• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
खेलकुद

नेपाल विश्वकपबाट बाहिरियो

काठमाडौं । दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी ट्वान्टी-२० विश्वकप विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

 

दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो ।अन्तिम दुई ओभरमा नेपाललाई जितक लागि १६ रन चाहिएको थियो । १९औं ओभरको दोस्रो बलमा एनरिक नोर्टजेले कुशल मल्ललाई १ रनमा बोल्ड गराए । पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गरे । अन्तिम बलमा उनले दुई रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रनको आवश्यकता रह्यो ।

 

अन्तिम ओभरको पहिलो दोस्रो बलमा बार्टमनले गुलशनलाई डट बल गरे । तेस्रो बलमा गुलशनले चौका प्रहार गरे । चौथो बलमा उनले दुई रन लिए । पाँचौं बल भने डट बल रह्यो ।अन्तिम बलमा जितका लागि २ रन चाहिएकोमा गुलशनले कुनै शट खेल्न सकेनन् । बाईमा रन लिने क्रममा उनी रन आउट भए र नेपाल पराजित हुन पुगेको थियो ।

 

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो। दक्षिण अफ्रिकासँग पराजित भएसँगै यस समूहबाट बंगलादेश र नेदरल्यान्ड्सबीच सुपर एटमा पुग्न भिडन्त हुने भएको छ। 

 

नेपालसँग अन्तिम खेल खेल्न बाँकी बंगलादेशको तीन खेलबाट चार अंक छ। श्रीलंकासँग अन्तिम खेल खेल्ने नेदरल्यान्ड्सको समान खेलबाट दुई अंक रहेको छ। नेपालसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार