• बिहीबार ७-११-२०७८/Thursday 10-28-2021
अन्तर्वार्ता

आवाजहीनको आवाज नहुनु, त के हुनु ?

काठमाडौं । नेपाली सिनेमामा उल्लेखनीय र अर्थपूर्ण नाउँमध्ये एक हो रेखा थापा । नायिकाबाट निर्माता हुँदै निर्देशकसम्मको उनको सिनेमा सफर आफैँमा एउटा प्रेरणादायी र अनुकरणीय गाथा साबित भईसकेको छ।

 

सिनेमा जगत् मायालु छ, निष्ठूर पनि । दुवै हात फैल्याएर अँगालो हाल्दै कुनै अञ्जानलाई सितारा बनाईदिने सिनेसंसार, एक निमेषमै त्यही सितारा आकाशबाट झरेर बिलाएको नदेखिदिने पनि यही सिनेसंसार। नेपाली सिनेमा आज जुन स्थानमा अजङ्गको उपस्थिति लिएर उभिएको छ, त्यसबीच कैयन् सितारा आए गए त्यसको सूची केवल इतिहासमा रहनेछ ।

 

भनिन्छ, शिखरमा पुग्नु भन्दा शिखरमा निकैबेर अडिरहनु मुश्किल काम हो । आफूले हासिल गरेको स्थानमा त्यसरी नै लामो समयसम्म अडिरहन सफल केही कलाकारमध्ये एक हुन् रेखा थापा । सिनेमाको पर्दामा वीर नायिकाका रुपमा पटकपटक देखिएकी रेखा राजनीतिमा पनि चर्चित छिन् । त्यसबाहेक सामाजिक सेवामा पनि समर्पित रेखा आफ्नो प्रतिभा र क्षमता देखाउन चाहने महिलाहरुलाई सहयोग गर्न निसङ्कोच उभिन्छिन् । उनै रेखासँग फ्रेसन्यूज नेपाल का निम्ति सुकृत नेपाल ले गरेको ताजा–वार्ता : 

 

कसरी बित्दैछ दिन ? विचलित हुनुहुन्छ कि तृप्त छ जिन्दगी यतिखेर ?
अहिले दिन बिताउने भनेको सरकारको नियम पालना गर्ने हो । कोरोनाबाट बच्ने हर उपायहरु अपनाइरहेकी छु । म ध्यान, योगले आफूलाई चिन्ने मौकाको रुपमा अहिलेको समयलाई उपयोग गरिरहेकी छु । म विचलित चाहिँ कत्ति पनि भएकी छैन । 

 

तर जति पनि समाचार हेर्छु– कोरोनाले गर्दा धेरैको ज्यान गुमेको देख्छु, धेरैले आफन्तहरु गुमाउनु परेको सुन्छु, कतिले रोजगारी गुमाउनु परेको थाहा हुन्छ र धेरै मानिसहरुलाई आर्थिक अभाव भएको अनुमान गर्छु । यस कारणले चाहिँ शान्त चित्त विचलित हुन्छ र नरमाईलो लाग्छ । 

 

अहिलेको महामारीलाई कसरी हेर्नुहुन्छ ? यतिखेर आममान्छे र सरकारको सामान्य दायित्व कस्तो हुनुपर्छ जस्तो लाग्छ ? 
यसलाई मैले गम्भिर रुपमा लिएकी छु । विश्वलाई नै यसले डावाँडोल बनाएको छ । आर्थिक हिसाबले धेरैको स्थिति बडो नाजुक बनेको छ । अधिकांश मानिसहरु विचलित भएका छन्, जसलाई गम्भीरतापुर्वक लिनु जरुरी छ । यो हेलचेक्र्याईँका रुपमा लिने कुरा होइन । सामान्य मान्छेले होस् या राज्यले होस् यस्तो बेला एकले अर्कालाई सहयोग गर्‍यौँ भने मानव हुनुको सार आउँछ र मानवताको अर्थ खुल्छ । सरकारले जनताप्रति निष्ठावान भएर जनतालाई बचाउने उपाय अपनाउनु पर्छ र जनताले पनि सरकारलाई सहयोग गर्नुपर्छ । 

 

सिनेमाको मानिस, राजनीतिमा के रहेछ जसमा तपाईँलाई स्वाद बस्यो ? 
चलचित्र वा कुनै पनि क्षेत्रमा आवद्ध व्यक्तिले राजनीतिमा चासो लिनुहुँदैन भन्ने मलाई लाग्दैन । यो बडो संवेदनशील कुरा हो । राजनीति गर्ने मान्छेमा एउटै कौशल भएर पुग्दैन– विवेकी हुनुपर्छ, अरुप्रति संवेदनशील हुन सक्नुपर्छ, समाजको मनोविज्ञान बुझ्नुपर्छ र बहुजनको हित हुने चिन्तन गर्नुपर्छ राजनीतिमा लाग्ने मान्छेहरुले । पद वा शक्तिको सन्तुलनको लागि मगज खियाउने काम होइन राजनीति । 

 

मैले चलचित्रमार्फत समाजलाई जे दिनसक्छु, दिएँ । तर, त्यतिले मात्र म हुनुको दायित्व पूरा भएको मलाई लागेन । त्यसैले आफूलाई रुची भएको कुरामा चासो दिएकी मात्र हुँ । अरुले के गरे भन्दा पनि मैले के गर्न सक्छु भन्ने सवालको जवाफ खोज्न पनि म मूल प्रवाहको राजनीतिमा आएकी हुँ ।  

 

अधिकांश नेपाली नेताहरु कार्यकर्ताको शिरमा होलान्, तर जनताको नजरबाट त नउठ्ने गरि झरिसकेका छन् । होइन र ? अनि यस्तो अवस्थामा तपाईँलाई राजनीतिमा होमिने रहर कसरी जाग्यो ?
कार्यकर्तादेखि लिएर नेताहरु समेतले जनताको विश्वास गुमाईसकेको जस्तो अहिलेको अवस्था छ, ठीक हो । तर ती नेता र कार्यकर्ताको क्रियाकलापलाई खबरदारी गर्ने कसले ? हामी जस्ता युवा पुस्ताहरुको मौनताले त गर्दैन । जनता आफैँ त यो अभियानमा लाग्न सक्दैनन् । कसैनकसैले तिनको प्रतिनिधित्व त गरिदिनुपर्छ । जनताको समस्या र देशको आवश्यकता जसले बुझेको छ, ती सबै राजनीतिमा आउनुपर्छ। देशमा साँच्चै नै राजनीति कस्तो हुनुपर्छ भन्ने कुराको हेक्का जसले राखेका छन् ती सबै आउनुपर्छ । म मात्रै किन ? तर, म कुनै नेता वा दलको अन्धभक्त भएर रातोलाई पनि कालो भन्न राजनीतिमा आएकी हैन । म जनतामा गएर निष्ठापूर्वक राजनीति गर्न चाहन्छु। म मात्र होइन, अहिलेको घिनलाग्दो राजनीतिबाट वाक्क भएका अहिलेका पुस्ताहरु जनताको सच्चा सेवक भएर राजनीति गर्न चाहन्छ । त्यो पुस्तामा म पनि पर्छु। राजनीतिमा होमिनु मेरो क्षणिक रहर होइन, जिम्मेवारी हो– सेवा गर्ने दृढ सोच हो । हाम्रो पुस्ताले यो देशलाई सर्वग्राह्य परिवर्तनतर्फ मोड्नैपर्छ भन्ने मेरो एउटा सङ्कल्प हो ।
    
पहिलो पार्टीबाट मोहभङ्ग हुनाको कारण के होला ? अनि अहिलेको पार्टीले अत्यधिक प्रभाव पारेको कुरा सुनाउनुहोस् न । 
पहिलो पार्टीमा मोहभंग हुनुको कारण, तपाई हामी सबै नेपाली जनतालाई थाहा छ किनभने त्यहाँ सिद्धान्त एकातिर छ, पाइला अन्तैतिर मोडिएको छ । कागजमा मात्र सिद्धान्त कोरिएर जनताले के परिणाम हासिल गरे, र तिनको जीवनशैलीमा कस्तो परिवर्तन आयो भन्ने कुरा सबैलाई छर्लङ्ग होला । जनता झुक्याउने उद्देश्यले खोलिएका पार्टी भनेर महसुस गरिसकेपछि त्यहाँ बस्नुको औचित्य त्यहीँ सिद्धिन्छ । अहिले म जुन पार्टीमा छु त्यो पार्टीको सिद्धान्तलाई मैले नेपालको एउटा प्रतिबद्ध पार्टीको रुपमा लिएकी छु । यहाँ बसेर मैले निष्ठापूर्वक राजनीतिमार्फत जनताको सेवा गर्न पाउँछु भन्ने मलाई लागेको छ । त्यो मोह भङ्ग नहुञ्जेल तपाईँले मलाई यही प्लेटफर्ममा पाउनुहुनेछ । 


यस महामारीले अवश्य पनि सबैको जिन्दगी र व्यवसायमा अपूरणीय क्षति पुर्‍याएको छ । तर, सब अस्थायी हो भनेजस्तै यो पनि बितेर जाला । अचानक नाजुक अवस्थामा पुगेको सिनेमा क्षेत्र फेरि आफ्नो लयमा फर्किन के गर्नु पर्ला ? 
स्थिति सहज भईसकेपछि यस क्षेत्रका सबैले फेरि चलचित्र बनाउन थाल्नेछन् । किनभने हाम्रो कामै यही हो, हामीले जानेकै यही हो । चलचित्र क्षेत्रलाई पुरानो लयमा फर्काउने यसैबाट स्थापित मेकरहरुले नै हो । हामी सबैले गम्भीर भएर सिनेमा बनाउन थाल्यौँ भने नेपाली चलचित्र अब अर्को उचाईमा अवश्य पुग्नेछ, यो मेरो विश्वास हो । त्यसका लागि म आफ्नो तर्फबाट काम गर्न सँधै तत्पर छु । 

 

तर, हामीले चलचित्र बनाएर मात्र पुग्दैन, हेर्न आउने दर्शकहरुको चित्त पनि शान्त भएको हुनुपर्छ । अनि मात्र हाम्रो परिश्रमले साकार रुप पाउँछ । मुलुकका प्रत्येक व्यवसाय, उद्योग र कलकारखानाहरु पनि आफ्नो लयमा फर्किनुपर्छ। अनि मात्र हाम्रो प्रयासको अर्थ हुनेछ । सम्पन्न मान्छे मात्र होइन, जबसम्म विपन्नहरुको जीवनले गति पाउँदैन, हामीले बनाएको चलचित्रले गति लिन सक्दैन, पुरानो लयको त कुरै छाडिदिनुस्। 

 

अब बन्ने नेपाली सिनेमाले मेलोड्रामाकै सहारा लिनुपर्ला कि समयले नयाँ कथा मागिरहेको छ भन्ने लाग्छ तपाईँलाई ?
अब बन्ने चलचित्रले चाहिँ मेलोड्रामाकै सहारा लिने भन्दा पनि कोरोना पछिको मानिसको मनोविज्ञान, मनस्थिति कतातिर रुपान्तर भएको छ भन्ने कुराले निर्णय गर्छ । त्यसैलाई मध्यनजर राखेर हामीले चलचित्र बनाउनु पर्छ। दुईदुई वर्षसम्म एकखालको एकान्तवासपछि मानिसहरु कस्तो मनोदशामा हुन्छन् भन्ने कुरा हामीले याद गर्नुपर्ने हुन्छ । जसका लागि हामीले केही जनताबाट स्याम्पलिङ लिन सक्छौँ, मनोविद्हरुसँग परामर्श लिन सक्छौँ ।

 
एउटा राम्रो सिनेमा बन्न अर्थपूर्ण कथा, हृदयस्पर्शी सङ्गीत र चरित्रमा डुबेका पात्रहरुको अभिव्यक्ति आधारभूत कुरा हुन् । नेपाली सिनेमा बनाउनेहरु यस कुरामा कत्तिको संवेदनशील छन् जस्तो लाग्छ ?
नढाँटी भन्नुपर्दा नेपाली दर्शकहरुलाई हामीले अहिलेसम्म धेरै अवमूल्यन गरेका छौँ । हामीले आफ्नो कामलाई गम्भिर रुपमा लिन जानेनौँ या चाहेनौँ । त्यसकारणले पनि अहिले नेपाली चलचित्रका दर्शकहरु धेरै घटेका छन्। हामीमध्ये अधिकांशले कुनै गीत बनाउँदा साधनासहित बनाएनौँ । कथामा पनि हामीले खासै ध्यान दिएनौँ । अब चाहिँ हामीले हरेक कुरा दर्शकलाई नठग्ने हिसाबले ध्यान पुर्‍याएर गर्नु जरुरी छ । दर्शक ठगिनु हामी स्वयं ठगिनु हो । अहिलेका अधिकांश नेताझैँ हामीले दर्शकलाई झुक्याएको कुरा सच्याउने बेला आएको छ। हामीले जे बनाए पनि चल्छ भन्ने मानसिकताले हामीलाई पाठ पढाएको हुनुपर्छ। जबसम्म नेपाली चलचित्रकर्मीहरु संवेदनशील बन्दैनन्, जबसम्म आफ्नो कामलाई साधनाको रुपमा लिँदैनन् तबसम्म नेपाली चलचित्र जगत् पछाडि परिरहनेछ । यस कोरोनाको कहरमा हामीले आत्मालोचना गर्ने अवसर आएको छ ।

 
तपाईँको विशेष स्थान बनेको छ सिनेमामा । कसरी सम्भव भयो त्यो ?
प्रशंसाका लागि धेरै धन्यवाद। तर, म आममान्छे हुँ। म आममान्छेको जीवनलाई अमूल्य ठान्छु । र, त्यही आममान्छेको आँखाबाट चलचित्र निमार्ण गर्ने कुुरामा विश्वास गर्छु । आममान्छेहरुले जिन्दगीलाई नजीकबाट बुझेका हुन्छन्, भोगेका हुन्छन् । म तिनै आममान्छेका कथालाई आफ्नो कथा मान्ने गर्छु । म ती मान्छेहरु खुशी हुँदा खुशी हुन्छु । तिनको ओँठमा मुस्कान र आँखामा क्रान्ति देख्न चाहने मान्छे हुँ । आवाजहीनको आवाज बन्न रुचाउने मान्छे हुँ म। अन्यायको विरुद्ध लड्नु मेरो चरित्र हो । मेरा अधिकांश चलचित्रहरु पनि तिनकै सेरोफेरोमा बनेका छन् । त्यसैले शायद मेरा दर्शकहरुले मलाई विशेष स्थान दिनुभएको होला । जसका लागि म उहाँहरु प्रति सँधै कृतज्ञ छु, रहनेछु ।

 

मेन स्ट्रीममा जस्ता चलचित्रहरु बने नेपालमा, तिनबाट सन्तुष्ट हुनुहुन्छ तपाईँ ?
मेन स्ट्रीमका नेपाली चलचित्रहरु पहिला पहिला त मलाई राम्रै लाग्थ्यो । पछिल्लो समयमा आएर एकदमै मिक्स भयो । हुनत चलचित्रमा त हरेक रंगहरु हुन्छन् । तर, कतिपय रंग नै नभएका चलचित्रहरु पनि बने । संसारमा जहाँ पनि मेन स्ट्रीमबाट अलग रहेर बनाउने रिस्क थोरै साहसीहरुले मात्रै लिन्छन् । याद गर्नु पर्ने के हो भने आफूले बलियोसँग टेक्नै नपाई साहसी हुनु भनेको चाहिँ दुस्साहसी हुनु हो। हामीले जस्तो चलचित्र बनाइरहेका छौँ, तिनको सङ्गीत, कथा, प्रस्तुति, भन्ने तरिका, सिनेमाटोग्राफी जस्ता यावत कुरामा विज्ञ व्यक्तिहरुको साथ लिएर गम्भीर भएर काम गर्नेबेला भने अब आइसकेको भान हुन्छ । पुरानै ढाँचाका कथा र बासी सङ्गीत र मेलोड्राम्याटिक एक्टिङ्ग दोहोर्‍याउनेहरुले दोहोर्‍याएर चलचित्र बनाउने सम्भावनाको आफ्नो ढोका आफैँ बन्द गर्नेछन् ।

 


कस्ता खालका सिनेमा हेर्नु रुचाउनुहुन्छ ?
मलाई प्रेरणादायी चलचित्र धेरै मन पर्छ । प्रेमकथामा आधारित चलचित्रहरु पनि अत्यन्तै मन पर्छ । तर, अभिनय भने म ज्यादाजसो एक्सन चलचित्रहरुमा गर्छु । 


सिनेमा भनेको के हो ? मनोरञ्जनको साधन, उपदेश र ज्ञान दिने माध्यम वा अधिकांश दर्शकको मनमा तरङ्ग ल्याउने प्रयास ?
सिनेमा भनेको मनोरञ्जन होला, तर, त्यसभित्र गहिरो दर्शन पनि लुकेको हुनुपर्छ । समाजमा भएका मर्मस्पर्शी तर अव्यक्त कुराहरुलाई पनि सान्दर्भिक तरिकाले देखाउन सक्नुपर्छ । अनि मात्र चलचित्र, चलचित्र जस्तो हुन्छ । उपदेश दिने वा शिक्षा दिने काम सिनेमाको होइन । 

 

विश्वका उत्कृष्ट सिनेमाहरु दर्शन मिसिएका हुन्छन् । तिनमा प्रेम, सम्बन्ध र संवेदनाको चरम उपयोग भएका हुन्छन् र तिनले दर्शकको जीवन दर्शनलाई नै नयाँ दिशातिर लगिदिन्छ । मन लाग्छ तपाईँलाई त्यस्तो सिनेमा बनाउन ? कि नेपाली आम दर्शकहरुको स्तर त्यस्ता फिल्म हेर्ने भइसकेको छैन जस्तो लाग्छ ?
चलचित्र एउटा सर्वत्र हेरिने, बुझिने कुरा हो । चलचित्र हेर्नका लागि दर्शकको स्तर चाहिँदैन । हामीले बुझाउन सकेको खण्डमा जस्तो पनि बिषयवस्तु बुझाउन सक्छौँ । तर, बुझाउने क्षमता चाहिँ हामीसँग हुनुपर्‍यो । अर्को कुरा हाम्रो भूगोल, हाम्रो देशको सँस्कृति, दर्शकको मनोविज्ञान जस्ता कुरालाई ध्यान दिन सक्ने शीप पनि हामीसँग हुनुपर्‍यो । समय आइसकेको छ, मौलिक तरिका नेपालीपन भरिएको कथा बुनेर नौलो ढङ्गले प्रस्तुत गरेको खण्डमा समय छिटो या ढिलो हुन्छ भन्ने मलाई लाग्दैन । तर, त्यसका लागि हामी सिर्जनामा लागेका व्यक्तिहरुमा पहिला चाहिँ त्यो क्षमता र शीप हुनुपर्‍यो । मलाई लाग्छ अहिलेसम्म हाम्रो कोशिश मात्र छ । हामी त्यो ठाउँमा पुग्न सकेका छैनौँ । भईहाल्छ नि, यति भए पुगिहाल्छ नि भन्ने हाम्रो मानसिकताले पनि दर्शकलाई हामीले अझ बढि राम्रोराम्रो चलचित्र बनाएर दिन सकिरहेका छैनौँ । यसको सम्पूर्ण दोष हामी चलचित्रकर्मीले लिनुपर्छ । र, अब नेपाली चलचित्रलाई नयाँ उचाई दिन आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ । 

 

मेथड एक्टिङलाई कसरी हेर्नुहुन्छ ? 
यसलाई कसरी हेर्ने भन्ने कुरा भनेको मान्छेको आ–आफनो रुचिमा निर्भर गर्छ । कोही मेथड एक्टिङमा विश्वास गर्छन् त कोही त्यसलाई सम्मान गर्छन्, तर आफू त्यसको सहारा लिँदैनन् । त्यो बिनै पनि उनीहरुले निर्वाह चल्छ । यो नभई नहुने होइन, र अवसर अनुसार त्यसको प्रयोग गर्नै हुँदैन भन्ने पनि छैन । मैले यसलाई अभिनयको गहनाको रुपमा लिएकी छु । आवश्यक पर्दा गहनाको प्रयोगले अभिनयको सौन्दर्यलाई त्यसले झन् सुन्दर बनाईदिन्छ । 

 

कहिले कुनै चरित्रमा काम गर्दा मेथड एक्टिङको सहारा लिनुभएको छ ? 
मैले कुनै पनि चलचित्रमा काम गर्दा मेथड एक्टिङको सहारा अहिलेसम्म लिनु परेको छैन । जे गरेँ अहिलेसम्म स्वस्फूर्त गरेकी हुँ । अवसरबाट सिक्ने या भनुँ शिक्षा लिने मेरो प्यासन हो । आफूले गरेको काम र गल्ती मेरा गुरु हुन् । र, गल्ती नदोहोर्‍याउने मेरो बानी छ ।

 

तपाईँ बडो शालिन, निश्छल देखिनुहुन्छ । नजर ‘कातिल’, मुस्कान मदिर र गाम्भीर्य पनि उत्तिकै स्वीकार्य । तर, मान्छे तपाईँलाई हट नायिका पनि भन्छन् । यो पनि एक खालको कम्प्लिमेण्ट नै हो । तपाईँलाई चाहिँ कस्तो लाग्छ ?    
ओहो, कति धेरै तारिफ ? धेरैधेरै धन्यवाद  त्यसकालागि । हट र सेक्सी भनेको पनि सुनेकी हुँ । सुन्दा एकदमै खुशी लाग्थ्यो तर त्यतिखेर समाजले त्यसलाई गलत ढङ्गले बुझ्ने गरेको पनि मलाई थाहा छ । अहिले पनि सेक्सी भन्ने शब्द धेरैले बुझेका हुँदैनन् । अति आकर्षक कुरालाई अङ्ग्रेजहरु सेक्सी भन्छन् । त्यो चश्मा हुन सक्छ या लुगा पनि । हट भनेको पनि शारिरीक रुपमा अति आकर्षकलाई भनिन्छ । नबुझ्नेलाई केके न होला, तर मेरा लागि भने यो दर्शकहरुले दिएकोे ठूलो कम्प्लिमेण्ट हो । यो त जो कोहीले पाउने टाइटल नै होइन ।  अहिले जसरी मलाई दर्शकहरुले हट र सेक्सी भन्नुहुन्छ, आशा छ मैले चलचित्रबाट सन्यास लिने बेलामा मेरो अभिनय र सिनेकर्म पनि हट र सेक्सी बन्न सकोस् । 

 

प्रेम के रहेछ ? केही सोच्नुभएको छ यसबारे ? यो फगत् आकर्षणको अर्को रुप हो या निस्वार्थ साधना ?
प्रेम एउटा उर्जा हो । प्रेमले मान्छेलाई सुन्दर बनाउँछ, बाच्न सिकाउँछ, हाँस्न सिकाउँछ । प्रेम त मुक्ति हो । जसमा बन्धन नहोस्, जसमा शङ्का नहोस्, गुम्ने डर नहोस्, प्राप्तिको तुजुक पनि नहोस् । आजकलको प्रेम जुन छ नि– प्रेम हुने बित्तिकै एकअर्कामा बाँधिने, हो म त्यसलाई प्रेम भन्दिनँ । प्रेमले मान्छेलाई मुक्ति दिन्छ । प्रेमले मान्छेलाई आकाशमा उड्न सिकाउँछ । प्रेम साधना हो । प्रेमले मान्छेलाई शक्तिशाली बनाउँछ । म प्रेमलाई त्यसरी हेर्छु । मेरो लागि प्रेम इश्वरको बरदान पनि हो । जसले मनबाट प्रेम गर्छ, त्यस मान्छेलाई ईश्वरको कृपा भएको ठान्नुपर्छ । अपशोच, जो कोहीले प्रेम गर्ने अवसरै पाउँदैनन् ।

 
अहिलेको अवस्थामा के गर्न मन लल्चाईरहेछ ? 
अहिलेको अवस्थामा मलाई एकदमै ‘कुल’ भएर बस्न मन छ । आफूले आफैँलाई नियाल्न मन छ। बाहिरी संसार भन्दा पनि मेरो भित्री संसारको बारेमा बुझ्न मन छ । म जीवन, जगत्, राजनीति, समाज मान्छेको मनोविज्ञान र मान्छे बुझ्ने प्रयासमा छु । र, त्यो भन्दा महत्वपूर्ण कुरा म आफूले आफैँलाई बुझ्न थाल्दैछु । म यो धरतीमा किन आएँ ? मेरो दायित्व के हो ? मैले के गर्नुपर्छ ? मेरो आगमनले मान्छेलाई कस्तो प्रभाव पार्नुपर्छ । यी सब सोचिरहेको बेला यस्तो कुल हुने इच्छा जागेको हो । मान्छे एकपटक जन्मिने हो र एकपटक जन्मिएपछि मान्छे भएर बाँच्न जान्नुपर्छ । मैले मान्छे हुनुको धर्म कसरी निर्वाह गर्न सक्छु भनेर म त्यो धर्मको खोजीमा छु ।

 
शोख के होलान् तपाईँका ? सङ्गीत सुन्ने ? कविता पढ्ने ? सिनेमा हेर्ने ? या कुनै विषयमा चिन्तन गर्ने ?
मेरो शोख गीत-सङ्गीत सुन्ने हो। कविता कहिलेकाहीँ पढ्छ। सिनेमा खासै हेर्दिनँ । म पढ्न चाहिँ पढ्छु, जसमा आध्यात्मिक पुस्तकहरु ज्यादा छन्। म विभिन्न धर्मका किताबहरु पढिरहेको हुन्छु। अलि बढि चिन्तन मननमा ध्यान जान्छ । 

 

मानिलिनुहोस्, तपाईँलाई प्रधानमन्त्री बन्ने अवसर आयो । चाहेको कुरा बदल्ने अनुमति पनि पाउनुभयो । पाँच वटा त्यस्ता के कुरा होलान् जुन तपाईँ तत्काल बद्लिदिनुहुन्थ्यो ?
महिलाहरुको अवस्था परिवर्तन गर्नका लागि महिलाको सामाजिक अवस्था बदल्ने हक अधिकारको सुविधा दिन्थेँ । विदेशमा बस्ने सबै नेपाली दाजुभाई दिदिबहिनीहरुमध्ये जो स्वदेशमा फर्किन चाहनुहुन्छ उहाँहरुले चाहे अनुसारको वातावरण तयार पारेर उहाँहरुलाई फर्काउने अभियान चलाउँथे। वातावरणीय सुधारका काममा युवाहरुलाई परिचालन गर्थे। स्वास्थ्य र सेक्युरिटी सम्बन्धी प्रशिक्षण सबैले लिनुपर्छ भन्ने एउटा परियोजना बनाउँथे । नेपाललाई अन्तर्राष्ट्रिय फिल्म सुटिङको एउटा स्पट बनाउँथे ।    
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार