• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

चिकित्सा शिक्षा आयोगको निर्देशकमा चार चिकित्सकको नाम सिफारिस

काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ४ वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्राडा रमेशप्रसाद आचार्य, प्राडा संगरत्न वज्राचार्य, प्राडा दिलीप शर्मा र प्राडा आरती साह छन् ।

 

आयोगले कात्तिक १९ गते एक सूचना जारी गरी आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको थियो । ती पदमा २६ ले निवेदन दिएको आयोगले जनाएको छ । तीमध्येबाट चारजनाको सिफारिस भएको बताइएको छ तर यसबारे आयोगले केही सार्वजानिक गरेको छैन ।

 

राष्ट्रिय चिकित्सा ऐन, २०७५ ले आयोगमा ४ निर्देशक पदको व्यवस्था गरेको छ । आयोगको सूचनामा निर्देशक पदमा आफ्नो व्यक्तिगत सोच, वैयक्तिक विवरणसहित कात्तिक २१ गतेसम्म विवरण बुझाउन भनेको थियो । ती ४ निर्देशनालयमा मापदण्ड तथा प्रत्यायोजन, योजना समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज छन् ।

 

ती पदका समयावधि ४ वर्षको रहने ऐनमै उल्लेख भएको छ । ऐनमा ‘उपदफा ६ बमोजिम समितिले निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित दक्षता र कम्तीमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यावसायिकता भएका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ ।

 

साथै ‘निर्देशक पदको नियुक्तिका लागि उपाध्यक्षसमक्ष नाम सिफारिस गर्न अध्यक्षले तोकेको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्बन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको ३ सदस्यीय सिफारिस समिति गठन हुने छ’ भन्ने ऐनको प्रावधान रहेको छ । प्रावधानअनुसार आयोगका सदस्य उषा झाको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो ।

 

निर्देशक पदको नियुक्ति प्रक्रिया सुरु गरिएको १५ दिनभित्र समितिले निर्देशकको नाम उपाध्यक्षसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । आयोगले कात्तिक १८ गते पूर्णता पाएको थियो । सरकारले आयोगका सदस्य मनोनयन गरेकामा उपकुलपतिमध्येबाट त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् ।

 

स्वास्थ्यसम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायत आधिकारिक पेसागत संगठनका अध्यक्षमध्येबाट अध्यक्ष एसोसिएसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिस्ट अफ नेपाल र नेपाल नर्सिङ संघ छन् ।

 

यसैगरी आयोगका सदस्यमा नागरिक समाजका लब्धप्रतिष्ठित कम्तीमा एक महिलासहित दुईमा डा। रमेशकान्त अधिकारी र डा। गीता गुरुङ तथा चिकित्सा शिक्षा विज्ञमध्येबाट समावेशी सिद्धान्तका आधारमा कम्तीमा २ महिलासहित ३ जनामा प्राडा दिव्यासिंह शाह, प्रा डा. शैली प्रधान र प्राडा जगदीश अग्रवाल छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार