• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
डबली

‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु  

काठमाडौं, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्र्टुनिस्ट क्लबको सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा मङ्गलवारबाट ‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्मकुमार भुसाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलालगायतले संयुक्त रूपमा उद्घाटन गरे । 

 

उपकुलपति लामाले दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताउँदै विपद् न्यूनीकरणसम्बन्धी सन्देश ग्रासरुटसम्म लैजान जरुरी भएको बताए । राष्ट्रिय विपद् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रदर्शनीमा राखिएका कलाले जोखिमका बारे उजागर गरेको र प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताए । सहसचिव भीष्मकुमार भुसालले कार्टुन र चित्रले हजारौँ पृष्ठले बोल्न नसकेका कुरा बोल्ने बताउँदै यसको सम्बन्धित क्षेत्रमा ज्ञान पु¥याउन सके अझ महत्त्वपूर्ण हुने कुरा राखे । 

 

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको बताए । साथै उनले कलामार्फत मानव तथा प्रकृतिलाई बचाउन के–कस्तो भूमिका खेल्न सकिन्छ र यसलाई सामाजिक जागरणको अभियानमा कसरी लान सकिन्छ भनेर सोच्नुपर्ने धारणा राखे । प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख तथा कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले चित्रकारको चित्र आएर नै यो कार्यक्रम सफल भएको बताइन । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले यस्तो महत्त्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । 

 

समारोहमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ प्राज्ञसभा सदस्य जुपिटर प्रधानलगायतको उपस्थिति रहेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा सन्देशप्रवाह गर्ने उद्देश्यसहित गरिएको यस प्रदर्शनीमा अविन श्रेष्ठ, अकृन, बासु क्षितिज, देवेन्द्र थुम्केली, केशव राज खनाल, महेश बस्ताकोटी, रवि मिश्र, रविन्द्र मानन्धर, भानु भट्टराई, सानुराज डङ्गोल, सुजिता महर्जन, पल्पसा डंगोल, अर्पिता शाक्य, सुदर्शन सिग्देल, सौरगंगा दर्शनधारी, विश्व थापा, सागर शाह, आयुश, पान सिङ, गौरभ डङ्गोललगायतका कलाकारका कार्टुन, पोस्टर, चित्रकथा समाविष्ट छन् । कलाकृतिमा जलवायु परिवर्तन, बाढी, पहिरो, आगलागी, भूक्ष्य, गर्मीलगायतका विषय समेटिएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार