• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
अन्तर्वार्ता

'चमत्कार नै हुन्छ भन्ने होइन समय परिस्थिति हेरेर काम गर्नेछु'

काठमाडौं । तनहुँ हुँदै नवलपरासी जिल्लालाई राजनीतिक कर्मथलो बनाएका कृष्णचन्द्र नेपाली पोखरेल २०७८ जेठ २९ मा गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भए । पोखरेल मुख्यमन्त्रीमा आएसंगै गण्डकी प्रदेशवासीले धेरै अपेक्षा राखेका छन । उनले ४ पटक नेपाली कांग्रेस नवलपरासीको सभापतिको जिम्मेवारी पनि सम्हालिसकेका छन । नेपालीको जन्म तनहुँ जिल्लामा भएको थियो। उनका बुबा गोवर्द्धन शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य थिए । नवलपरासी पूर्व १ ‘क’ बाट नेपाली गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् । विद्यार्थी जीवनदेखी नै राजनीतिमा प्रवेश गरेका उनी पटक–पटक जेल समेत परे । राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्केका उनी २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका थिए । पोखरेलले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेका छन।

 

केपी ओलीले पटक–पटक सदन भंग गरेपछि उत्पन्न परिस्थीतिले नेपाली मुख्यमन्त्री बन्न पुगे । अहिले उनी जुन भूमिकामा छन यसलाई काम गरेर जनताको मन जित्ने समय भएको उनले बताउँदै आइरहेका छन। मुख्यमन्त्री पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोस बीच केहि दिन अघि गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकका प्रतिनिधीसंग छलफल समेत गरेका थिए। सिमित स्रोत साधन र चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकताहरु निर्धारण गरी अघि बढेको छ भने आकस्मिक रुपमा आएको कोभिड महामारीसंगै आर्थिक सामाजिक अवस्थालाई सबल बनाउनुपर्ने अवस्था छ ।

 

कोभिड व्यवस्थापनलाई पहिलो प्राथमिकता बताउँदै आएका मुख्यमन्त्री पोखरेलसंग पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना रोकथामका लागि भएका पहलका बारेमा फ्रेसन्यूज नेपालका लागि सम्पादक देवी सापकोटा ले गरेको यो कुराकानी :

 

 

तपाईंको एकदिन कसरी बित्छ ?
बिहान ५ बजे उठ्ने त्यसपछि सामान्य योगहरू गर्ने नुहाउने, चिया पिउने, पत्रपत्रिकाहरू पढ्ने । यहीँ हो । त्यसपछि दिनभर भोटघाट र छलफलहरुमा नै व्यस्थ हुन्छु ।

 

हामी कोभिड–१९ महामारीको सामना गरिरहेका छौँ । तपाईंले पनि कोभिड खोपलाई प्राथमिकता दिन्छु भन्नुभएको थियो । खोप पनि लगाइरहेका छौं, तर पनि अवस्था सामान्यतर्फ फर्केन सकेन, व्यवसाय खासगरी पयर्टन व्यवसाय ठप्प छ । कसरी आश्वस्त पार्नुहुन्छ ?
 प्रदेशबासिहरूलाई शुरूवात देखिनै खोप लगाउने भनेरै निति कार्यक्रम बजेटमै सार्वजनिक रूपमा जनाएको अवस्था हो । र त्यसको कार्यान्वयनका लागि  माथिबाट पाउने हामीले केही बजेटको व्यवस्था गरेर अथवा किनेर भएपनि खोप लगाउने भनिरहेका थियौं । केन्द्रीय सरकार बाहेक अरूले खोप किनेर ल्याउन सक्ने अवस्था रहेन, नरहेपछि हामी केन्द्रमै निर्भर छौं । केन्द्रमा पनि वर्तमान सरकार आइसकेपछि सम्माननिय प्रधानमन्त्री ज्युले पनि यो सरकारको प्राथमिकता खोप नै हो भनेको सन्दर्भमा चाहिँ सो अनुसारका खोपहरू आएका छन । अहिलेसम्म अब पहिलो र दोस्रो गरि ८ लाख भन्दा बढि खोप हामीले जनतालाई लगाएका छौँ । यद्यपि हाम्रो टारगेट १५ हो । त्यसपछि हाम्रो १८ बर्ष मुनिकालाई लगाउने तयारीमा छौँ ।  अहिले दोस्रो डोज खोप लगाउने क्रम छ । प्रदेशमा भण्डारण क्यापासिटि अलिकति राम्रो भएकाले केन्द्रमा आइसके पछि तुलनात्मक रूपले खोप हामीले ल्याएका छौँ । 


तर खोप सबैलाई किन भईरहेको छैन भने पोखर राजधानी हो। यहाको जनसंख्या धेरै छ । विभिन्न औद्योगिक क्षेत्रहरू पनि छन । सहकारी क्षेत्र छ । धेरै कुराहरू छन । पर्यटन व्यवसायीहरू छन । सबैले प्राथमिकतामा राख्नु पर्ने कुरा जोडदाररुपमा उठाइरहनु भएको छ । पयर्टन क्षेत्रमा नराम्रो असर गरेको छ यो हामी सबैले महशुस गरेका छौं र यसमा व्यवसायीलाई राहत हुने किसीमले काम गर्नु पर्छ भन्ने मा म छु । केन्द्रबाट पनि केहि काम भइरहेका छन । उद्योगहरूलाई केही  व्यवस्थाहरू मिलाउदै छौँ । तर त्यो भनेका जस्तो सहज छैन ।

 

 केही व्यवसायीहरूलाई भेटेको थिए ।  यहाँ आएका पर्यटकहरूलाई पनि बस्न दिइएको छैन । 'हामी कसरी उठ्ने हाम्रो व्यवसाय  ऋणमा डुवेको छ । व्यवसायलाई पहिलेकै अबस्थामा ल्याउन सरकारले पहल गरेन' भन्ने गुनासो गनुभयो उहाँरुले । प्रदेशको मुख्यमन्त्री भएको हिसावले त्यसलाई कसरी लिनु भएको छ ।

के छ भनेनी, पर्यटन व्यवसायीहरू धरासायी अवस्थामा गएको कुरामा कुनै विवाद नै छैन । पर्यटक नै नआइसकेपछि व्यवसाय धरापमा पर्ने नै  भयो । यो अवधिमा उहाँहरूलाई बैंकको व्याज मिनाह गरिदिने वा किस्ताहरू पनि निषेधाज्ञा पछि मात्र शुरूवात गराइदिने त्यसरी राहत दिने तर्फ जानुपर्छ  । तर प्रदेश सरकारको कार्य भित्र त्यो पर्दैन । केन्द्रबाट नै हुनुपर्ने हो । केन्द्रलाई अपिल पनि गरेका छौ । सार्वजनिक रूपमा पनि हामीले यी कुराहरू बताएका छौँ । हामीले केहि सहज बातावरण बनाउन खोजेका छौं । व्यवसायी जीवन रक्षा कोष  बन्दै छ ।

 

लक्ष्य के हो भने चाहि सानासाना व्यवसायीहरू जो १ लाख, १ लाख ५० हजार   भन्दा माथि र १५ लाख भन्दा कम भन्ने छ त्यहाँ । आहात परेको क्षेत्रमा केहि हुन्छ कि भनेर हामीले राहत स्वरुप केही सौलियतहरूको व्यवस्था गरेका छौँ । त्यसका लागि अरू केही आधार छैन । प्रयत्न के हो भने असामान्य परिस्थिति र महामारीको अवस्था  भएकाले जति पनि संघ-संस्थाहरू छन, त्यसमा केही सौलियत गरिदिनुपर्छ । हामीले जीवन रक्षा कोष भनेर त्यस्तै केही तरिका अपनाउन खोजेका छौं । उद्यमशीलता विकास,कर्जा प्रवाह, व्यवसाय सञ्चालन, उत्पादन र बजारीकरणका सबै चरणमा सहयोग उपलब्ध गराएर रोजगारी र स्वरोजगार बन्न युवाहरुलाई सहयोग उपलब्ध गराउने जिम्मा पनि हाम्रो हो । कोरोना महामारीले धेरैको रोजगार  खोसिएको छ भने व्यवसाय ठप्प जस्तै छ ।

 

 

यहाँले जिम्मेवारी सम्हाली सकेपछि  नागरिकले धेरै अपेक्षा पनि राखेका छन । यहाँको राजनीतिक इतिहास धेरै लामो पनि छ । ठ्याक्कै भन्दा चाहि पृथ्वी सुब्बा गुरूङ भन्दा तपाईंले साच्चिकै के नयाँ गरेर देखाउनुहुन्छ  ?
यस्तो  छ अपेक्षाको कुरा स्वभाविकै हो । एउटा सरकारले सरदरले ३ –४ वर्ष चलाइरहेको हो । त्यसले पनि जीरोबाट नै शुरूवात गरेको हो ।  हाम्रो चाहि समय पनि निकै छोटो छ । हिजोका साझा योजनाहरू पूर्ण गर्नै पर्‍यो। अब नयाँ हामीले केहि कार्यक्रमहरू ल्याएका छौँ  । स्वास्थ्य को क्षेत्रमा विमा हाम्रो जिम्मेवारी भनेका छौँ । महिलाहरूको स्वास्थ्यमा बढ्दै गएको जोखिमका बारेमा पनि काम गर्न खोजेका छौं । महिलामा हुने क्यान्सर, पाठेघरमा हुने समस्या र उपचारको लागि पनि शल्यक्रिया खर्चचाहिँ हामीले व्यहोरिदिने शुरूवात गरेका हौँ  । केही नयाँ कार्यक्रमहरू ल्याएका छौँ विपन्नहरूको लागि । केही नयाँ गर्न खोजेको छु । तर अहिले हामीले सोचे अनुसारको बजेटको तालमेल मिलाउन सकिरहेका छैनौं । अगाडि बढ्ने अवस्था पनि छैन । प्रदेशका निर्धारित लक्ष्य हासिल गर्न जम्मा १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने छ । तर हालसम्मको लगानी प्रक्षेपणको तुलनामा निकै कम रहेको  छ, लगानीको लक्ष्य भेटाउन प्रदेशले विश्व बैंकजस्ता संस्थासँग सहयोगको अपेक्षा गरेको छ ।

 

सरकारले मित्रराष्ट्र तथा हाम्रो प्रदेशले सबैलाई लगानी गरिदिनुस भनेर कार्यक्रमहरू गर्ने छौँ ।  र अब आउने एउटा बजेट हुन्छ । जुन हामीले १ पटक मात्र पाउछौँ । ती सबै कुराहरू हेरेर कुनै चमत्कार नै हुन्छ भन्ने पनि होइन  समय परिस्थिति हेरेर काम गर्ने छौँ । प्रक्रिया उहिँ हो साधन-स्रोत उहीँ हो। परिस्थीथि जटिल भएको छ । राजस्व उठेन  । कोरोनाले  हामी थला परेपछि त त्यहीँ केन्द्रले दिएको अनुदान नै हो । सोहि अनुशार काम गर्ने छौँ । 

 

 सडक संरचना यति लथालिङ्ग स्थितिमा छ । यसलाई कसरी सहज बनाउन सकिन्छ होला  यस तर्फ के कति  ध्यान दिनुभएको छ? 
यो त दैवी प्रकोपले गर्दा पनि हो । हामी मात्रै होइन विश्वनै प्रकोपमा परेको समय हो । हामीसँग साधनस्रोत निकै कम छ । आयो विपत्ति अब हामीले त्यसको सामना गर्ने हो । तत्काल राहत दिने एउटा कुरा हो अर्को दिर्घकालिन राहतको बिषय हो। हामीले स्थानीय तहहरूलाई पनि पैसा पठाइरहेका छौँ । जिल्ला बिपद व्यवस्थापन कार्यालहरुले पनि काम गरेका छन । हामीले जति चाहिन्छ खर्च गर्नुस् र पैसा चाहिन्छ भने माथि भन्नुस् भनेका छौँ । प्रकृयामा जटिलता भए भन्नुहोस भनेका छौं । अप्ठयारो कहाँ कस्तो भयो  खुलाईदिनुस् भनेका छौँ ।


बिपदको समयमा छौं । अबरोधहरु छन । कुन कुन जिल्लामा के कति जोखिम छ त्यस्को तथ्याकं लिएर सुधारका लागि काम हुन्छन र भइरहेका पनि छन । सक्ने हामी गर्छौँ नसकेको हकमा केन्द्रिय सरकार संग भन्ने हो । हामीले तत्काल गर्नेुपर्ने कामहरूमा अझै केन्द्रित छौं । कहाँ खाद्यान्नको अभाव छ । राहत पुर्याउनु पर्ने  अबस्था छ कि । जस्तै गोरखाको उत्तरी भेगका साथीहरु आउनुभएको थियो । त्यहाँ खच्चड पनि जान नसक्ने अवस्था छ ।  त्यहा हेलिकप्टर मार्फत सामान पुर्‍याउनु पर्‍यो । 

 

हामीले निर्णय गर्यौँ जसको घरमा बस्नै नहुने भएको छ त्यसता परिवारहरूलाई १ लाख दिने यी राहतका कुरा भए । यस्तो मा त केन्द्र सँग कुरा गरेर पठाउनु पर्ने पनि हुन्छ । आवश्यक भए तत्काल केन्द्र संग पनि अनुरोध गर्न हो । हाम्रो भूबनोट पनि  सजिलो छैन । यस प्रदेशका धेरै जिल्लाको यातायात जोखिमपूर्ण नै छ ।


हिमाली जिल्लाहरुमा प्रभावकारी यातायात सञ्जाल विकास गर्न सकिएको छैन । प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन प्रकृया अघी बढ्दै छ। मुस्ताङको कोरला नाकादेखि पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा २ लेनको डेडिकेटेड सडकका रुपमा विकास गर्न हिसावले काम गर्ने हो जसले यो प्रदेशको स्वरुप नै फेरिन सक्छ, समय भने लाग्छ । प्रदेश सदरमुकामसँग जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्रहरु जोडने सडकको स्तरोन्नतिमा ठूलो सहयोगको खाँचो छ,  यसका लागि पनि सहगोगी राष्ट्र संग भनेका छौं ।

 

 

 अब थोरै महाधिवेशनका बारेमा पनि कुरा गरौं,नेपाली काङ्ग्रेसको महाधिवेशनलाई  कसरी लिनुभएको छ ? कस्तो नेतृत्व आइदियोस् भन्ने ठान्नुहुन्छ ?  
अधिबेशन भनेको त जसरी पार्टीको आवधिक चुनाव हो । जसरी राष्ट्रको आवधिक लोकतान्त्रमा हुन्छ त्यसरी पार्टी विधानले एउटा निर्देशित गरेको प्रकृया हो । एउटा कार्यकर्तालाई अधिवेशन लाग्छ । अहिले जे जस्तो अबस्थामा देश र परिस्थिति छ यसले गर्दा यो पेचिलो बनेको हो।  यो हाम्रो सामान्य अधिवेशन नै हो । १४  औं महाधिवेशन भएकाले बढी नै चर्चा भएको हो । कार्यकर्ताहरू राम्रो लिडर चयनको पक्षमा छन। यसको मतलब यो होइन कि अघिका राम्रा थिएनन् । कसैको दृष्टिकोणमा यहि राम्रो हुन सक्छ कसैको नहुन सक्छ । तर एउटा कुरा के हो भने काङ्ग्रेस भित्र नयाँ पुस्ता आइरहेको छ उनीहरुले चासो दिएका छन। अबको पुस्ताले अहिले भएका कमी कम्जोरी सुधार्नुपर्ने दायित्व पनि छ । नेतृत्वमा को आउने भन्ने कुरा भन्दा पनि पार्टीलाई गति दिने नयाँ मार्गमा लैजान सक्ने नेतृत्व आउनुपर्छ भन्ने हो । सबै जना मैदानमै हुनुहुन्छ। बाकी कार्यकर्ताले चयन गर्नुहुन्छ । 

 

सभापति, महामन्त्रीमा केही  नयाँ उम्मेदवार देखिएका छन । यसले पुस्तान्तरणमा बल पुग्छ भन्ने यहाँलाई लाग्छ ? 
यसमा मेरो स्पष्ट धारणा के छ भने हिजोदेखि युवालाई दिएन दिएन भन्ने जुन रटान छ नी त्यसमा म असहमत छु । तपाईलाई फ्लोर ओपन गर्दिएपछि त्यसमा तपाईको क्षमता कै कुरा हुन्छ । हिजो गिरिजाप्रसाद हुदाँ शेरबहादुर जी लड्नु भएको हो । चिरञ्जीवी पनि लडेका हुन तर अब जित्न सक्नु भएन । त्यस्तै हिजो गगन थापा पनि महामन्त्रीमा लड्नुभएको हो तर जित्न सक्नुभएन । त्यसैले मौका दिएन भन्नुभन्दा पनि प्रतिस्पर्धामा आउनु पर्‍यो। राजनीति भनेको सरकारी जागिर पनि होइन । यति वर्षपुगेपछि रिटायर हुने, पेन्सन खाने, अर्कोलाई दिने पनि होइन। तपाईंको पोजिसन तपाईको स्वास्थ्यले दिएसम्म गर्ने हो। गिरिजाप्रसाद कोइरालाले ८५  वर्षसम्म पनि सबल नेतृत्व गर्नुभयो । कृष्णप्रसाद भट्टराईले त सक्नुभएन । यसलाई कताकता के भने कपाल फुलेकाहरुको डाहा गर्ने जुन तरिका छ त्यो गलत हो । यो स्वभाविक नै हो पछिल्लो पुस्ता हराउँदै जान्छ, नयाँ आउँछ । त्यसको लागि युवाहरू तयार हुनुपर्छ । 

 

 

 कुराकानीको अनत्यमा छौं  समाजवादको चर्चा धेरै हुने गरेको छ हिजो आज, बीपीको आर्दशका कुरा  पार्टीले धेरै उच्चारण गरेको हुन्छ तर  व्यवहारमा देखिदैन् यसलाई पार्टीहरुले नारा मात्रै  बनाए भन्ने लाग्छ कि लाग्दैन  !
समाजवाद भनेको एउटा यस्तो कोट हो जो फाटेर टाल्दाटाल्दै त्यसको रूप नै गुम्छ।  बीपीलाई पनि आफ्नै तरिकाले व्याख्या गर्न थाले । हामी वीपीको विचारबाट अगाडि गयौँ भन्छन् । तर वीपी बिचारलाई आज हतियार बनाउने काम भएको छ । चाहे त्यो एनजीओबाट होस्, भाषणबाट होस् म चाहि त्यसको पक्षमा छैन। हामीले वीपीले पहिला के भन्नुभयो भन्ने बुझन जरुरी छ। उहाँको भनाई के हो भने लोकतान्त्रिक समाजवाद नै अहिले मुख्य हो र दुनियाँमा यो भन्दा अरु तरिकाले यो चलाउन सकिदैन। किन सक्दैन भने, राजनीतिक स्वतन्त्रता संगसंगै आर्थिक स्वतन्त्रता हुन जरुरी छ । उहाँले यतीसम्म भन्नुभयो, साम्यवादमा प्रजातन्त्र राख्यो भने त्यो समाजवाद हुन्छ र  समाजवाद त्यो निकालेपछि साम्यवाद हुन्छ । त्यो भनेको के हो भने राजनीति स्वतन्त्रता सहितको आर्थिक स्वतन्त्रता या आर्थिक स्वतन्त्रता सहितको राजनीतिक स्वतन्त्रता । देशको आर्थिक स्थीति पनि बृद्धि हुँदै जानुपर्‍यो। जनताको आय र आर्थिक अवस्था पनि बृद्धि हुँदै जानुपर्‍यो र राजनीतिक अधिकार पनि प्रयोग हुँदै जानुपर्‍यो भन्ने सैद्धान्तिक कुरा हो । त्यो कसरी हो त फेरी, एकाएक त त्यो हुँदैन । उहाँले उदाहरण दिनुभएको छ । समाजवाद भनेको तपाई सँग एक माना दुध छ र त्यो ५० जनालाई बाड्नुपर्‍यो भने एकएक चम्चा दिएर समान्ता गर्‍यो भन्ने होइन, समाजवाद । पहिला के हो भने १ माना दुईजनालाई पुग्छ भने त्यो दुबैलाई दिनुपर्छ । तर तिमीलाई पहिला ५० माना दुध बनाउँ र ५० जनालाई एकएक माना दुध खुवाउँ । यसमा भन्न खोजिएको के हो भने उत्पादन पहिला गर र उत्पादन आएपछि त्यसलाई बितरण तिर लैजाउ भन्नुभएको हो। यो उत्पादन गर्ने भन्ने कुरा राज्यले मात्र गर्न सक्दैन जुन उहाँले हिजै भन्नुभएको कुरा हो। उत्पादनको व्यवसायमा व्यापारमा राज्य कहिँ पनि त्यति सफल हुँदैन । त्यहाँ त निजी क्षेत्र नै आउनुपर्‍यो । निजी क्षेत्र मार्फत उत्पाद बढ्न पर्‍यो । उत्पादन बजारमा आउनुपर्‍यो, जनताले तदारुकता बढाउनुपर्‍यो । अर्को शव्दमा के हो भने ठुलाठुला उद्योगहरु स्थापना हुनुप¥यो । त्यहाँ प्रगतीशिल करहरु आउनुपर्‍यो जुन जनताको लागि उपयोग होस् । 

 

तस्वीर : भरत कोइराला

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार