• बुधबार ७-२८-२०८१/Wednesday 11-13-2024
देश/प्रदेश

छठ पर्व शुरु,तराईका जिल्लाहरुमा रौनक

काठमाडौं । सूर्यको उपसना गरेर मनाइने छठपर्व कात्तिक शुल्क चतुर्थी तिथीबाट शुरु भएको छ । छठ मनाइने विशेष गरेर तराईका जिल्लाहरुमा यसको रौनकले गाउँ देखि शहर सम्म देखिन्छ । 

 

पृथ्वीमा प्रयाप्त प्रकाश प्रदान गरेको र आफ्नो मनोकामना पूरा गरेकोमा  कृतज्ञता दिँदै आराध्यदेव सूर्यको उपासना गरेर मनाइने पर्व हो छठ । कात्तिक शुल्क सप्तमीका दिन समाप्त हुने यो पर्वमा विशेष गरेर मधेसी समूदायका महिलाहरु निराहार व्रत बस्ने चलन प्रचलन छ । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरिन्छ । साथै पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने प्रचलन रहेको छ । परम्परा अनुसार यो पर्वमा चार दिनसम्म व्रत बस्ने चलन छ ।

 

छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिने गरिन्छ । यस्तै रातभर नदी तथा तलाउ किनारमा जागारामा बसी भजनकीर्तन गर्ने परम्परा रहेको छ  र भोलीपल्ट विहान बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिईन्छ । त्यसपछि छठ पूजा समापन हुने गर्दछ । यसकारण अहिले नदि, तलाउ, पोखरीहरु बेहुली जस्तै श्रृङ्गारिएका छन् । 

 

छठ पर्वमा सूर्यको उपासना सहित पारिवारिक सुःख , सन्तानको प्रगति तथा पतिको दिद्यायुको कामना गर्दै पानि समेत नखाई निराहार ब्रत बस्ने चलन रहेको छ । विशेष महिलाहरुले यो ब्रत बस्ने गरेका छन् । छठको पहिलो दिन चतुर्थी अर्थात् अर्वा–अर्वाइन गरिन्छ । यस दिनलाई नहाय–खाय पनि भनिन्छ । यस दिन बिहान सबेरै उठेर शुद्ध तथा चोखो पानीले नुहाउने, हात खुट्टाको नङ काट्ने र सफा कपडा लगाएर पूजा गर्ने गरिन्छ । यस दिन शुद्ध शाकाहारी भोजन गर्ने र जथाभावी खाँदिन भनेर भगवानसँग प्रण गर्ने दिनको रुपमा लिइन्छ । 

 

यस्तै दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिन ब्रतालुले एक छाक खाने चलन छ । यस दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाडामा अरबा चामलको खीर बनाउने गर्दछन । सख्खर राखेर बनाइएको खीर देवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र प्रसाद स्वरुप खीर ग्रहण गरिन्छ । जसलाई खरना भनिन्छ। 

 

तेस्रो दिन अर्थात् मुख्य दिन । छठको दिन । यस दिन ब्रतालुहरू पानीसमेत नपिई निराहार ब्रत बस्ने गर्दछन् । साँझपख पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा आफूले तयार गरेको घाटमा गएर पूजा गर्दछन् । ब्रतालुहरुले पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । यस दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँने गरिन्छ यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । 

 

छठको चौथो तथा अन्तिम उदाउँदो सूर्यको पूजा गरिन्छ । ब्रतालुहरूले उदाउँदो सूर्यलाई अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । यो कर्म सकिएपछि आफ्नो घाटबाट घर फर्किएर सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्ने चलन रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार