दिनेश अधिकारीको 'पानीको परेड' कवितासंग्रह सार्वजनिक

काठमाडौं ।कवि दिनेश अधिकारीको कवितासंग्रह पानीको परेड लोकार्पण गरिएको छ । कवि दिनेश अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन नेपालयले पानीको परेड प्रकाशन गरेको हो ।
‘२०३२ चैतमा ‘रत्नश्री’मा मेरा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड सुरु भएको हो,’ पानीको परेड पुस्तक लोकार्पण कार्यक्रममा अधिकारीले भने, ‘पुस्तकका रुपमा अन्तरका छिटा देखि आज पानीको परेड सम्म आइपुगेको छु ।’
कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएको पनि कवि अधिकारीले स्मरण गरे । २०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर अग्रज कविहरु मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेहरुका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताए ।
‘२०३८ साल भदौमा म सरकारी जागिरे भएँ । त्यही वर्ष माघ २२ गते राष्ट्रपुकारु मा विष्णुविभु घिमिरेसँग संयुक्त रुपमा लेखेको ‘समय’ कविता छापियो,’ कवि अधिकारीले सम्झिए, ‘अनि त हामीमाथि १० वर्षसम्म जेल सजाय हुने राजकाज मुद्दामा पक्राउ पुर्जी जारी भयो । बागमती अञ्चलाधीश कार्यालयमा हाजिर भएर बयान दियौं । धन्न १ दिनेश अधिकारीको नामबाट कविता लेख्ने व्यक्ति नै सरकारी जागिरदार दिनेशहरि अधिकारी हो भन्ने सुइँको प्रशासनले पाएन । नत्र मेरो जागिर जाने पक्का थियो ।’
आफ्नो ५० वर्ष लामो काव्ययात्राका अनुभूति बाँड्दै गर्दा कवि अधिकारीले कविताबारे आफ्नो दृष्टिकोण पनि सुनाए । ‘कहिले लाग्छ, कविता जीवनको कलात्मक मन्तव्य हो । कहिले लाग्छ, जीवनको विद्रोही वक्तव्य हो,’ उनले भने, ‘कविता शिल्प र कल्पनाको अँगालो त हो नैस यो भावना र विचारको भँगालो पनि हो । समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि हो, कविता ।’
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस