• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
पत्रपत्रिका

अविरल वर्षाले धेरै ठाउँमा क्षति, सडक अवरुद्ध

घोराही  ।  अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छ । सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण कैयौँ बस्ती जोखिममा परेका छन् । घोराही समाचारदाताका अनुसार दाङका विभिन्न ठाउँ जलमग्न हुनुका साथै सडक अवरुद्ध भएका छन् । लगातारको बर्सातका कारण दाङ तथा देउखुरी उपत्यकामा धेरै घर डुबानमा परेका छन् । 

 

घोराही उपमहानगरपालिका–१७, गैरागाउँ वडा नं. १८ को बालुवाटार, राप्ती गाउँपालिका–५, लट्ठहवा, पहरूवा र कालापानी र लमही नगरपालिका–७, हस्नापुरलगायतका स्थानमा एक दर्जनभन्दा बढी घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

 

लगातरको वर्षाका कारण शनिबार खोलाले बगाउँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–५, गङ्गदी खोलामा रा १ त २१६६ नम्बरको ट्याक्टरलाई खोलाले बगाउँदा ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही ठाउँ निवासी ट्याक्टरचालक महेश यादव र स्थानीय राजकुमार चौधरीको सकुशल उद्धार गरिएको छ । 

 

तानसेन समाचारदाताका अनुसार पहिरो खस्दा शनिबार बिहानैदेखि बेलुकीसम्म पनि जिल्लाका राजमार्ग तथा सहायक मार्गमा सवारीसाधन सञ्चालन हुन सकेनन् । सिद्धार्थ राजमार्गको कालीमाटी, बर्तुङ, राम्दी सितापहाड क्षेत्रमा पहिरो खसेको छ । दिनभर पानी परे पनि पहिरो हटाउने प्रसास सफल हुन सकेन ।

 

 राप्ती नदीमा आएको भेल बाँकेका गाउँ बस्तीमा पसेको छ । सो नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँ डुब्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेको स्थानीय प्रेम सुनारले बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले राप्ती नदीको सतहले खतराको चिह्न पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएका कुरा बताउनुभयो ।गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार