शिक्षाका लागि लगानी आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।



यसैगरी जनस्वास्थ्यविद डा. शरद वन्तले आम नागरिकमा स्वास्थ्य सेवाको उपलब्धता र पहुँच नगन्य रहेको भन्दै नेपालका सन्दर्भमा स्वास्थ्यका क्षेत्रमा केहि महत्वपूर्ण सूचकहरु जस्तै बाल मृत्युदर, मातृ मृत्युदर, औसत आयु लगायतमा उल्लेख्य परिवर्तन भए पनि हाम्रो समाजमा विद्यमान विभेदलाई ढाकछोप गर्न औसतमा राखेर हेर्न नमिल्ने धारणा व्यक्त गर्नुभएको थियो ।

 


समाजका सभापति रेनुका पौडेलले विगत १७ वर्षदेखि जलवायु न्यायबारे अभियान सञ्चालन गर्दै आएको शान्ति समाजले सो का साथै हाल विकासको अधिकार, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित रहि देशव्यापी रुपमा अभियान सञ्चालन गरिरहेको बताउनुभएको थियो । सभापति पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका निवर्तमान सभापति रामकृष्ण बराल र पूर्व सभापति होमकान्त चौलागाईले शान्ति समाजको इतिहास र वर्तमान अभियानबारे प्रकाश पार्नुभएको थियो भने कवि अर्जुन पराजुलीले कविता प्रस्तुत गर्नुभएको थियो । समाजद्वारा तयार गरिएको अवधारणापत्र केन्द्रीय सदस्य रोजिना विष्टले र स्वागत काठमाण्डौ शाखा सभापति विकास थापाले गर्नुभएको थियो भने ३ जना सहभागिहरुले संक्षिप्त टिप्पणी गर्नुभएको थियो ।

 


शान्ति समाज स्थापना दिवसका अवसरमा २०८२ जेठ १९ गते समाजको सुर्खेत, रुपन्देही, गुल्मी, मोरङ, इलाम, महोत्तरी, नवलपुर, सल्यान, मुगु, बाँके, पाल्पा, झापा, संखुवासभा शाखाले “वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाः नागरिकको आधारभूत अधिकार” विषयक नागरिक संवाद आयोजना गरेका थिए भने चितवन, गोरखा, पर्सा, तेह्रथुम, सुनसरी, रुपन्देही शाखाले दीप प्रज्वलन गरेका थिए । यसैगरी दाङ, म्याग्दी, अर्घाखाँची, कपिलवस्तु, कैलाली, र बागलुङ शाखाले शैक्षिक सामग्री, फलफुल वितरण लगायतका कार्यक्रम गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार