पर्यटनमन्त्री पाण्डेलाई भारतीय अभिनेता जोन अब्राहमको पत्र
काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमले नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई चितवनको सौराहामा आयोजना हुँदै आइरहेको हात्ती महोत्सव रोक्न गर्न आग्रह गरेका छन् । उनले आफ्नो हस्ताक्षरसहितको पत्र पठाउँदै महोत्सवमा हात्तीको प्रयोग हुने भएकाले त्यो रोक्न अनुरोध गरेका हुन् । पत्रमा उनले महोत्सवको नाममा हात्तीहरूमाथि दुर्व्यवहार हुने गरेको जनाएका छन् ।
टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार अभिनेता अब्राहमले महोत्सवका क्रममा हात्तीलाई कुटपिट गर्ने, दौडिन बाध्य पार्ने, पर्यटकको सवारी तथा पोलो र फुटबल खेल्न प्रयोग गर्ने गरिएकाले यस्ता कार्यले जनावरको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने उल्लेख गरेका छन्। यी बुद्धिमान र संवेदनशील जनावरले खेलका क्रममा शारीरिक र भावनात्मक पीडा भोग्नुपर्छ’, मन्त्री पाण्डेलाई सम्बोधन गर्दै अभिनेता अब्राहमले लेखेका छन्, ‘जसले प्राकृतिक वासस्थानमा हात्तीहरूको सुन्दरता देखेका छन्, ती सबैलाई थाहा छ– हात्ती शक्ति र बुद्धिको प्रतीक मात्र नभई राष्ट्रिय सम्पदासमेत हुन्।’
यसैले महोत्सवमा हात्ती प्रयोग गर्ने प्रथा बन्द गर्न पत्रमा उनले आग्रह गरेका छन्। अब्राहमले लेखेका छन्, ‘नेपालसँग सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य स्थापित गर्दै साझा भविष्यतर्फ अगाडि बढ्ने अवसर छ।’ अभिनेता अब्राहमले पत्रमा हात्ती पोलो र फुटबलजस्ता कार्यक्रमहरूलाई नैतिक वन्यजन्तु पर्यटन पहलहरूसँग प्रतिस्थापन गर्दा त्यसले वन्यजन्तुको सम्मान र संरक्षण सुनिश्चित गर्दै विश्वमा नेपालको ख्याति बढाउने उल्लेख गरेका छन् । ‘हात्तीको खेललाई खारेज गर्न म विनम्र आग्रह गर्दछु,’ उनी लेख्छन्, ‘नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ, र म विश्वस्त छु कि यसको उज्यालो भविष्य त्यहाँका जनता, वन्यजन्तु र अतुलनीय प्राकृतिक सौन्दर्यको सम्मान गर्ने निर्णयहरूले आकार दिनेछ ।’
प्रतिकृया दिनुहोस