• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

कोरोनाभाइरसले मृत्यु हुनेको सख्या ८० नाघेको पुष्टि

चीन । चीनमा कोरोनोभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या असी नाघेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

 

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन्। अधिकारीहरूले उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको सोमवार बताएका छन्। यसअघि त्यहाँ ५६ जनाको मृत्यु भएको थियो।

 

मृत्यु हुने अन्य पाँच व्यक्ति अरू ठाउँका हुन्। सङ्क्रमणको केन्द्रमा रहेको उक्त प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ। स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन्।

 

थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ। सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। ज्यानुअरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।

 

यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए। लक्षण देखिनु अघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ।

 

बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, 'यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ। जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ । 'तर उनका अनुसार उक्त भाइरसको सङ्क्रमण हुँदा ज्यान जाने सङ्ख्या कम भएको देखिन्छ। सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ।

 

कोरोनाभाइरसको सङ्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन्। चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

 

चिनियाँ नयाँ वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश 'गम्भीर परिस्थिति' मा रहेको बताएका थिए।

 

कहाँकहाँ फैलिएको छ ?
कोरोनाभाइरस चीनबाट अन्यत्र पनि फैलिसकेको छ। तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ। अहिलेसम्म चीनबाहिर कम्तीमा ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन तथा सम्बन्धित देशले बताएका छन्।

 

कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन्।

 

थाईल्यान्ड : ८

अमेरिका, अस्ट्रेलिया : ५/५

सिङ्गापुर, ताइवान, मलेशिया, दक्षिण कोरिया : ४/४

फ्रान्स, जापान : ३/३

भियतनाम : २

नेपाल, क्यानडा : १/१

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार