• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020
रंगमञ्च

रंगकर्मीको मट्का चिया

काठमाडौं । मण्डला थियटरमा जीवनका उर्जाशील समय बिताएका पूर्वली ठिटो अहिले चियाघरमा रमाएका छन । नाटकका संवाद बोल्ने उनी हिजोआज चिया खान आएका ग्राहकसंग गफिदै गरेका भेटिन्छन। अभिनयमा रमाएका प्रकाश दाहाललाई पैसाको जोहो गर्नुपर्ने दवाबले चिया घरमा ल्याइ पुर्‍यायो । दर्जन बढि नाटकमा उनले आफ्नो कला प्रस्तुत गरिसकेका छन। अभिनयको तालिमले कला क्षेत्रबारे उनको बुझाई फराकिलो बन्दै थियो ।

 

अभिनयले मात्रै जीवन धान्न सकिदैन भन्ने लागेपछि उनले आफ्नै जन्म थलोमा नयाँ काम थाल्ने अठोट लिए। साथीभाई बिच भएको हाँसो ठट्टाले व्यवसायिक रुप लिएको छ । उनको यो व्यवसायमा उनी मात्रै छैनन् उनी संगै बिचार मिल्ने चारजना युवाहरु पनि संगै छन । अभिनय गरेर चल्तीका कलाकार बन्ने सोच बोकेर काठमाडौं हानिएका उनी कलामा रमाउदैं थिए । रुचीको क्षेत्र भए पनि यसैलाई पछिसम्म लैजान सकिन्छ भन्नेमा उनी ढुक्क हुन सकेका थिएनन्। सायद यी र यस्तै प्रश्नले चिया घरको जन्म भयो ।

 

दाह्री भाईको चिया घर संयोग  ? 
अभाव, संघर्ष र एकताले शुरु भएको हो दाह्री भाईको  चिया घर । गुजारा चलाउन पैसाको लागि काम गर्नुपर्ने  दबाब थियो । यसै बिच बिर्तामोडमा नाटकका १२ जना आफ्नै बिद्यार्थीसंगको सहकार्यमा चिया घर सुरु भयो ।

 

दाह्री भाईको चियाघर नाम कसरी जुरयो ?
दाह्रीको आफ्नै कथा छ । पसल नराखेर चिया घर भन्नुको कारण पसलमा सबै पसलेले राम्रै व्यवहार गर्छन भन्ने छैन । तर, कसैको घरमा पाहुना जाँदा कसरी स्वागत गर्छन सबैको घरमा आ—आफ्नो संस्कार हुन्छ । हाम्रो चिया घरमा पनि त्यो संस्कार छ । कुनै दिन तपाईको गोजिमा १५ रुपैयाँ पनि नहुन सक्छ, तर पैसा नहुँदा पनि चिया घरमा चिया पिउन पाइन्छ। जसको लागि तपाईले दाह्री भाईको चिया घरमा आएर शुरुमै पैसा नभएको बताउनुभयो भने तपाईंलाई चियाघरका कर्मवीरहरुले चिया खुवाउँछन तर सधै उधारो खान पाइदैन। यस्तै केही कारणहरु छन ।

 

समुह कस्तो छ ? 
शुरु गर्दा १२ जना बिद्यार्थी मध्य ८ जनाले फूर्सदको बेलामा आएर काम सघाए । बाँकी ४ जनाले निर्माण गरे । कोराना कहर अघि नै ३ जनाले ब्यक्तिगत कारण देखाएर अन्तै केही गर्न थाले । अहिले हामी तीनजना रुपेश गिरी, नारायण कडारिया र म लगाएतले चिया घरलाई अगाडि बढाइरहेका छौ । अहिले पुर्ननिर्माणको काम भईरहेको छ ।

 

 

एउटा रंगमकर्मी भएर चियाको सोच कहाँबाट आयो ?
रङमञ्चले सिकाएको पहिलो काम सानो सानो कुरालाई देख्नसक्नु चिन्नसक्नु, पत्ता लागाउनसक्नु नै हो । त्यही प्रभाव हुनसक्छ । ग्राहकले सामान्य रुपमा लिएको चिजलाई ब्राण्डिङ गर्न खोजेको मात्र हो ।

 

लगानी कति लाग्यो ?
लगानी २ लाख जति गरियो । स्थानीय स्तरमा भएका सामाग्रीको पुन : प्रयोगले आर्थिक लगानी कम भएको छ । समयको लगानी बढी छ । थप सजावटको काम हुँदैछ, निर्माणको काम चलिरहेको छ, ब्राण्डिङको काम पनि धेरै बाँकी छ । लगानी अझै थप्ने सोचमा छौं । 

 

लगानी उठ्यो त ?
छैन । अहिले नै कहाँ उठाउन सकिएला र अझै लगानी बढाउदैं छौं ।

 

तपाईको चियाघरको बिशेषता के हो ?
२१ किसिमको चियाको स्वाद पाइन्छ पुर्वी पहाडका जडिबुटीहरुलाई इलाम र झापाको चियासंग ब्लेण्ड गरेर स्वाद निकालिएको छ । गाडीका फालिएका टायरहरुलाई कलात्मक तरिकाले  श्रृंगार गरेर बस्ने ठाउँ बनाइएको छ । पाहुनाले माटोको कपमा (मट्का) चिया पिउँछन । यस्ता धेरै चिज छन, आउनुस न चिया पिउन, सबै थाहा भईहाल्छ नि । 

 

 

कति मुल्य पर्छ एक कप चियाको ?
एक कप चिया रु १५ देखि १५० सम्मको चिया पाइन्छ ।

 

एक सय पचास पर्ने चिया कस्तो हो ?
आइरिस चिया हो । यसमा अल्कोहलको मात्रा पनि हुन्छ ।

 

कति व्यापार हुन्छ र बिहान देखि बेलुकासम्म कति कप चिया बन्छ ?
हामीले कोरना अघि एक महिना ८ दिन चलाएछौं चिया घर । एक महिनाको कुल आम्दानी १ लाख कटेको थियो । दिनको कति कप बिक्री भएको थियो त्यो मलाई थाहा छैन ।

 

चिया दिने कप पनि माटोको रहेछ केही नाम दिनुभएको छ या के भन्छन् यसलाई ?
हामीले नै त केही नाम दिएका छैनौं । तर पाहुनाले नै मट्का, मेरो कप जस्ता नाम दिएका छन ।

 

अन्य चियामा भन्दा तपाईको चियाघरको चियामा के फरक छ ?
हाम्रो चियामा पाहुनाले पहिलो सुर्को मै ‘वाउ’ भन्ने बनाउनु नै हाम्रो प्रयास हो । फरक त तपाईं आए पछि महसुस गर्ने कुरा हो । 

 

रंगमञ्च छोडेको हो ?
मलाई त त्यस्तो लाग्दैन । रंगमञ्च छाड्ने कुरा सोच्न नी सक्दिन ।

 

 

कोरोनाले चिया घरमा कतिको प्रभाव पार्‍यो ?
सबैलाइ प्रभाव पार्दा चिया घर चाँही कसरी अछुतो रहन सक्छ र ? प्रभाव पार्‍यो नी । तर जे हुन्छ राम्रोको  लागि हुन्छ । नयाँ आशा पनि ल्याएको छ कोरनाले । 

 

अहिले प्राय रंगकर्मीहरु काठमाडौंमा भन्दा पनि मौफसलमा नै बिभिन्न व्यापार गरिरहेका छन् किन ?
त्यसको बिविध कारण हुन सक्छन । मैले चाँही आधार निर्माण गरेको हो । आफु जन्मे हुर्केको ठाउँमा पनि केही गरिएन भने काठमाडौमा मात्र होइन विश्वको जुन कुनामा जे जे गरेपनि के गर्नु हौ, तेरो ठाउँमा चाँही के गरेको छस् ? भन्दा आफूसँग जवाफ भयो भने कति गौरव महसुस हुन्छ होला । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार