• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
देश/प्रदेश

लामिछानेलाई ६ दिनको म्याद थप

तस्वीर : कृष्ण दवाडी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा उनलाई पक्राउ गरिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले बताए ।

 

शुक्रबार काठमाडौँमा पक्राउ परेका सभापति लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको थियो भने आइतवार उनलाई अदालत समक्ष प्रस्तुत गरिएको थियो । इजलासमा सरकारी वकिलका तर्फबाट कमला काफ्लेले  बहस गरेकी थिइन भने सभापति लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशिल पन्त, डा.नारायण घिमिरेलगायतले बहस गरेका थिए ।

 

सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा बाहिर भने उनका समर्थकले नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र आसपासको क्षेत्रलाई तोकेर निषेधाज्ञासमेत जारी गरेको थियो । समर्थकबाट निषेधाज्ञा तोड्ने प्रयास भइरहँदा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरी भीडलाई त्यहाँबाट हटाएको थियो । 

 

सहकारी पीडितका साथै सभापति लामिछानेका समर्थक दुबै पक्षका छुट्टैछुट्टै प्रदर्शनका कार्यक्रम तय भएसँगै प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गरेको थियो । जिल्ला अदालत परिसर आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार