बस्नेतको ‘बाइ द बुक’

काठमाडौँ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ । स्थापनाको झण्डै २८ वर्षको अवधमिा बुद्ध एयरले गरेको सफलताको पछाडी व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएको छ । एउटा संस्थाको कुशल व्यवस्थापन र सफल व्यक्तिको जिम्मेवारी र उसको सफल नेतृत्वदायी भूमिकाका बारेमा पुस्तकले बोलेको छ । बुद्ध एयरको स्थापनाताकादेखिको सङ्घर्ष र सफलता पुस्तक भित्र पाइन्छ ।
शनिवार आयोजित एक कार्यक्रममा कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक सञ्चारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शमशेर जबराले पुस्तकको विमोचन गरेका हुन । कोषका तत्कालीन प्रमुख प्रशासक श्रेष्ठले सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमूना संस्थाको रुपमा स्थापित बुद्ध एयर सबैका लागि प्रेरणादायी भएको बताए । त्यस्तै हिमालयन बैंकका सिइओ जबराले हवाई उद्योगको नमुना संस्थाका रूपमा रहेको बुद्धएयरसँग आर्थिक साझेदारी गर्न पाउनु आफ्ना लागि पनि गौरवको विषय भएको बताए ।
लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताए । “यो पुस्तकको अर्थ नियमसङ्गत हो । बुद्धएयर सुरुआत गर्दाको सपना र सोचलाई पुस्तकमा समेटिएको छ”, उनले भने, “हवाई उद्योग असाध्यै जोखिमपूर्ण उद्योग हो, विभिन्न बाधाव्यवधान र कठिनाइ आउँछन् तिनलाई कत्ति पनि हरेस नखाई कसरी समाधान र व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पुस्तकमा उल्लेख छ ।”
पुस्तकमा बुद्ध एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्त समेटिएका छन् । देशमा केही भएन र हुँदैन भन्नेहरूका लागि बाइ द बुकले केही आशाको सञ्चार गराउने छ र अस्तित्वको आत्मबोध गराउने छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस