• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
डबली

मेचे संस्कृतिमा आधारित 'माखाल'

काठमाडौं । सिमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास माखाल आज राजधानीमा लोकार्पण गरिएको छ । तेजप्रकाश श्रेष्ठद्वारा लिखित र परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको माखाल अर्थात आफ्नो समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको सुरुमा आएको राजनीतिक जागरणलाई समेटिएको छ ।

 

पुस्तक लोकार्पण समारोहमा मेचे समुदायको तर्फबाट बोल्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयकी सहसचिव रोशनी मेचेले आफ्नो समुदायका सांस्कृतिक पाटोको अनुसन्धान गरी तयार पारिएको उपन्यास आफैँमा अनुसन्धानात्मक कृति समेत हुनपुगेको टिप्पणी गरिन । मेचे समुदायमा माखाल प्रणालीले कसरी काम गर्थ्यो भनी बुझ्न चाहनेहरुका लागि उपन्यास एउटा रोचक पुस्तक बनेको छ उनले भनिन् ।

 

समिक्षक ठाकुर शर्मा मेचे जातिको सांस्कृतिक पाटोलाई उक्त समुदायकै भाषाका शब्दहरु समेत राखेर तर सरल र सहज तिरकाबाट तयार पारिएको उपन्यास नवीनतम सांस्कृतिक उपन्यास बन्न सफल भएको दावी गरे ।

 

पुस्तकका लेखक तेजप्रकाश श्रेष्ठले २०६४ सालमा मेचे समुदायसँग ३ महिना भन्दा बढी समय विताएर त्यस समुदायका अगुवाहरुसँग कुराकानी गरेका आधारमा सृजनात्मक लेखन गरी माखाल उपन्यास तयार गरेके बताए ।

 

प्रकाशक परिचय पब्लिकेसनका प्रमुख कार्यकारी भाष्कर ज्ञवालीले सिमान्तकृत मेचे समुदायको संस्कृतिलाई नेपाली साहित्यको मुलधारमा स्थापित गर्न यो उपन्यास प्रकाशित गरेको बताए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार