• सोमबार ७-१-२०७८/Monday 10-18-2021
अन्तर्वार्ता

यसरी अन्नपूर्ण पोस्ट् नयाँ स्वरूपमा आयो !

यहाँको पत्रकारिता यात्राको पृष्ठभूमिबारे केही बताउनुहोस् न । 
म झापामा आईए पढ्दै थिएँ । त्यतिबेला नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको थियो । त्यस समयमा गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहलगायत नेताबीच कडा विवाद थियो। त्यही सेरोफेरो मैले पनि मनमा लागेको कुरा लेखें । ‘नेपाली कांग्रेस भित्रको झगडा : यता न उता’ शीर्षकमा लेखेको कागज बोकेर भद्रपुरस्थित ‘हिजो–आज’ दैनिकको कार्यालयमा पुगें । सम्पादकलाई खोजें । सम्पादक डिल्लीराम ‘निर्भीक’ (हाल स्वर्गीय) हुनुहुन्न रहेछ । कार्यकारी सम्पादक राजबाबु शंकर भेटिनुभयो । उहाँलाई बुझाएँ । भोलिपल्ट बिहान हेर्दा पहिलो पेजको माथि वारपार मेरो नाममा ढ्याक्क समाचार छापिएको देखेँ । खुसीको सीमा रहेन । त्यो पत्रिका यति धेरैलाई बाँडेर पढाएँ, जुन पढ्दा पढ्दै च्यातियो। त्यसले मलाई उत्साह समेत जगायो । अर्को दिन फेरि उनै राजबाबु शंकरलाई भेटेँ । मैले लेखेको कुरा सामान्य पाठक–पत्रमा नै आउँछ कि आउँदैन भन्ठानेको थिएँ, तर अगाडि नै यति धेरै महत्वका साथ छापिएछ भनेँ । मैले उहाँबाट सकरात्मक प्रतिकृया पाएँ । मैले त्यहाँ काम गर्ने अवसर पाउन सक्छु कि भनेर सोधें । उहाँले भन्नुुभयो, ‘हामीसँग अहिले त्यस किसिमको अवसर त छैन । तर, लेख्दै गर्नुहोस्, छापिदिउँला ।’ 

 

त्यसपछि सक्रिय पत्रकारितामा कसरी जोडिनुुभयो ?
त्यहाँबाट निस्किँदै गर्दा त्यहीं रहेका अर्का एक व्यक्ति मलाई पछ्याउँदै आउनुभयो। उहाँ देवेन्द्रकिशोर ढुंगाना हुनुहुँदो रहेछ। उहाँले पत्रिकामा काम गर्ने भए बसन्तकुमार खड्काको ‘सूर्योदय’ साप्ताहिकमा कुरा गरिदिने भन्नुभयो। ‘उहाँ पाको मान्छे हुनुहुन्छ। अलि बिरामी हुनुहुन्छ। उहाँलाई सहयोग गर्ने मान्छे चाहिएको छ’, ढुुंगानाले भन्नुभयो । म उहाँसँगै बसन्त सरको घरमा गएँ । उहाँले भन्नुभयो, ‘ठीक छ, तपाईं लेख्नुस्। पत्रिका पनि तपाईं निकाल्नोस् । के के गर्नुहुन्छ गर्नोस् । पैसा दिन सक्दिनँ । मैले कतै खटाएर पठाएँ भने बाटाखर्चसम्म दिन्छु । तपाईं अफिस आएर बस्नुस् । कहीँ जानु पर्दैन । लेख्नुस्, छाप्नुस् ।’ 

 

उहाँले तपाईंकै जिम्मा भनेर छोडिदिनुभयो । त्यहाँ मैले ‘व्यंग्य झटारो’ भन्ने स्तम्भ लेख्न थालेँ । त्यो निकै चर्चित भयो । केही दिनपछि उहाँले मलाई पहिलो पल्ट बाटो खर्च दिएर एउटा रिपोर्टिङमा पठाउनुभयो। त्यो थियो– मोमेन्टो एपरेल्स प्रालिको उद्घाटन। झापामा दक्षिण एसियाकै ठूलो गार्मेन्ट फ्याक्ट्री खुलेको थियो । त्यसको उद्घाटन तत्कालीन प्रधानमन्त्रीले गर्ने कार्यक्रम थियो । टन्टलापुर घाममा अरू खुला आकाशमा थिए । पत्रकार बस्ने ठाउँमा पाल टाँगिएको थियो । हामीलाई कोकाकोला ल्याएर खान दिए । त्यहाँ जुन सम्मान पाएको देखें, त्यसले पत्रकारिताप्रति आस्था जगायो । 

 

त्यहींबाट तपाईंको पत्रकारिताको यात्राले गति लिएको भन्दा हुन्छ ?  
‘सूूर्योदय’ साप्ताहिकमा मैले के कति लेखें, बिर्सिएँ । तर, मेरो स्तम्भ ‘व्यंग्य झटारो’ विस्तारै लोकप्रिय भयो । त्यति बेला झापाको अत्यन्त चर्चित दैनिक थियो ‘विवेचना।’ त्यसका सम्पादक नकुल काजी पत्रकारितामा काबिल । त्यहाँ काम गर्न भनेपछि सबै हुरुक्क हुने। एक दिन झापाका प्रनिष्ठित लेखक-पत्रकार एसएल शर्मा (हाल स्वर्गीय) ले मलाई भन्नुभयो, 'तिमी मसँग एक ठाउँ जान्छौ ?’  

 

‘कहाँ ? ’ भन्ने नसोधी म जान राजी भएँ । उहाँले पनि भन्नुभएन । रिक्सामा हालेर लैजानुभयो । पुग्ने बेलामा मात्र भन्नुभयो, ‘तिमीलाई नकुल काजीले खोजेका छन् । उनलाई तिम्रो व्यंग्य लेखाइ मन पर्‍यो रे ।’ मेरो हर्षको सीमा रहेन । त्यसमाथि नकुल काजीसँग भेट्ने हुटहुटी झन् बढ्यो ।


नकुल काजीले के भन्नुभयो ? किन बोलाउनुभएको रहेछ ? 
उहाँले भन्नुयो, ‘भाइ, तपाईंको लेखाइ राम्रो छ । म कहाँ काम गर्नुहुन्छ त ?’ ‘आबुई ! सरकोमा काम गर्न पाउँदा कसले नगर्ने ?’ मैले भनेको मात्र के थिएँ, उहाँले बोल्न रोक्नुभयो । र, भन्नुभयो, ‘मलाई सर नभन्नुहोस् । सर भनेको धेरै परको साइनो हो । मकहाँ काम गर्ने भए दाइ भन्नुहोस् । सर भन्ने हो भने बरु गइहाल्नुहोस् ।’ 

 

फसादै परेछ है ? 
क्या अप्ठ्यारो लाग्यो । मैले भने, ‘माफी चाहन्छु, आइन्दा सर भन्ने छैन। मौका दिनुहुन्छ भने म तपाईंकोमा काम गर्न तयार छु, दाइ ।’ बल्ल उहाँ मुसुक्क हाँस्नुभयो। टेबुलको एउटा घर्रा तान्नुभयो र परिचयपत्र निकालेर भर्नुभयो। ‘सहायक सम्पादक’ लेखिएको कार्ड थमाउँदै मलाई भन्नुभयो, ‘ल, आजैदेखि तपाईं अब विवेचना परिवारको सदस्य हुनुभयो । बधाई छ, भाइ ।’ तलब पनि निकै आकर्षक थियो। हर्षित हुँदै म फर्किएँ । 

 

‘विवेचना’ मा के–के काम गर्नुभयो ? 
हाम्रा नियमित रिपोर्टर कोही थिएनन् । रासस, कान्तिपुर, गोर्खापत्रका समाचारलाई आधार बनाउँथ्यौं। साभार होइन, आधार। ‘आधार स्रोत फलनामा मिडिया’ भनेर माथि नै हाल्थ्यौं। तिनका समाचारलाई पूरै पुनर्लेखन गरिन्थ्यो । नकुल दाइ भन्नुहुन्थ्यो, ‘भाइ, भाषा गतिलो, वजनदार र शुद्ध हुनुपर्छ ।’ काम थालेको भोलिपल्टै मेरो टेबुलमा नयाँ शब्दकोश आइपुग्यो । एउटा शब्द दिनमा नयाँ खोजेर हाल्नैपर्ने उहाँको उर्दी थियो । अहिले हामी पत्रकारितामा सरलता खोज्छौँ । उहाँचाहिँ गतिला शब्द रुचाउनुहुन्थ्यो । जोखिम किन नहोस्, नौलो काम गर्नुपर्छ, तपाईंको लेखनमा नयाँ–नयाँ शब्द राख्नुस् भन्नुहुन्थ्यो । 

 

यसको मतलब तपाईंले भाषा त्यहींबाट सिक्नुभयो ?
मेरो भाषाका गुरु नकुल दाइ नै हुनुहुन्छ । कहिले हामी मिलेर शब्द रचना गथ्र्यौं । एक दिन मैले सोधें, ‘दाइ, सदुपयोगको उल्टो कसरी दुरुपयोग भयो होला ?’ उहाँ भाषामा प्रयोग गर्न खप्पिस । मेरो प्रश्न अनौठो मात्र मान्नुुभएन, समाधान तुुरुन्तै निकाल्नुुभयो । भन्नुभयो, ‘सदुपयोगको उल्टो उदुपयोग लेखिदिउँ न त ।’ चलाइयो त्यो शब्द, उटपट्याङ काम भए पनि। उहाँसँग काम गर्न रमाइलो पनि थियो, जटिल पनि । सधैं सजग हुनु पथ्र्यो। एकदिन मैले कोश पल्टाउँदै जाँदा ‘किंकर्तव्यविमूढ’ भन्ने शब्द फेला पारें । रनभुल्लमा परेको अर्थमा त्यो शब्द प्रयोग हुँदो रहेछ । बडो खुसी भएर समाचारको शीर्षकमै त्यसलाई लेखें । उहाँले जब त्यो शब्द देख्नुभयो, पहिला खुसीले मुस्कुराउनुभयो। अनि, मेरो कन्सिरी तानेर भन्नुभयो, ‘के हो महाशय, किंकर्तव्यविमूढ शुद्ध लेख्न आउँदैन ?’ खासमा यो शब्दको ‘मू’ दीर्घ हुने रहेछ । मैले ह्रश्व लेखेको रहेछु । त्यो कन्सिरी तनाइ यति साह्रो थियो कि, सम्झँदा अहिले पनि पिसाब आउन खोज्छ। उहाँ भन्नुहुन्थ्यो भाषा शुद्ध लेख्न नजान्ने मान्छे पत्रकार नै होइन । ‘विवेचना’ मेरालागि भाषा सिक्ने गतिलो पाठशाला बन्यो। त्यहाँको कडा अनुशासन र लगनशीलताको बाध्यताले मलाई खार्दै लग्यो ।


त्यसपछिको पत्रकारिता शृंखला कस्तो रह्यो ?
झापामा स्नातक तहमा ऐच्छिक गणित (म्याथ) थिएन। म गणित शिक्षक बन्न चाहन्थें । त्यही भएर झापामा एक वर्ष चानचुन काम गरेर म विराटनगर सरें। त्यहाँ पढ्दै पत्रकारिता गरिरहें । काठमाडौंका लोकपत्र, नेपाल समाचारपत्र आदिमा रिपोर्टर भएर काम गरें । ‘चिरफार’ चलायौं हामीले विराटनगरबाट। पहिला साप्ताहिक थियो। पछि अर्धसाप्ताहिक। अन्ततः त्यो बन्द गरेर काठमाडौं हानिएँ । कान्तिपुरमा जोडिएँ । त्यहाँ १८ वर्षभन्दा बढी काम गरेर अन्नपूर्ण पोस्ट्मा आएको हुँ । 

 

पत्रकारिताको अहिलेको अवस्थाबारे के भन्नुहुन्छ ?
नेपाली पत्रकारिताको अवस्था निकै सुदृढ भएको छ। त्यो बेला हेरेर अहिले निकै सहज पनि भएको छ। अहिले पत्रकारिता व्यावसायिक बन्दै गएको छ। एउटै बिटमा धेरै पत्रकारहरुले काम गर्न सक्ने अवस्था छ । पत्रकारिता पढ्ने विश्वविद्यालय तथा सिकाइका माध्यमहरू प्रशस्तै छन् । नेपालमा तीव्र गतिले अघि बढेको क्षेत्रका रूपमा पत्रकारितालाई पनि लिन्छु म ।


मिडिया हाउसभित्र सम्पादकीय स्वतन्त्रता कस्तो छ ?
यो त ‘भेग’ कुरा हो । मैले कुनै विभाग सम्हाल्दादेखि नै सर्वत्र यस्तै सुन्दै आएको थिएँ । सबैले भन्छन्– मिडिया हाउसमा सम्पादकीय स्वतन्त्रता कुष्ठित हुन्छ । तर, जब म सम्पादकीय नेतृत्वमा पुगें, नितान्त फरक पाएँ । मेरो स्वविवेकले गरेका काममा हाम्रा अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई जोडेको पाउँछु । कहिलेकाहीँ मेरो उहाँसँग एक महिनासम्म पनि कुराकानी हुँदैन। कुनै सम्पादकले म स्वतन्त्र छैन भन्नुभयो भने भिन्दै कुरा, तर म पूर्ण स्वतन्त्र छु । 


त्यही भएर अन्नपूर्ण मिडियामा तपाईंकै हालिमुहाली चल्छ भनेका हुन् त ? 
केलाई हालीमुहाली भन्नुभएको, मैले बुझिनँ । भनिसकें, छापिने सामग्री मेरो र सम्पादकीय टिमको स्वनिर्णयका उपज हुन् । यहाँ त मैले नेतृत्व गरेको छु, यसअघि कान्तिपुरमै भएका बखत पनि स्वतन्त्रताको अभ्यास गर्दै आएको थिएँ । म काममा सिर्जनशीलता हुनुपर्छ भन्ने मान्यता राख्छु । नयाँ–नयाँ प्रयोग गर्न रुचाउँछु । लेखन र प्रस्तुतिका हिसाबले पाठकलाई फरक खुराक पस्कन प्रयत्न गर्छु । सम्पादकको अन्डरमा बस्दा त मलाई सँधै स्वायत्तता थियो । मैले बिगार्दिनँ, बरु सकेको राम्रै गर्छु भन्ने नेपाली पत्रकारितामा प्रभाव छाडेको छु। अहिले पत्रिकालाई फरक धारको बनाएको छु । त्यसैले यो स्वायत्त अभ्यास हो, छाडापन वा हालीमुहाली होइन । 

 

अन्नपूर्ण पोस्ट्ले पारिश्रमिक दिएन भन्ने कुराहरू पनि सुनियो । केही समय आन्दोलन पनि चल्यो, खास के हो ? 
कोरोना कालमा सबै मिडिया हाउसहरू आर्थिक समस्यामा जुधेकै हुन् । एक हिसाबले भन्ने हो भने मिडिया उद्योग त्यतिबेला नराम्ररी थलिए । यसको केही प्रभाव निःसन्देह हामीकहाँ पनि पर्‍यो । अरूमा पनि पर्‍यो । कहीँ व्यक्त भए, कहीँ भएनन् । कहीँ बाहिर आयो, कहीँ आएन । हामीकहाँ कतिपय कुरा थपथाप भयो । अरूकहाँ जे भयो, बाहिर आएन। पछिल्लो समय संस्था अप्ठ्रोमा भएकाले व्यवस्थापनले सबैलाई राजिनामा गरिदिन आग्रह गर्‍यो । त्यसमा सबैले सहयोग गर्नुभयो। त्यो टिममा धेरै पुराना साथीहरू पनि धेरैजना हुनुहुन्न्थ्यो । उहाँहरूका सेवा–सुविधाका पुराना विषयमा सुरुमा असमझदारी भएको साँचो हो । पछि व्यवस्थापनले त्यसलाई सल्टायो। सबैले हिसाब–किताब बुझिसक्नुभएको छ । 

 

सबैले राजिनामा गरेपछि पत्रिका निरन्तर कसरी निकाल्नुभयो ? 
हो, हामी ठूलै संकटको क्षणमा थियौं । म यस्तो इतिहास बन्न चाहन्न थिएँ, मेरै नाम छापिँदा छापिँदै पत्रिका बन्द होस् । राजिनामा गर्दा पनि मेरो कार्यकालसँगै पत्रिकाको अन्तिम दिन हुन सक्थ्यो । कोरोनाले आर्थिक अवस्था ठप्प थियो । छापा माध्यममा उसै खर्च अथाह बढ्ता हुन्छ नै । धान्ने कसरी ? व्यवस्थापन जटिल मोडमा थियो । त्यसभन्दा जटिल मोडमा म थिएँ ।


अहिले त फेरि झन् गुणस्तर र गतिलो बनेर आएको छ नि ? 
मैले त्यसबीच निकै ठूलो अनुसन्धान गरें । के छापा जोखिममा परेकै हो त ? परिणाम देखियो, होइन। तर, परम्परागत ढंगबाट भने अब टिक्न गाह्रो छ। त्यो अध्ययनको निचोडको लामो ‘प्रिजेन्टेसन’ मैले अध्यक्ष थापासँग गरें । सँगै पत्रिकाको नयाँ ढाँचा तय गरें। त्यसले उहाँ उत्साही हुनुभयो । जग्गा बेच्नुभयो । ऋण जुटाउनुभयो । सबै सहकर्मीका भुक्तानी टुंग्याउनुभयो । गतिलो पत्रिका निकाल्न थप लगानी व्यवस्था गर्नुभयो । र, अन्नपूर्ण पोस्ट् नयाँ स्वरूपमा आयो । 

 

जनशक्ति व्यवस्था कसरी गर्नुभयो ? 
केही पुराना साथीलाई नयाँ नियुक्ति दियौं । केही नयाँ राख्यौं। अरू मिडियामा उत्कृष्ठ कार्यसम्पादन भएका मित्रहरूलाई आह्वान गर्‍यौं । अहिले मसँग सुन्दर फूलबारीजस्तो समावेशी टिम छ। बडो उत्साहजनक वातावरण बनाउने प्रयासमा छु । यो पत्रिकालाई पृथक् र पठनीय बनाउन लागिपरेको छु । साउन १ देखि जुन अन्नपूर्ण पोस्ट् देख्नुभएको छ, त्यो त कास्टिङ मात्र हो । यसका लागि म नेपथ्यमा बसेरै काम गरिरहेको छु । 

 

कोरोनाले अबको मिडिया कस्तो बन्छ अझ भनौं प्रिन्टलाई यो ठूलो थ्रेट पनि हो भनिन्छ नि यसमा यहाँ के भन्नुहुन्छ ?
मैले निकै  विश्लेषण गरेँ । प्रिन्ट माध्यमहरूको भविष्य के छ ? डिजिटल प्ल्याटफर्महरू के कस्ता छन् ? यस्ता विषयमा केही समीक्षा र रिसर्च पनि गरेँ । के प्रिन्टमिडिया बन्द गर्नुपर्ने अवस्था आइसकेको हो र ? के छ बाहिरी देशहरूको अवस्था र चुनौतीहरू ? मैले सबै कुराहरू खोजेँ । साँच्चै भन्ने हो भने मलाई आवश्यक नपरेको तर मलाई चासो लागेका कुराहरू मैले सबै खोजेँ । निचोड के देखियो भने, पाठकले प्रिन्ट फेर्न चाहेका छन्, डिजिटल हेर्न । डिजिटलको हेराइ अहिलेसम्म चित्तबुझ्दो छैन । दिनभरि अनलाइनमा पढेको समाचार साँचो हो कि झूठो भनेर ‘भेरिफाई’ गर्न भोलिपल्ट पत्रिकै पढ्नुपर्ने अवस्था छ। 

 

पत्रकारिता गर्छु भनेर लाग्ने नवप्रवेशीहरूलाई के भन्न चाहनुहुन्छ ? 
यो अत्यन्तै चुनौतीपूर्ण क्षेत्र हो । बाहिरबाट हेर्दा जति यसमा ‘ग्ल्यामर’ देखिन्छ, भित्र छिरेपछि अलि फरक छ। यो एउटा सिप हो, कला हो, सिर्जनशीलता पनि हो । पत्रकारिता जानेका मान्छेले जुनसुकै क्षेत्रमा पनि राम्रो अवसर पाउँछन् ।

 

तपाईंलाई आफ्नो लेख रचना तथा सम्पादनबाट समाजमा कस्तो परिवर्तन ल्याउँछु जस्तो लाग्छ ?
मिडिया खासमा लेखिदिने, देखाइदिने माध्यम हो । पहिला मिडिका कुरालाई आधार–प्रमाण मानिँदैन थियो। अचेल त्यसमा निकै सुधार आएको छ । समाज परिवर्तनमा मिडियाको भुमिका निकै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ । निर्णायक तथा राजनीतिक तहका मानिसहरूको सोच बदलिनुपर्छ । अब मिडियाको काँधमा निकै जिम्मेवारी बढेको छ ।

 

तपाईंको विचारमा छापा पत्रपत्रिकाहरूको अबको अवस्था कस्तो हुन्छ होला ? 
छापा चाहिन्छ । दस्तावेजहरूको लागि पनि छापा आवश्यक छ। डिजिटल मिडिया यत्तिकै हो भने छापाबाला अझै निकै राम्रो बजार छ । 

 

पत्रकारिता नगर्नुभएको भए के बन्नुहुन्थ्यो होला तपाईं ?
म त म्याथम्याटिक्सको मान्छे । पछिल्लो समयमा पनि म म्याथ पढिरहेको थिएँ । म कि म्याथ टिचर हुन्थेँ । कि त म लेखक हुने थिएँ, कि राजनीतिमा लाग्न सक्थेँ ।

 

प्रस्तुति-सुकृत

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार