• शनिबार ६-५-२०८१/Saturday 09-21-2024
मनोरञ्जन

'आँखा' को विशेष प्रदर्शनी

काठमाडौं। सामाजिक सञ्जालमा मुभी लभर्स ग्रुपले असोज ८ गते चलचित्र 'आँखा' को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको चलचित्र सहरी गरिब र सुकुम्वासीको कथा बोकेको छ । पोस्टर र टिजर सार्वजनिक भएसँगै ुआँखाुले दर्शकको ध्यान तानेको थियो ।

 

स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर 'मुभी लभर्स कम्युनिटी' ले चलचित्र विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक चलचित्रलाई आम दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ । 'राम्रा नेपाली चलचित्रलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ,' कम्युनिटीले आफ्नो पोस्टमा भनेको छ, 'हाम्रो दशौँ वार्षिकोत्सवलाई चलचित्रसँगै मिलेर मनाउँदै छौँ । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो' आँखामा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ ।

 

'मानवता, सामाजिक दबाब, नैतिकता र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्,' निर्देशक योन्जन भन्छन्, 'यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने सङ्घर्षको मार्मिक दृष्टिकोण हो ।' दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्साउन चलचित्रको रमाइलो कथा तयार गरिएको उनी बताउँछन् ।

 

'मुभी लभर्स कम्युनिटी' ले केही वर्षदेखि फरक धारका चलचित्र विशेष प्रदर्शन र बहस गर्दै आएको छ । 'ऐना झ्यालको पुतली', ;हल्कारा'  'आचार्य', 'डाकिनी',  'म अलप हुन चाहन्छु; लगायत चलचित्र र वृत्तचित्र प्रदर्शन गरिसकेको कम्युनिटीले नेपाली चलचित्रलाई सबै खाले दर्शकसम्म पुर्‍याउन सेतुको भूमिका खेल्दै आएको बताएको छ । चलचित्र असोज ८ गते मङ्गलवार बेलुकी ५ बजे सुनधारास्थित सिडीसी सिनेमामा प्रदर्शन हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार