• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

कपिलवस्तुमा सात महिने बालक सहित ५२ नयाँ सङ्क्रमित 

कपिलवस्तु । कपिलवस्तुमा आज नाबालक सहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र  बाँकी  चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए । 

 

सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए । अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चारजना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र  सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको  गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिए । 

 

जिल्लाको कृष्णनगर नगरपालिकामा आज ११ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये दुई जना नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए । 

 

उनका अनुसार अन्य नौ जना १४ दिनअघि भारतबाट आएका थिए  जसमा वडा नम्बर १० मा दुई , वडा नम्बर १ मा चार, वडा नं ५ मा एक र  वडा नम्बर २ मा दुईमा कोरोना पुष्टि भएको छ ।

 
उनीहरु आआफ्नो वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए । विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा दुई र  वडा नम्बर ३ मा एकमा कोरोना भाइरस सङक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए । 

 

तीनैजना भारतबाट केही साताअघि निर्माण गरिएको रामशरण प्राविको क्वारेन्टिनमा बसेका थिए । उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएको आइसोलेशनमा राखी उपचार गरिने छ । 

 

बुद्धभूमि नगरपालिकामा एक पत्रकारसहित अर्का वडा नम्बर ८ का एकमा सङक्रमण पुष्टि भएको छ । उनी केही दिनअघि भारतबाट आएर वडामा निर्माण गरिएको निम डाँडा माविको क्वारेन्टिनमा बसेको बुद्धभूमि नगरपालिकाका स्वास्थ्य प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिए । दुई जनाको अवस्था सामान्य  छ । 

 

कपिलवस्तुमा अहिलेसम्म चार पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुनः एकमा सङक्रमण देखिएसँगै सङक्रमित पत्रकारको सङख्या चार पुगेको हो । यसअघि बाणगङ्गामा दुई र कपिलवस्तु नगरपालिकामा एक सङ्क्रमित देखिएका थिए । 

 

पत्रकारमध्ये  तीन पुरुष र एक महिला सङक्रमित भएका हुन् । सङ्क्रमण पुष्टि भएका दुई पत्रकार तौलिहवास्थित माहुरी होमको गेष्टहाउसमा संचालित आइसोलेशनमा तथा दुई जना बुटवलस्थित एन्फा एकेडमीको आइसोलेशन अस्पतालमा छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार