• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

यस्तो छ चीनमा देखिएको भाइरसको लक्षण ,सजग हुन चिकित्सकहरूको आग्रह

काठमाडौं । पहिलो पटक देखिएको एक प्रकारको भाइरसका कारण चीनको वुहान शहरमा दोस्रो व्यक्तिको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ।

 

वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.शेरबहादुर पुनले शुक्रवार बीबीसी न्यूज नेपालीलाई बताए। 'ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएका उनलाई जनवरी १३ देखि भर्ना गरिएको हो,' पुनले थपे।

 

पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ। चन्द्रमान पात्रो अनुसारको नयाँ वर्ष मनाउनका लागि आउँदा हप्ताहरूमा चीन र अरू एशियाली मुलुकमा लाखौँ मानिसको चहलपहल हुने भएकोले यो भाइरस फैलिन सक्ने डर छ। वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको सङ्क्रमण देखिएको थाइल्यान्ड र जापानले बताएका छन्।

 

चिनियाँ अधिकारीहरूका अनुसार नयाँ प्रकारको कोरोनाभाइरसका कारण पछिल्लो पटक मृत्यु हुनेमा गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षीय वृद्ध रहेका छन्।चिकित्सकहरूका टोलीले सो भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चिनियाँ अधिकारीहरूले बताएका छन्। 'सीफूड' विक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको ठानिएको छ।

 

लक्षण के हुन् ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।

ज्वरो आउनु र खोकी लाग्ने

छिटोछिटो सास फेर्नु

श्वासप्रश्वासमा कठिनाइ हुनु

गम्भीर भएमा निमोनिया हुनु

सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ


कसरी जोगिन सकिन्छ ?
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने

खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

मासु र अण्डा राम्रोसँग पकाएर खाने

कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार