• बुधबार ६-१४-२०७७/Wednesday 09-30-2020
रंगमञ्च

रंगकर्मीको युटोपिया

विगत छ महिनादेखि ठ्याक्कै अनुहार अघि नै उभिएको दैत्य वा राक्षस सरह उभिएर लकडाउन वा निषेधाज्ञाले बाटो छेकेको छ। चल्न, हल्लिन वा आफुलाई बचाउने जीविकोपार्जनका कार्यहरुलाई गर्नै पाइदैन भनेर हातखुट्टा बांधिएको छ । फलतः सास चलाउन खाद्यान्न निल्न र शरीर सुरक्षित राख्न त्यसलाई विसर्जन गर्नु बाहेकका अन्य कार्यमा हामी प्रतिबन्धित छौं । 


प्रतिबन्ध लगाउने सत्ता हो ! त्यो सत्ता जसले न आफैले कुनै कार्ययोजना ल्याई यो महामारी रोकथाम या नियन्त्रण गरेको छ न हामीजस्ता जनता वा निजी संयन्त्रलाई महामारी नियन्त्रण वा रोकथाममा परिचालित गर्न वा हुन दिएको छ । बिल्कुलै ठप्प पारेर राखिएको छ हाम्रा शारीरिक र मानसिक शक्तिलाई । सत्ता संचालन गर्ने नेतृत्व वर्गको लोभी, स्वार्थी र अहमी मनोवृत्ति हावी रहुन्जेल कोरोना भाइरसको प्रकोप अझै एकदुई बर्षसम्म कायम रहिरहने परिदृश्यमा अव्यवस्थित सरकार मातहत रहेका हामी जनताले के नै गर्न सक्छौं र ? 

 

म रंगकर्मी हुं । लकडाउन शुरु हुनुभन्दा अघि नै हाम्रो रंगकर्मको गतिविधि सुस्ताइसकेको थियो । चलचित्रका छायांकन रोक्किएका थिए भने राजधानीमा भएका थियटर हलहरुमा नाटक प्रदर्शनी पनि रोक्किइसकेको थियो । म आफै संलग्न नाटक, राइड अक्रस द लेक कन्स्टेन्सी लाई पनि प्रदर्शनको मुखैमा पुगेर रिहर्सल स्थगित गर्नुपरेको थियो । चौध दिनसम्म मात्र मानव शरीरमा सक्रिय रहने र सामान्य सावधानी अपनाएर पनि संक्रमणबाट बच्न सकिने यो कोरोना भाइरस लकडाउनको १४/१५ दिनको अवधिमा साम्य भई स्थिति पुन: सहज हुने आशामा थियौं हामी । तर न त लकडाउनको अन्त्य भयो न भाइरस नै अहिलेसम्म नियन्त्रणमा आएको छ । विगत छ महिनादेखि हामी बेरोजगार, लाचार र राज्यबाट बेवास्ताको ब्यवहारबाट पीडित भईबसेका छौं । न काम छ न काम गर्ने वातावरण । गरौं त के गरौं ? जानेको काम यही नै हो र यो काम समुहमा मात्र हुनसक्छ । 

 

केही साथीहरूले भर्चुअल माध्यमबाट रंगकर्म चलाउन सकिन्छ कि भनेर हुटिट्याउं आंट पनि गरे तर त्यो सफल भएको देखिएको छैन । भिडियो खिच्ने कामका लागी पनि साथी चाहिन्छ आवतजावत हुनुपर्छ जुन अहिले संभव छैन । वरिपरिका साथी बटुलेर टिकटक बनाए झैं का भिडियो कति बनाउनु ? कैयौं कलाकर्मीहरु मौका पाउनासाथ बाहिरिए र अहिले गाउँमा कुटो कोदलोको तस्वीर खिचिरहेका छन् र जे भए नि आफुलाई सुरक्षित महसुस गरिरहेका छन् । 

 

हामी जो उपत्यकाका बासिन्दा हौं र जो उपत्यकामै नैतिकता देखाइ सरकारको आदेश पालना गरेर बसेका छौं तिनको अवस्था भने कत्तिको बिजोग छ कत्तिको हुने तर्खरमा छ । हाम्रा रासन सकिएका छन्, लत्ताकपडा मैला र झुत्रा हुनथालिसकेका छन्, आम्दानी नहुँदा गोजी रित्ता भएका छन् । गरिखाने ठाउँ मात्रै बन्द भएको छैन हामीलाई चल्ने अघि बढ्ने बाटो समेत थुनेर अँध्यारो भविष्यको पहाड तेर्साइएकोे जस्तो अवस्था छ । 

 

रङ्गकर्मी स्वभवैले सचेत प्रजाति हो र विभिन्न देशले तिनको सचेतनाको सदुपयोग गरि एउटा सभ्य, सुसंस्कृत र विकासोन्मुख समाजको निर्माणलाई गति दिइएरहेका छन् । यो महामारीको समयमा मानिसलाई भय र सन्त्रासबाट मनोबैज्ञानिक रूपमा त्राण दिने पनि इन्टरनेट वा अन्य विद्युतीय माध्यमबाट प्रसारित कलाकारहरुको कला नै थियोे ! के राज्यले यो महामारीको समयमा हामी कलाकारहरुको कलालाई महामारी रोकथाम वा नियन्त्रणका उपयोग गर्‍यो त ? अहं छैन । 

 

निरंकुश पंचायती ब्यवस्थाको समयमा बहुदलीय ब्यवस्थाको प्रचार प्रसार गर्न, बहुदलीय ब्यवस्थामा आफ्ना वाद र सिद्धान्तहरुको पृष्ठपोषण गर्न र द्वन्दकालमा समेत जनमुक्तिको नारा घन्काउन कलाकार एवं कलालाई प्रयोग गर्ने वर्तमान सत्ताधारीलाई यो समयमा राज्यका सिमित संयन्त्र मात्रै होइन निजी क्षेत्रका अन्य र हामी कलाकारहरू एवं कलालाई उपयोग गर्नुपर्छ भन्ने चेत किन नपलाएको ? म कल्पना गरिरहेको हुन्छु । म कुनै गाउँ वा शहरको कुनै टोलमा छु । भौतिक दूरी कायम गर्दै आफ्नो कलात्मक प्रस्तुति दिइसकेपछी म गाउँवासी वा टोलवासीलाई कोरोनाबाट सुरक्षित रहने उपाय भनिरहेको छु । 

 

बेलाबेलामा साबुनपानीले हात धुन, दूरी कायम गर्न, भिडमा नजान, भिड नगर्न, कसैगरी भिडमा जानैपरे मास्कको अनिवार्य प्रयोग गर्न । संतुलित आहार, स्वस्थ विहार र सकारात्मक विचार अवलम्बन गरि आफ्नो रोग प्रतिरोधात्मक क्षमता विकास गर्न । म जवरजस्ती गर्नैपर्छ भन्दिनँ, अनुरोध गर्छु, बारम्बार सम्झाउँछु । गाउँ वा टोलवासी सोही अनुसार गरिरहेका छन् । भाइरस नजिक पर्ने वातावरण नै दिदैनन । सबै स्वस्थ छन्, खुशी छन् । कोरोना परास्त हुँदैछ । 

 

मलाई पनि सेवा गरेबापत राज्यले केही सुविधा दिएको छ। अर्बौं अरबका अन्य ठेक्कापट्टाको कामकारबाही भन्दा अहिले गर्नैपर्ने सचेतनाको यो कामलाई राज्यले प्राथमिकता दिएको छ । म जस्ता हजारौं अन्य कलाकारहरू पनि हजारौं टोलहरुमा मैले गरेजस्तै गरिरहेका छन् । तीनलाखभन्दा  बढी सरकारी कर्मचारी पनि यही सचेतना र अनुरोधको काममा लागेका छन् । यो पन्ध्र दिन भित्रैमा कोरोना नियन्त्रणमा आइसकेको छ र हामी सबै स्वतन्त्र भई आफ्नो कार्यब्यपार गर्ने तर्खरमा छौ । देशको सीमामा भने ब्यवस्थित क्वारेन्टाइनको ब्यवस्था गरिएको छ । म कल्पना गर्छु... हो मैले कल्पना मात्रै गर्नसक्छु । 

 

मेरो युटोपिया कल्पनामा मात्रै संभव छ । व्यवहारिक रूपमा माथि कल्पे झैं संसार बनाउन सत्ता संचालन गर्ने अगुवाहरुमा त्यो चेत पलाउनु पर्छ । स्रोत र शक्तिमा पहुँच हुनेले पहल गर्नुपर्छ । काम गर्नुपर्छ, कार्यान्वयनमा जोड दिनुपर्छ । हामी त कल्पना मात्रै गर्नसक्छौ । रित्तो गोजी, बांधिएका हातगोडा र निराश भविष्य बोकी अव्यवस्थित सरकार मातहत रहेका हामी जनताले के नै गर्न सक्छौं र ?

 

(रंगकर्मी आशान्त शर्माले लकडाउनमा लेख्नुभएको उहाँको अनुभव)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार