कांग्रेस महाधिवेशन र युवा
नेपाली काग्रेस महाधिवेशनको संघारमा छ। कोरोना महामारीबाट उत्पन्न प्रतिकूल अवस्थामा पनि संविधानतः महाधिवेशन गर्नैपर्ने बाध्यता नेपाली कांग्रेसलाई छ । महाधिवेशनको चर्चा संगै पार्टी भित्रका युवा–युवतीको चहलपहल बढेको छ। नेपालमा १८–४० वर्षसम्म उमेर समूहकालाई युवाका रुपमा परिभाषित गरिएको छ। नेपाली काग्रेस पार्टी भित्र युवावर्गको संलग्नता बढाउन बिगतमा पनि प्रयत्न नभएका होइनन। २०१० सालमा नेपाल तरुण दल स्थापनाको उद्देश्य यही थियो। २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनाको मूल कारण पनि यही थियो । पार्टी भित्र अहिले देखिएका स्थापित अनुहारहरु युवा बिद्यार्थी राजनीतिबाटै यहाँसम्म आएका हुन। नेपाली कांग्रेसको भातृ संगठनले धेरै नेता जन्माएको छ। पार्टीका भातृ संगठन हुँदै राजनीतिमा होमिएकाहरुसंग स्थानीय स्तरदेखि संगठनलाई बलियो बनाउने सांगठनिक कला हुन्छ। पछिल्ला केहि दिनमा युवाहरुले देखाएको सक्रियताले यसलाई प्रमाणित गरेकोछ । पार्टीको माथिल्लो तहमै उम्मेदवारी दिनेमा भने युवाहरु गुटको प्रभावमा परेको जस्तो भान हुन्छ। सभापति पदमा उम्मेदवारी दिनेहरुमा सबै पुराना र पाको पुस्ताका नेताहरु नै चर्चामा रहेकाछन ।
संविधानसभा निर्वाचनमा कालिकोटबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका नेता भूपेन्द्र जंग शाहीले धेरै चुनावी अनुभव संगालिसकेका छन। यो पटक उनले आफुलाई कर्णाली प्रदेशबाट १४ औं महाधिवेशनमा सह–महामन्त्री पदका लागि उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन । युवा नेताशाहीले नेतृत्व हस्तान्तरणका लागि दवाब दिनु अपरिहार्य भएको उनले बताए । युवा नेता शाही भन्छन्,‘महाधिवेशनले सभापतिका रुपमा संस्थाका लागि एउटा नेतृत्व मात्रै ल्याउँदैन नीति र निर्णयलाई स्थापित गर्न समय अनुकुल युवा शक्तिलाई परिचालन गर्नेसक्ने नेतृत्व पनि भित्रयाउँछ । यो चुनावी सरगर्मीलाई हल्का ढंगबाट बुझ्न हुन्न । युवाहरुले देखाएको सक्रियतालाई गहन ढंगले बुझ्नुपर्छ।’ सधै मूल नेतृत्वबाट आशा र अपेक्षा गर्ने मात्र होइन कि पार्टी बलियो बनाउन वडा तह देखिनै युवाको दवाब अपरिहार्य भइसकेको उनले अनुभव गरेका छन । ‘तत्कालै सभापति, उपसभापति जस्ता पदहरुमा नयाँ पुस्ताले ठाउँ नपाउन सक्छ । अहिलेको अभ्यास र जोड बलले अर्को महाधिबेशनसम्म पुग्दै गर्दा यसबाट पार्टीलाई दबाव अबश्य हुन्छ ।’
सामाजिक दूरी कायम गरेरै भेटघाट, भर्चुल माध्यमबाट देशभरका युवाहरु महाधिवेशनमा केन्द्रित छन । केहिदिन अघि मात्रै नेबिसंघ पूर्व अध्यक्ष रञ्जीत कर्णको संयोजनमा नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको युवा नीति मस्यौदा समितिले भचुर्अल छलफल गर्यो। पार्टीका शीर्ष नेताहरु सहित कांग्रेसले लिनुपर्ने नीतिका विषयमा नेता कर्णले खबरदारी समेत गरे । 'पाको पुस्ता सधै पदमा रहिरहने र अहिलेको युवा जमात उनीहरुको पछि लाग्ने कहिलेसम्म? हामी नयाँपनमा विश्वास गर्दैनौं,दाईहरु रिसाउलान भन्ने डर हामीलाई हुँदासम्म हाम्रो अवस्थामा सुधार आउदैंन ।'
कांग्रेसले लिएको युवा नीतिले ४० वर्षसम्म उमेरका व्यक्तिलाई युवा मान्नुपर्ने उल्लेख गरेको छ भने कांग्रेसका सबै तहका संरचनामा पदाधिकारीसहित ४० प्रतिशत युवा सहभागिता हुनुपर्ने उल्लेख छ । युवालाई मूलधारको राजनीतिमा ल्याउने बहस ५० औं बर्ष अघि देखि नै चलेको भएपनि कार्यान्वयनमा आएको छैन। बिगतमा वीपी कोइरालाले युवा अवस्थामै कार्यकारीको जिम्मेवारी सम्हाल्नु भएका प्रसंगको अहिले पनि उल्लेख गर्न छुटाइदैंन । मूल नेतृत्व र युवा पंङतीमा देखिएको यो घषर्णले आउने दिनमा पक्कै पनि नयाँ रेखा तय गर्न सक्छ । पाको पुस्ता नयाँ पुस्तालाई तत्कालै विश्वास गरिहाल्दैन । यो नै बिडम्बना हो । कर्णले भने ‘महाधिबेशन हुनुपर्छ, सुचना प्रविधिको प्रयोग गरेर वडा तह देखि केन्द्रसम्मको चुनाव गर्न युवाहरुको आइटी टिमलाई जिम्मा दिनुस, प्रविधिमा दक्षता हासिल गरेका युवाले पनि आफ्नो क्षमता, दक्षता देखाउने अवसर हो यो ।’ मूल नेतृत्वले युवा शक्तिको क्षमतालाई पहिचान गरि उपयुक्त अबसर दिन चाहिरहेको छैन भन्ने तर्क थियो शाही र कर्णको । नेताहरुका भनाई अनुरुप कहिलेसम्म चल्ने? अब रचनात्मक दवाव दिने समय भएन र ?अहिले नै युवाले आटेको पद नपाए पनि यो रचनात्मक दवाव दिन छाड्न नहुने कर्ण बताउँछन ।
सधै राजनीतिक संक्रमणको नाममा सीमित व्यक्तिको लाभको लागि होइन, समग्र युवालाई केन्द्रमा राखेर नीति तथा योजना निर्माण हुनुपर्छ । क्रियाशील सदस्यको संख्या बढेसंगै युवाको संख्या पनि आशालाग्दो देखिएको छ । यो संख्या बढ्दा अघिल्लो पुस्तालाई दवाव अबश्य पनि पर्ने युवा पंक्तिको बुझाई छ । कुल सदस्य संख्यामा १६ देखी ४० वर्षसम्मका उमेर समुहको प्रतिनिधित्व ३३ प्रतिशत छ भने ४१ देखी ६० वर्ष उमेरका ३७ प्रतिशत छन ।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवम विद्यार्थी नेतृ प्रतिमा गौतमले नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नचाहेको बताउँछिन। ७० सालको दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिएकी गौतमसंग चुनाव र मतदातासंगको सम्बन्धबारे राम्रो जानकारी छ । उनी भन्छिन – नेतृत्व लिन युवाहरु योग्य भईसकेका छन ।
विगतका कमजोरी सुधारेर नयाँ सोच, विचार,ऊर्जा र नयाँ भिजनका साथ अगाडि बढेर नेपाली कांग्रेसलाई जनताको आशा, विश्वास र भरोसाको पार्टी बनाउन उनीहरुले हरेक तह र तप्कामा काम गर्दै आइरहेका छन । १४ औं महाधिवेशनले पार्टीलाई आमूल रुपान्तरणको मार्गमा लैजानु पर्दछ । युवा नेतृत्वको यो सोच अपरिहार्य भएको छ ।
प्रतिकृया दिनुहोस