• सोमबार ८-७-२०८३/Monday 11-23-2026
विचार

महामारी र छुटेको पक्ष–ज्येष्ठ नागरिक

'कोरोना भाइरसको संक्रमण बृद्धाश्रममा फैलियो भने एकै थलोमा धेरैको ज्यान जान सक्ने संभावना हुन्छ । संरक्षण र सुरक्षा गर्नुपर्ने आफनो दायित्व भित्र रहेका ज्येष्ठ नागरिक प्रति राज्यले बिशेष ध्यान दिनुपर्ने हुन्छ ।’

 

बिकास र सक्तिको प्रतिस्पर्धा र होडबाजीमा अभ्यस्त विश्व अहिले कोरोनाभाइरसको महामारीसंँग जुधिरहेको छ । सवैमुलुक विना हतियार मानव जीवन सुरक्षार्थ लडिरहेका छन् । कुन ठूलो कुन सानो राष्ट्र समान हैसियतामा उभ्याइदिएको छ कोरोना भाइरसले । नाथे रुपैयाँं पाँचको मुखवन्दिको अभाव विश्वका सम्बृद्ध र शक्ति राष्ट्रले झेल्नुपरेको छ । स्वास्थ्य क्षेत्रमा अब्वल मानिएका, यस अघिका इवोला,स्वाईनफ्लु जस्ता भाइरस विरुद्ध औषधि बनाउन सफल मुलुक र अहिले पनि कोरोनाभाइरस विरुद्धको औषधि बनाउन क्षमाता राख्दछ । त्यस्ता मुलुक सवैभन्दा बढि प्रभावित भएका छन् । धनजनको क्षति तिनै मुलुकले बढि व्यहोर्न परिरहेको छ । आजको दिन सम्ममा विश्वभर संक्रमितको संख्या ३४ लाख २७ हजार पुगेको छ । मर्नेको संख्या २ लाख ४३ हजार रहेको छ भने १० लाख ९३ हजार भन्दा बढि संख्यामा निको भएर घर फर्किएका छन् । 

 

स्रोतसाधन,जनशक्तिको कमी, स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच पुगिनसकेको हाम्रो जस्तो गरिव, मुलुकमा कोरोनाभाइरसको कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन । उपचारबाट निकोभई घर फर्किएकाको संख्या बढ्दै गएको छ । संक्रमित न्यून संख्यामा सिमित छ । प्रभावित क्षेत्र र जिल्ला सानो घेरामा ल्याउन सकिएको छ । अन्य मुलुककोे तुलनामा हामी धेरै सुरक्षित रहेका छौं । विश्वमा नेपाल उच्च जोखिमबाट उम्किन सफल भएको छ । राज्यले सही समयमा लिएको लकडाउनको निर्णय र आम नगरिक सचेत भइ नियमको पालन गरेको परिणाम हो यो । 

 

महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न अहिले सम्मको प्रभावकारी उपाय लकडाउन मानिएको छ । करिब आधा विश्व अहिले लकडाउनमा छ । यसको अलवा आवश्यकता र परिवेश अनुसार मुलुकहरुले विभिन्न रणनीति अपनाउँदै आएका छन् । त्यस्ता रणनीतिको प्रभावकारीता त्यसको परिणाम र देखिएका कमिकमजोरी केलाई लिईने निर्णय यतिवेला महामारी नियन्त्रण तथा रोकथाम गर्न बढि प्रभावकारी हुन सक्दछ । 

 

बेलायत, अमेरिका र इटलीमा ज्येष्ठ नागरिकका विषयमा देखिएको कमजोरीले धेरै प्रश्न उब्जाइ दिएको छ । यस्ता कमजोरी सच्याउँदै अन्य देशले आफना नागरिकको सुरक्षा गर्न जरुरी छ । कोरोनाले बढि प्रभावमा पारेको राष्ट्रमा भएका कमजोरीलाइ हेरौँ–

 

इटलीको कमजोरी लीउँ, ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई उपचारमा प्राथमिकतामा नराख्ने निर्णंय । सावधानी र संयम अपनाएर चल्नुपर्ने वेलामा अत्तालिएर बाच्न पाउने मानव अधिकारको ख्यालै नगरी यस्तो निर्णय गर्नपुग्यो । जसले ज्येष्ठ नागरिकलाई हतोत्साहित बनाईदियो । समयमै उपचार पाउन सकेनन् । आत्मबल दह्रो बनाउन पर्ने बेलामा कमजोर बनाइदीयो । परिणाम, मृत्यु हुनेको संख्यामा ज्येष्ठ नागरिक धैरै हुन पुगे । 

 

वेलायत लगायत युरोपियन युनियन राष्ट्रहरुको कमजोरी लीउँ, केयर होम र नर्सीङ होममा रहेका ज्येष्ठ नागरिकलाई ध्यान पुर्‍याउन सकेनन् । कोरना भाइरसको जोखिम ज्येष्ठ नागरिकमा बढि हुन्छ भन्ने कुरा भाइरस संक्रमणको सुरुवाती दिनमै आइसकेको कुरामा ध्यान पुर्‍याउन नसक्दा वेलायतमा करिव पाँच हजार भन्दा बढि नर्सीङ होम र केयर होममा रहेका ज्येष्ठ नागरिकको मृत्यु हुन पुग्यो । जसको विवरण कोरनाभाइरसको कारणले मृत्यु भएको संख्यामा छुट्न गयो । बेलायती सरकारको ध्यान अस्पतालमा रहेका विरामीमा मात्र गयो । बेलायतमा संक्रमित र मृत्यु भएकाको तथ्याङ्क ठिक नभएको र भनिए भन्दा बढि भएको भन्दै असन्तुष्टि प्रकट भएको छ । अन्य युरोपियन मुलुलले पनि नर्सीङ होम र केयर होममा रहेका ज्येष्ठ नागरिकलाइ ध्यान पुर्‍याउन नसकेको कुरा बाहिर आएसंगै सवैलाइ चिन्तित र आतङकित बनाएको छ । 

 

अमेरिकाको कमजोरीलाई लिउँ, नर्सिङ होम र केयर होममा रहेका ज्येष्ठ नागरिकको अझैपनि परिक्षण हुनसकेको छैन । केयर होममा परिक्षण गर्ने किट पुर्‍याउन सकेको छैन । रिचमन्डस्थित एउटै नर्सिङ केयर होममा हालसम्म ४९ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ । त्यस्तै बुकलिनमा रहेको एउटै नर्सीङ केयर होममा ५५ जनाको मृत्यु भएको छ । दुई महिनाको अवधिमा विभिन्न केयरहोममा रहेका ११ हजार ज्येष्ठ नागरिकहरुको मृत्यु भइसकेको छ । यति भईसकेपछि बल्ल प्रभावित नगरका मेयरहरुले नर्सिङ होमलाई प्राथमिकतामा राख्ने जनाएका छन् । बिदेशमा ज्येष्ठ नागरिकहरु वस्ने घरलाई नर्सिङ होम वा केयर होम भनिन्छ । हामी कहाँ बृद्धाश्रम भन्ने गरिन्छ ।

 

यस्तै कमजोरीको सिकार हाम्रा ज्येष्ठ नागरिक हुन नपरोस् । राज्यदेखि समुदायसम्म यस कुरामा सजग भई बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सुरक्षित राख्न अग्रसरता लिनु पर्दछ । उनीहरुको परिक्षण गर्न ढिला भईसकेको छ । अन्यथा विदेशमा भएका गल्ती हामी कहाँ पनि नदोहोरिएला भन्न सकिन्न । 

 

काठमाडौं उपत्याकामा सामुदायिक र निजी कंंम्पनी गरी करिब ५५ वटा बृद्धाश्रम रहेका छन् । धेरै जसो सामुदायिक बृद्धाश्रम रहेका छन् । अधिकांंश बृद्धाश्रमहरु दान दातव्यबाट चलेका पाइन्छन् । लकडाउनको समयमा बृद्धाश्रममा देखिएका समस्यालाई यहाँ उल्लेख गरौं ।  

 

स्वयंसेवी, इन्टर्न गर्ने बिद्यार्थी र दाता आउन नसक्ने अवस्था भएकोले स्याहारकर्ताको अभाव,औषधि उपचार र राशनपनि सम्मको समस्या देखिन थालेको छ । उपचार गर्न गराउन अस्पताल, ल्याव र औषधि पसल आउ–जाउ गरिरहनपर्ने हुन्छ । सरकारले उपलब्ध गराउने पास वृद्धाश्रमका कर्मचारीले पाउन सकेका छैनन् । २० प्रतिशत ज्येष्ठ नागरिकमा पहिले नै दिर्घरोग रहेको हुने अध्ययनले देखाएको छ । स्वास्थ्य सेवा समयमा पाउनु उनीहरुको लागि अति जरुरी हुन्छ । तर यसो हुन सकिरहेको छैन। 

 

स्वास्थ्य संस्थाले ज्वरो आएको ज्येष्ठ नागरिकलाई उपचार गर्न नमानेका, एक अस्पतालले अर्को अस्पतामा पठाएका समाचार आइसकेको छ । बुढाबुढी बोक्न एम्वुलेन्स मान्दैन । 

 

स्थानीय सरकारको तर्फबाट केही नभएको भने होइन । औषधि,रासन र सुरक्षा सामग्री वितरण भएको छ । तर बन्दाबन्दी लम्मिदा अपुग हुँदै गएको छ । कोरोना भाइरसको संक्रमण बृद्धाश्रममा फैलियो भने एकै थलोमा धेरैको ज्यान जान सक्ने संभावना हुन्छ । संरक्षण र सुरक्षा गर्नुपर्ने राज्यको दायित्वभित्र रहेका ज्येष्ठ नागरिक प्रति बिशेष ध्यान दिनुपर्ने हुन्छ । यसै प्रसंगमा यतिवेला राज्यको तर्फबाट ज्येष्ठ नागरिकको क्षेत्रमा निम्न कार्य गरिहाल्न पर्ने आवश्यकता देखिन्छ ।

 

१. बृद्धाश्रमका कर्मचारीलाई आवागमनमा पास उपलव्ध गराउने,

 

२. बृद्धाश्रम र आफनै घरमा रहेका ज्येष्ठ नागरिकलाई अस्पताल लान ल्याउन जगेडा एम्बुलेन्सको व्यवस्था गर्ने,

 

३. संबद्ध निकायका अधिकारीबाट समय समयमा बृद्धाश्रमहरुको अनुगमनगरी देखिएका समस्याको समाधान गर्दै जाने,

 

४. बृद्धाश्रममा रहेका सवै ज्येष्ठ नागरिकहरुमा संक्रमणको परिक्षण गर्ने,

 

५. लकडाउन अवधिको लागि बृद्धाश्रममा नै गएर स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने, 

 

६. बृद्धाश्रमलाइ सुरक्षाका साधन स्रोत उपलब्ध गराउने, 

 

७. उपचार गर्न नमान्ने, औपधि उपलब्ध नगराउने, ज्येष्ठ नागरिक भएकै कारणले उपचारमा विभेद गर्ने जस्ता कार्य उपर उजुरी लिने र तत्काल आवश्यक सेवा दिलाउन राज्यको तर्फबाट एउटा कमिटी परीचालन गर्ने, 

 

८. सामुदायिक बृद्धाश्रमलाई राहत तथा अनुदान उपलब्ध गराउने ।


अन्य देशमा भएका कमिकमजोरीका काररण हुन पुगेको मानविय क्षतीबाट सजगभई यति व्यवस्था मिलाउन सकिएको खण्डमा हाम्रा ज्येष्ठ नागरिलकलाई कोरोनाभाइरसका महामारीबाट सुरक्षित राख्न सकिनेछ । यसमा सरकारको ध्यान जान जरुरी छ ।

 

प्रतिक्रियाको लागि : pgautama2@gmail.com

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार