• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
विचार

श्रद्धाञ्जली–एक सदाबहार बिद्रोही नेतालाई

भरत शमशेर राणासंग प्रत्यक्ष भेट हुने सौभाग्य मिलेन तर तिनका विषयमा सुन्ने जान्ने अवसरहरु भने केटा केटी हुँदा देखीनै  मिलेको हो। नब्बे वर्ष पुग्न लाग्दा तिनको देहावसान भएको खबर समाचार पत्रहरुमा पढ्दा लाग्यो मुलुकले एक बिद्रोही नेतालाई सदाका निमित्त गुमायो। भरत शमशेर जंगबहादुर राणा प्रति श्रद्धाञ्जली ज्ञापन गर्ने हेतुले तिनका विषयमा सुनेको र पढेका बस्तुहरु  समावेश गरेर पस्कीएको छ यस आलेखमा ।

 

बुवा (गंगा बिक्रम सिजापती) अलाहबाद विश्वविद्यालयबाट कृषि विषयमा स्नातक अध्ययन समापन गरेर पञ्जाव विश्वविद्यालय लायलपुर ९हाल पाकिस्तान०मा स्नातकोत्तर अध्ययन गर्दैगर्दा काठमाडौं झिकाइएछ। उहाँलाई कृषि परिषद्का डाइरेक्टर जनरल केशर शम्सेरले उक्त परिषद्को असिसटेन्ट डाइरेक्टर (सुब्बा स्तर)को पदमा नियुक्ति गरे । त्यस समयको प्रचलन अनुरुप कृषि परिषद्संग सम्बन्ध नभएको कार्य जनरल बबर समशेरका तीन नातिहरु लाई तिनकै दरबार बबर महलमा गएर दैनिक पढाउनु पर्ने अभिभारा थपिएको थियो । केशर शमशेरले नियुक्ति पत्र थमाउँदै भनेका थिए रे “मृगेन्द्र शमशेरको छोरोहरु मध्ये भरत र आदित्य अली उदण्ड स्वभावका छन्, ति दुई बाट होसियार होउ ।”  जन्मीदै जर्साव पदवी पाएका रोलवाला राजकुमारहरुलाई बबर महलका अर्का शिक्षक राम प्रसाद जोशीले पनि बुवालाई “अत्यन्त चकचेक र उभद्र भरत शमशेर”लाई तह लगाउन कठिन छ होस गर्नु भन्ने सल्लाह दिएका थिए ।उनीहरु झ्याल तर्फ फर्किए भने बाहिर मात्र हेरी रहने, आफु झ्याल तर्फ फर्कने र अनी उनीहरु लाई आफु तर्फ वा भित्ता तर्फ फर्काएर राख्ने व्यवस्था मिलाउनु भएछ बुवाले ।

 

एक दिन भरत शमशेर पढ्दा पढ्दै जुरुक्क उठेर कोठाबाट बाहिर निस्के रे अनि फर्कदा तिनको हातमा दुई नाले टोयल बोर बन्दुक थियो । बुवा अचम्मित हुँदा हुँदै भरत शमशेरले झ्याल बाहिर आकाश ताकेर बन्दुक पड्काएछन्। कानको जालो फुटने गरेर बन्दुक पडकेको आबाज सुने पछि दिमागी सन्तुलन गुम भएछ अनि बन्दुक खोसेर भरत शमशेरको गालामा बुवाले एक चडकन हान्नु भएछ।“पढ्दा पढ्दै हजुरले यस्तो बदमासी गर्ने” भन्नु भएछ । भरत शमशेर अचम्मित भएर आँखाबाट आशु झार्दै आफनो गाला सुम्सुमाउन थालेछन् । बुवालाई बबर शमशेरको नातिको गालामा चड्कन हाने बापत पाइने सजायको भय ले पिरोल्न थालेछ । त्रासले गर्दा उहाँलाई रात भर निन्द्रा लागेन रे ।  दुनियाँ रैतीको छोरोले चन्द्र शमशेरको पनातिको गालामा थप्पड हाने बापत अकल्पनीय विपत्तिको सामना गर्नु पर्ने निश्चित थियो। भोली पल्ट डराई डराई बुवा पढाउनुको साटो मृगेन्द्र शमशेरको ढोका कुर्न पुग्नु भयो रे। जनरल मृगेन्द्रले “नानीहरुलाई पढाउने समयमा तिमी यहाँ किन आएको ?” भनेर हकारे छन्। बुवा लुरुक्क परेर पढाउने कक्षामा पुग्नु भएछ । भरत शमशेरले आफ्ना विरुद्ध सिकाएत नगरेको एकिन भएछ। ज्यान जोगियो ठूलो विपतबाट जोगिएको महसुस भयो। त्यस पश्चात भरत शमशेरले अर्को बितण्ड मच्चाएनन् अर्को चार पाँच वर्ष सम्म।बुवाको भनाइ अनुसार भरत शमशेरले आफूले गरेको गल्ती महसुस गरेरनै जीवनमा पहिलो पटक रैती दुनियाँको छोरोको चडकनलाई सहेका थिए । भरत शमशेर चञ्चल स्वभावका भए पनि तिक्ष्ण विद्यार्थी थिए। तिनलाई बुवाले बिज्ञान, भूगोल, गणीत र कृषि विषयहरु पढाउँने गर्नु हुन्थ्यो । भरत शमशेर अन्य दुई भाइ आदित्य शमशेर भन्दा तेज दिमागी विद्यार्थी थिए। मधवी विद्यार्थी भएको कारणले हुन सक्दछ  तिनले बम्बे विश्वविद्यालयबाट स्नातकोत्तर गर्न सफल भएका हुन्।

 

भरत शमशेरका बाजे रोलवाला प्रधानमन्त्री एवम् कमान्डिङ्ग जनरल बबर शमशेर कडा स्वभावका कट्टरपन्थी पुरातनवादी थिए। पद्मम शमशेरलाई शासन त्यागेर मुलुक छोडने अवस्थामा पु¥र्याउनेमा तिनको ठुलो भूमिका थियो। दाजु श्री ३ महाराज मोहन शमशेर कमजोर शासक भएको हुनाले गर्दा जनताले  बिद्रोह गर्न सकेको भन्ने तिनको विश्वास थियो। आसेपसेहरु पनि तिनलाई सत्ता हत्याउन उकास्ने गर्थे । पदम शमशेरलाई जस्तै गरेर मोहन शमशेरलाई लखेटेर शासन भार सम्हाल्नका निमित्त। राणा परिवारका कट्टर पन्थिहरु जुनसुकै हालतमा पनि राणाहरु ले मुलुकको  शासन भार गुमाउँनु हुदैन,जनबिद्रोहलाई दमन गर्नु पर्दछ भन्ने मान्यता राख्थे । २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुंगिए पछि त्यस समूह नेताको खोजीमा थियो। त्यस व्यक्ति जसले मुलुकमा आतंक मच्चाएर जनताका प्रतिनिधिहरु शासन सम्हाल्न सक्षम छैनन् त्यसकारण राणा शासन पुनः फर्काउने कार्य गर्न सकोस् । मोहन शमशेरको प्रभावकारी छोरा विजय शमशेर राणा शासन फर्कदैन भन्नेमा विश्वस्त थिए। त्यसै गरी मोहन शमशेरका अति चतुर नाम आर्जेका भाई केशर शमशेर राजनैतीक तौल बटुल्न थालेको दरबारलाई खुशी राखेर आफ्नो स्थान सुरक्षित तुल्याउने पक्षमा थिए। अर्का पढेलेखेका राणा बबर शमशेरका छोरा मृगेन्द्र शमशेर पनि राणा शासन अवसान भयो अब फर्कदैन भन्ने मान्यता राख्थे । 


त्यसकारण राणा शासन छोड्नु हुदैन भन्ने राणाहरु र तिनका आठपरीयाहरुका निमित्त भरत शमशेर आशाका केन्द्र थिए। मोहन शमशेर र बबर शमशेरले राणा समर्थक राजनैतीक दल निर्माण गर्नका लागि भारतबाट गोर्खा लिगका नेताहरु रणधीर सुब्बा र प्रकाश चन्द ठाकुर नेपाल भित्र्याएर । त्यस पार्टीको नेतृत्व भरत शमशेरका पिता मृगेन्द्र शमशेरको मातहमा थियो। उक्त दलको हर्ताकर्ता भने भरत शमशेर थिए । भरत शमशेरले आतंक फैलाउने अनी सेनालाई साथ लिएर बिद्रोह मच्चाएर सक्ता कब्जा गर्ने रणनीति अख्तियार गरे।जसका लागि खुकुरी दल गठन गरियो । यस दलका सदस्यहरु  हातमा नाङ्गो खुकुरी नचाउँदै हिडे । त्यस समुहले खास गरी काठमाडौँको वरपर आतंक मच्चाउन थाल्यो। गृह मन्त्री एवम् २००७ सालको क्रान्तिको नायक विशेश्वर प्रसाद कोइराले उक्त दलका प्रमुखहरु भरत शमशेर, बेनिबहादुर कार्की, रणधीर सुब्बा आदी नेताहरुलाई गिरफ्तार गर्ने आदेश दिए।

 

थुनामा परेका भरत शमशेरलाई सेन्ट्रल जेलबाट खुकुरीदलका तीन चार सय जवानहरु ले भगाए। त्यस पश्चात उनीहरु मध्येको एउटा जथा भरत शमशेरलाई लिएर सिंहदरबार तर्फ गयो भने अर्को गृहमन्त्रीको त्रिपुरेस्वर निवासमा  सांघातिक हमला गर्न । चार घोडे बग्गी सवार भरत समशेर परेड खेल्दै गरेका सैनिक जवानहरुलाई भडकाउन थाले। कायम मुकायम कमाण्डर इन चीफ केशर शमशेरले सेनालाई आफनो नियन्त्रणमा राखे भने स्वतस्फुर्त निस्केको जनताको जुलुसले भरत समशेरलाई घेरेर लछार पछार तुल्याए। यो घटनाले नेपालको इतिहासलाई अर्कै घुम्तीतर्फ अग्रसर तुल्यायो। राणा(कांग्रेस सरकार जसको मूल उद्देश्य संविधानसभाको चुनाव गराउनु थियो त्यो बिघटन हुन पुग्यो। शक्ति सञ्चय उन्मुख नारायणहिटी दरबारका निमित्त सैनिक शक्ति समेत आफनो मातहमा राख्ने अवसर मिलायो । यस घटना पश्चात् नारायणहिटी दरबारमा दुई बटालियन सेना राख्ने प्रावधान भयो अनि राजा सेनाको सर्वोच्च कमान्डर बने । संविधान सभाको गठनका निमित्त मुलुकबासीलाई एउटा कुदाता, दश वर्ष लामो माओवादीको जनयुद्ध र दुर्इ जनआन्दोलन गरि सात दशक कुर्नु पर्‍र्यो।   

 

उक्त घटना पश्चात राणा परिवार दुई खेमामा विभक्त हुन पुगे। प्रथम पंक्तिले राजा त्रिभुवनलाई शक्तिशाली तुल्याउँदै आफ्नो स्वार्थपूर्ति तर्फ अग्रसर भयो। यस खेमाको बौद्धिक नेतृत्व केशर शम्शेरले गरे भने अर्को खेमा परिवर्तित अवस्थालाई सम्झौता गर्दै मुलुकमा एउटा राष्ट्रवादी दक्षिणपन्थी राजनैतीक शक्ति निर्माणमा जुट्यो । दोश्रो पक्तिको नेतृत्व बावु छोरा मृगेन्द्र र भरत शमशेरले गरे। जब राजा महेन्द्र र  मृगेन्द्र शमशेरबीच मित्रता गासिन थाल्यो त्यस पश्चात् भरत शमशेर आफ्नै बावुको बिरुद्ध विद्रोहमा गोरखा दल भित्र उत्रिए । पिता मृगेन्द्रलाई गोर्खा परिषदको नेतृत्वबाट विस्थापित गर्न तिनी सफल भए । यस कार्यमा तिनलाई रणधीर सुब्बा तथा बेनी बहादुर कार्कीको अपार सहयोग मिल्यो। पिता मृगेन्द्रलाई विस्थापित गरेर १९ संसदहरु भएको संसदीय दलको विपक्षी नेता भरत शमशेर स्वयम भए । त्यस पश्चात तिनको सम्बन्ध बीपीसंग निकट हुँदै गयो। त्यो सम्बन्ध यती प्रगाढ भयो कि नेपाली कांग्रेसका केही सांसदहरुले बिद्रोह गर्ने लक्षण देखा परे पछि प्रधानमन्त्री बीपीले विपक्षी दल गोर्खा परिषदको सहयोगमा सरकार गठन गर्न आफू तयार भएको घोषणा नेपाली कांग्रेसको संसदीय दलको बैठकमा गरे ।

 

राजा महेन्द्र र भरत शमशेरबीच वैमनश्यता थियो। व्यक्तिगत देखी राजाको सत्ता आफनो कब्जामा राख्ने मनसाय र भरत शमशेरको बिद्रोही स्वभाव थियो । मंसीर महिनाको अन्त्यमा राजा महेन्द्रले जुन दिन कु दाता गरेर ९पौष १०सक्ता आफ्नो हातमा ल्याए त्यही दिन भरत शमशेरलाई नारायणहिटी दरबारमा बोलाएका थिए। सक्ता हत्याए पछि तिनले भरत शमशेरलाई आफूलाई सहयोग गर्न र गठित मन्त्री मण्डलमा सामेल हुन अह्राए । बबर महलको सान औकात , परिवार र राजा बाट पाइने पद र त्यस बाट प्राप्त हुने सुःख सुविधा सबैलाई त्यागेर तिनी भने निर्वास तर्फ लागे । सुबर्ण शमशेरको नेतृत्वमा शुरु हुन लागेको शसस्त्र क्रान्तिमा होमिए अनि आफ्नो दललाई कांग्रेसँग बिलय गराए त्यो पनि बिना कुनै शर्त र सौदाबाजी । भारतीय सरकारको प्रेसरमा सुबर्ण शमशेरले क्रान्ति स्थगन गरे पश्चात् भने भरतको राजनीति तर्फको  मोह भंग भएको आभास पाइन्छ। राजासंग माफी मागेर देश फर्कनुको साटो तिनले भारतमा बसेर चलचित्र संसारमा संलग्न हुन रुचाए। समृद्ध भरत शमशेर बाट बीपी ले अपेक्षा गरे अनुसारको आर्थिक सहयोग जुटाउन सकेनन् निर्वासमा रहेर शसस्त्र क्रान्तिको घोषणा गर्दा । जनमत संग्रहमा पाएको आम माफीको सहुलियत लिएर नेपाल भित्रिएका भरत शमशेर बहुदल प्रचारमा खटिए। तिनले ज्ञानेश्वरमा पढेको भाषणमा भनेका थिए “यहाँ जनतालाई हात्तीले कुल्चनेको इतिहास रचिनछ त्यसकारण मलाई इतिहासमा आफनो स्थान राख्ने चाहना छैन। ”

 

पहिलो जनआन्दोलनको सफलता पश्चात नेपाल भित्रिएका भरत शमशेरको गिरिजाप्रसाद कोइरालासंग मोह भंग भैसकेको थियो। तिनी गणेशमान र कृष्ण प्रसाद भट्टरार्इसंग नजीकिए। गिरिजाप्रसादलाई संसदीय दलको नेता घोषित गरे पछि तिनको कृष्ण प्रसादसंगको मोह भंग भयो । गणेशमान सिंहलाई गिरिजाप्रसाद लाई प्रधान मन्त्री रहन  छ महिनाको समय अवधि तोकाउने कार्य यिनकै प्रभावमा भएको थियो। जुन दीन गिरिजाप्रसादले सपथ ग्रहण गरेका थिए सुन्नमा आए अनुसार त्यस दिन कसरी गिरिजाप्रसादलाई पदच्युत गर्न सकिन्छ भनेर भरत शमशेरको नेतृत्वमा एउटा नेपाली कांग्रेसका नेताहरुको कार्यदल प्रधानमन्त्रीलाई पदच्युत गर्ने रणनीति तर्जुमाका निमित्त जुटेको थियो ।

 

भरत समशेर निश्चय पनि हाम्रो क्षितिजमा यस्ता नेता थिए जसको लक्ष्य बिद्रोह थियो। निरन्तर बिद्रोह गर्ने नेपाली नेताहरुको कुनै दिन निश्पक्ष खोज भयो भने निश्चित छ तिनको नाम अग्र पंतिमा रहने छ। बिपन्न वर्ग र दलीतहरु को हितका निमित्त लड्ने  चाहना तिनीसंगै गयो। अनी मुलकलाई प्रजातान्त्रीक समाजवादी राष्ट्रमा परिवर्तन गर्ने तिनको धोको पनि उनीसंगै कलकत्ताको स्वास्थ्य शिक्षण संस्थामा बिसायो । 

            


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार