• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

सपना देख्न नसक्ने बनाउने 'एफान्टेजिया'

'सपना देख्न केही गर्नै पर्दैन, निदाए भैहाल्छ।'

 

काठमाडौं । झट्ट सुन्दा यो भनाइ एकदमै स्वाभाविक अवस्था जस्तो लाग्छ। आखिर सिरानीमा टाउको बिसाउँदा वा यात्राको समय गाडीमा झपक्क आँखा लाग्दा धेरैले सजिलै सपना देखिहाल्छन्। सपना बडा रमाइला हुन्छन्। कहिले हामी आफूलाई समुद्र किनारमा पाउँछौँ त कहिले हामी आकाशमा उडिरहेका हुन्छौँ। कहिले हामी तर्सिन्छौँ, जनावर वा भयानक कुनै आकृति देखेर त कहिले हामी जोशिन्छौँ, दौडिरहेको वा खेलिरहेको ठानेर।

 

तर कोहीले भने सपनाको संसार र यसले हामी निद्रामा हुँदा (र कहिलेकाहीँ ब्यूँझिएको बेला पनि) मस्तिष्कमा सिर्जना गर्ने छवि, ध्वनि र सुवासको आभाषको कहिल्यै अनुभव गर्न पाउँदैनन्। किन ? र किनभने उनीहरू 'एफान्टेजिया' भनिने एक विशेष प्रकारको अवस्थाबाट पीडित हुन्छन्।

 

'एफान्टेजिया 'मानसिक दृष्टि' को अभाव वा कल्पना गर्न नसक्नु हो।'

 

ब्रिटिश स्नायुविद् एडम जेमानले यसलाई यसरी व्याख्या गरेका छन्। विशेषगरी उनले 'मष्तिस्कले बनाउने चित्र' का क्षेत्रमा गरेका अनुसन्धानका कारण यो विषय विगत दुई दशकमा चर्चामा आएको छ। 'हामीलाई कसैले टेबल वा स्याउ भन्यो भने हामीले हाम्रो मस्तिष्कमा तिनको चित्रसहित कल्पना गर्न सक्छौँ। तर एफान्टेजिया भएका व्यक्तिहरूले यो गर्न सक्दैनन्,' युकेमा एक्सेटर विश्वविद्यालयमा प्राध्यापक पनि रहेका जेमानले बताए।

 

भेनेजुएलाका चिकित्सक गिल्येर्मो एन्टोनियो एसेभेडो त्यस्तो गर्न नसक्ने व्यक्तिमध्येका हुन्। एफान्टेजियाको प्रभाव बुझ्न बीबीसीले उनीसँग कुरा गर्‍यो।  'मेरो मस्तिष्क मनिटर अफ गरिएको र अक्षर बाहेक तस्बिर स्वीकार गर्न नसक्ने कम्प्युटर जस्तै हो,' उनले भने। विशेषज्ञहरूका अनुसार संसारको चार प्रतिशत जनसङ्ख्याले यस अवस्थाका कारण मानसपटलमा चित्र विकास गर्न सक्दैनन्। उनी पनि यही चार प्रतिशतमध्येका रहेछन् भनेर डा. एसेभेडोले संयोगले मात्र थाहा पाएका थिए।

 

'मैले एक मानसिक अस्पतालमा गर्दा मानसिक रोगहरूका बारे जान्न पाएँ र सन् २००५ मा जेमानले दृष्टिविहीन मस्तिष्कबारे लेखिएको एउटा लेख पढ्न पाएँ,' उनले स्पेनको सान सेबास्टियन सहरबाट टेलिफोनमार्फत बताए। डा। एसेभेडो विगत छ वर्षदेखि यस सहरमा काम गरिरहेका छन्। 'उनको लेखमा एफान्टेजिया भएका मानिसहरूले कल्पना गर्न सक्दैनन् वा सोच्दा मानसिक चित्र विकास गर्न सक्दैनन् भनेर वर्णन गरिएको थियो। त्यो पढेर मेरो मनमा प्रश्न उठ्यो? कसैले साँच्चै त्यसरी 'मानसिक चित्रे विकास गर्न सक्छन् र ' ?

 

'धेरैले सक्दछन् भनेर थाहा पाउँदा त म स्तब्ध भएँ,' एसेभेडोले बताए। 'भ्रान्ति वास्तवमै हुने कुरा रहेछ, मैले त प्रतीकात्मक भनी ठान्थेँ।' हाल ३५ वर्ष रहेका एसेभेडोले जीवनको पहिलो ३१ वर्षसम्म सपना वास्तवमै 'देखिन्छन्' भनेर बुझ्न सकेनन्। 'मलाई एफान्टेजिया रहेको कुरा थाहा नभएको बेला मैले कार्टुन आदिमा पात्रले सपना देख्दा देखाइने दृश्य दर्शकलाई बुझाउनलाई मात्र देखाइएको जस्तो लाग्थ्यो।' 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार