• बिहीबार ७-२९-२०८१/Thursday 11-14-2024
डबली

तेजिलो, वेगिलो र जोसिलो ‘धोबीघाट मेलोडी’

काठमाडौं । गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धसङ्ग्रह ‘धोबीघाट मेलोडी’ एक कार्यक्रमबीच लोकार्पण भएको छ । लिट्टल एन्जल्स स्कुलका प्रिन्सिपल रहेका शर्माको पुस्तक शनिबार विमोचन भएको हो । निबन्धसङ्ग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, विद्या लिम्बु, डा. दयाराम श्रेष्ठ, कुमारी लामा, एसपी कोइराला, विष्णुविभु घिमिरे, अशेष मल्ल, श्रीओम श्रेष्ठ रोदन, शकुन्तला शर्मा, निर्मला शर्मा, विन्नी श्रेष्ठ तथा मान्यता शर्माले विमोचन गरेका थिए । 

 

विमोचित कृतिमाथि हरिहर शर्माले आशीर्वचन दिएका थिए भने लेखक स्वयम्ले निबन्धांश वाचन गरेका थिए । श्रीओम श्रेष्ठ, अशेष मल्ल, विष्णुविभु घिमिरे तथा एसपी कोइरालाले शुभकामना मन्तव्य दिएका थिए । श्रेष्ठले शर्माको निबन्धसङ्ग्रहमा मौलिकपन भएको बताए । रंगकर्मी अशेष मल्लले निबन्धकारले भावलाई समेटेर लेखिएको भाषाशैली गज्जबको भएको बताए । उनले पृथक् भाषाशैली प्रयोग गर्न सक्नु निबन्धकारको खुबी बतायो । उनले अहिले शंकर लामिछानेको निबन्धभन्दा कम नभएकाले दोस्रो शंकर लामिछानेको उपमा दिएका थिए ।

 

कुमारी लामाले आफ्नो समीक्षात्मक मन्तव्य राख्दै उत्कृष्ट लेखन भएको बताए । समीक्षक प्रा.डा दयाराम श्रेष्ठले शर्माका निबन्धमा कविताको रिदम, कथात्मक म्युजिकल नोट, चिमोट्नुको मीठो ताल, जीवन–दर्शनको सुर, पाठकमैत्री सिम्फोनी, प्रतिक्रियात्मक साउन्ड पज तथा केही नितान्त प्राइभेट गीतको नाद सौन्दर्य पाइएको बताए । उनले भने, ‘शब्द शिविर पछिको यो धोबीघाट मेलोडी कम तेजिलो, वेगिलो र जोसिलो छैन, उहाँको गद्यशैलीले मलाई पागलै बनायो ।’

 

कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने ‘साहित्यमा कुनै नामै छैन, यस्तोमा मलाई बोलाएर अन्याय गरेको हो कि पुरष्कृत गरेको हो थाहा नै भएन ।’ राजनीतिक व्यक्तित्वलाई साहित्यिक कार्यक्रममा बोलाएर धोबीघाटसम्म जोडेकोमा उहाँले आभार व्यक्त गरे । उनले आफ्नो खेत नै धोबीघाटमुनि भएको र पुस्तकको नामकरण पनि धोबीघाट भएर आएकोमा हर्ष व्यक्त गरे । मेयर महर्जनले शिक्षा समितिको बैठकमा शैक्षिक व्यक्तित्व मुकुन्द सरले बोलेपछि आफूले बोल्नुपर्ने कुनै आवश्यकता नरहने बताए । काममा समर्पण विचारमा स्पष्टता नै चिरिबाबुको पर्याय बनेको उनको भनाइ थियो । 

 

सभापति एवं संस्थापक उमेश श्रेष्ठले ३०÷३५ वर्ष अघिसम्म राम्रो रहेको साहित्यिक क्षेत्र अहिलेको पुस्तामा आइपुग्दा अलि घटिरहेको हो कि भन्ने लागेको बताए । उनले यस्तो विषम परिस्थितिमा मुकुन्द सरको कृति आउनु गौरवको विषय भएको जनाए । बलासाहित्य नाटक भएको देश राम्रो मानिले बताउँदै उनले आफ्नो संस्थाबाट ३७ हजार विद्यार्थी पासआउट भएर गए पनि साहित्यको क्षेत्रमा कमै मात्र आएको बताए । उनले भने, ‘संस्कार हराउँदै गएको समयमा यसले कोशेढुंगा सावित गरोस् ।’ २ सय २ पृष्ठको सो निबन्धसङ्ग्रह को मूल्य ५ सय रहेको प्रकाशकले जनाएको छ । निबन्धभित्र २४ वटा निबन्ध सङ्ग्रह छ । यसलाई तीन भागमा बाँडिएको छ । पहिलो भागमा क्षणिकीहरु, दोस्रोमा अनुभूतिहरु र अन्त्यमा अन्तर्दृष्टिहरु समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार