• बिहीबार १-२-२०७८/Thursday 04-15-2021
रंगमञ्च

'म डिप्रेसनको सिकार भएँ'

रंगमञ्च के हो ?
यो प्रश्नको उत्तर दिन कठिन छ । यसलाई अनेकौं तरिकाले व्याख्या गर्न सकिन्छ । कला, साहित्य र विचारहरूलाई मूर्त रुप दिने वा जीवन दिने ठाउँ रंगमञ्च हो जस्तो लाग्छ। मानवीय भावनालाई, सोचलाई, जीवनलाई, राजनीतिलाई र सामाजिक सम्बन्धहरुलाई कलात्मक संयोजन गर्ने एउटा माध्यम रंगमञ्च नै हो जस्तो लाग्छ । कुनै बेला दरबारमा मनोरञ्जनको माध्यम रहेको रंगमञ्च क्रान्ति र आन्दोलनको विगुल फुक्ने सशक्त माध्यम बन्यो भने अहिले सामाजिक रूपान्तरणको औजारका रुपमा उपयोग भइरहेको छ । 

 

रंगमञ्चमा किन आकर्षित हुनुभयो ?
स्कुलमा सर म्यामहरूले नाटक गराउनु हुन्थ्यो। मलाई पढ्नभन्दा नाच्न गाउन अति मन पर्थ्यो। घरमा केही नबताई लुकिलुकि सिक्न जान्थे । घरमा एकदिन नमज्जासँग कुटाई खाइयो, त्यसपछि बल्ल पढाइतिर ध्यान गयो । पढाईको प्रेसर भएपछि म डिप्रेसनको सिकार भएँ। यसबाट निस्कने उपायका रुपमा रंगमञ्चतिर आकर्षित भएँ । केही साथीहरू नाटक गर्थे, उनीहरूसँग उठबस गर्न थालें । नाटकमा म अरु नै कसैको कलेवरमा, व्यक्तित्वमा हुन्छु र मेरा थिचिएका, दबिएका भावनाहरू बाहिर आउँछन्। शायद यसैले म रंगमञ्चमा आकर्षित भएको हुँ । 

 

कति भयो रंगमञ्चमा रमाउन थालेको ? 
८ वर्षयता म रंगमञ्चमा छु । २८ वटा जति नाटकमा अभिनय गरें होला । सडक नाटक भने धेरै गरेको छैन । प्लेब्याक फोरम थिएटरमा सहभागी भएको छु । 

 

 

रंगमञ्च तपाईंको पेशा हो कि रुची ?
यसले नै मलाई नयाँ जिन्दगी दिएकाले रंगमञ्च पेशाभन्दा पनि मेरो जीवन हो। 

 

थिएटर सम्बन्धी कुनै अध्ययन वा तालिम लिनु भएको छ ? 
मण्डलामा तीन महिने कोर्स गरेको छु । बेला बेलामा हुने तालिममा सहभागी हुन्छु तर त्योभन्दा पनि काम गर्दा अझ बढी सिकिन्छ जस्तो लाग्छ । 

 

अहिलेसम्मका तपाईंका उपलब्धि के के हुन् ? 
भनें नि म डिप्रेशनको सिकार थिएँ। त्यसैले मेरा लागि रंगमञ्चको सबैभन्दा ठूलो उपलब्धि नै मैले पाएको नयाँ जीवन र पाएको नयाँ दृष्टिकोण हो । म यसमा लागेपछि मप्रति मेरा साथीभाइहरुको दृष्टिकोण नै फरक भएको छ । दर्शकहरुको माया पनि पाएको छु।  

 

कुनै रंगकर्मीबाट प्रभावित हुनुहुन्छ ? 
म त सबैबाट प्रभावित छु । मलाई सुनिल सरको बुझाई र उहाँले बुझाउने तरिका सरल लाग्छ । उहाँ महासागर हो जस्तो लाग्छ। अनुप सरको शालिनता, राजन खतिवडा दाइको रंगमञ्च निष्ठासामु नतमस्तक छु। प्रवीण खतिवडा दाजुको बेजोड अभिनय, सरिता दिदी, लुनिभा तुलाधर दिदीलगायत सबैबाट कुनै न कुनै रुपमा प्रभावित छु ।


 
रंगमञ्चको वर्तमान स्थिति र यसका चुनौती कस्ता छन् ? 
अहिले स्थिति चुनौतीपूर्ण छ। हुन त कोभिड अघि पनि रंगमञ्चमा राम्रो काम गर्ने स्थापित व्यक्तित्वहरु पनि अलि सुस्त हुनु भएकाले हामी जस्ताले सिक्ने अवसर थोरै मात्र भयो । राम्रा र गतिला मञ्चन थोरै मात्र हुने भएकाले नाटकको संख्या बढेर मात्र केही हुँदैन। गतिला नाटक मञ्चन बढ्नु पर्‍यो। त्यसमाथि अहिले नाट्यकर्मीसामु कोभिड ठूलो चुनौति बनेको छ । नाटक त गर्ने तर कसरी भन्ने चुनौती छ ।

 

 

नाटकले नै जिन्दगी धान्न सकिन्छ ?
मलाई सक्दिनँ जस्तो लाग्थ्यो तर सकिँदोरहेछ। प्रोजेक्टहरू गर्न सकिन्छ । नाटकसँग सम्बन्धित अरू कतिपय काम गर्न सकिन्छ । तर पहिला आफू आफ्नो काममा पोख्त हुनुपर्‍यो । 

 

यतिबेला रंगमञ्चका कलाकारहरु धमाधम चलचित्र र म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । के तपाईंले पनि अभिनय गर्नुभएको छ ? 
मेरो पहिलो रोजाइ नाटक नै हो । नगरेको नै त होइन, एक दुइटामा काम गरेको थिएँ तर पूरा नै नभएपछि नाटकमै केन्द्रित भएँ । केही अवसर आएका पनि हुन् तर नाटकमै व्यस्त भएकाले गरिएन। कुनै कुनै भने चित्त दुखेर छाडेको पनि छु तर अब चैं गर्ने सोचमा छु । म्युजिक भिडियो नि खासै गरेको छैन, दुई तीनवटा जति होला ।

 

कमाइ पनि राम्रै होला नी ? 
मलाई धेरै चाहिँदैन त्यसैले पनि आफूलाई पुग्ने कमाइयो भन्नु पर्‍यो। रेस्टुरेन्ट जाने ,सपिङ गर्ने खर्च उठ्थ्यो। त्यहि भएर पनि होला अहिले कोभिडका कारणले अलि अप्ठ्यारो भएको छ, ठिकै छ फेरि कमाइन्छ । 

 

चलचित्र र नाटक कुनमा काम गर्न सजिलो ?
रंगकर्मी भएर होला मलाई चलचित्र गार्‍हो लाग्छ । बढी लाउड हुनुपर्ने जस्तो लाग्छ । नाटकमा सरर सलल बग्छ तर चलचित्रमा त्यस्तो हुन्न (सुटिङमा)।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार