• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
खेलकुद

पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं । नेपाल एसिया कप क्रिकेटको पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको छ । मुल्तान क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा जितका लागि तीन सय ४३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ बनाएको थियो । 

 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ र गुलशन झाले १३ रन जोड्न सफल भए । त्यस्तै पाकिस्तानका लागि सदाब खानले चार विकेट लिए । शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले दुई दुई तथा नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिएका थिए । 

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरका ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनाएको थियो ।पाकिस्तानका लागि बाबर आजम र इफ्तिखर अहमदले शतकीय पारी खेलेका थिए । बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट, करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । 

 

नेपालले समूहको अर्को खेल सेप्टेम्बर ४ तारिख भारतसँग श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।  शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार