• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

‘टिकट मात्रै बेचेर रंगमञ्च बचाउने स्थिति छैन’

रंगमञ्चमा कहिले र कसरी काम सुरु गर्नुभयोे ?
संविधानसभाको पहिलो चुनावताका गुरुकुलमा नाटक हेर्न जान थालेको थिए । त्यतिबेला विश्वविद्यालयमा भर्ना भइसकेको थिए । विद्यार्थीहरु मिलेर नाटक गर्ने कुरा भयो । गुरुकुलले पनि सहयोग गर्ने बचन दियो । लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तललाई नाटक रुपान्तरण गरे । साथीहरुलाई स्क्रिप्ट बुझाउँदासम्म निर्देशन पनि आफैंले गर्नुपर्छ भन्ने लागिसकेको थियो । प्रस्ताव गरे । सर्वसम्मत भयो । त्यही नाटक हेर्न आउँदा दयाहाङ राई, सृजना सुब्बा र राजन खतिवडासँग चिनजान भयो । वहाँहरुले भर्खर मण्डलाको अवधारणा बनाउँदै हुनुहुन्थ्यो । पछि गुरुकुलमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै गर्दा विदेशी पाहुनाहरुलाई एयरपोर्ट लिन पुर्‍याउन जाने काम पाए । २ हप्ता पछि महोत्सव त सकियो, रंगमञ्चमा काम गर्ने सपना चैं शुरु हुँदैरैछ । त्यसपछि यतै रमाउन थाले ।


तपाईंको बुझाईमा के रहेछ रंगमञ्च ?
आफूलाई शक्तिशाली बनाउने ठाउँ रहेछ । यो शक्तिले अरुलाई दमन गर्न सिकाउँदैन । सह–अस्तित्व सिकाउँछ । आफू शक्ति सम्पन्न भएको थाहापाएपछि त्यो शक्ति अरुलाई बाँड्ने ठाउँ रहेछ रंगमञ्च । 


तपाईंले छोटो समयमा धेरै अवसर पाउनुभएको हो ? 
हो ।

 


 

मण्डला थिएटरमा तपाईंको जिम्मेवारी के हो ? कसरी मण्डलाले तपाईंलाई विश्वास गर्यो ?
म आउँदा मण्डलामा हामी अहिलेका थोरैजना थियौं । पछि थपिदै गयौं । सायद काम, दाम र नामको अनिश्चितताले गर्दा होला, धेरैजना आउने जाने भईरहनुभएको थियो । आएका मध्ये केहीले सहकार्य गर्ने निर्णय गर्‍यौं । दुःखजिलो गरेर नाटक घर बनायौं । कामलाई तिब्रता दियौं । हामी सवैले सवैलाई यसरी नै विश्वास गर्‍यौं । कहिलेकाहिँ एकअर्कालाई शंका र प्रश्न पनि गर्‍यौं । यी सवै प्रक्रियाले हामीलाई एकअर्का प्रतिको साझा धारणा बनाउन सहयोग पुर्‍यायो जस्तो मलाई लाग्छ । लामो समय मैले समूहमा संयोजनको जिम्मेवारी लिए । एक समय कार्यसमितिको सचिव पनि भए । संस्थागत हिसावले अहिले साधारण सदस्य छु । रंगमञ्चलाई सामाजिक रुपान्तरणका लागि प्रयोग गर्न र त्यस अनुरुपका कार्यक्रमहरु बनाउन तथा कार्यान्वयन गर्न बनाइएको समिति अन्र्तगत काम गर्छु । यसबाहेक संस्थाको अभिलेख राख्ने अनि मौका र समय मिल्दा नाटकमा अभिनय गर्ने, लेखन निर्देशनमा सघाउने, तालिम कार्यशाला सञ्चालन गर्दै आएको छु ।


खासमा थिएटरमा तपाईंको दक्षता के हो ?
यो एउटा खतरनाक पेशेवर प्रश्न हो । मिडिया अन्तर्वार्तामा यो प्रश्न सोधिने सायद पहिलो मानिस म हुँला । (जागिरको अन्तर्वार्तामा यस्तो प्रश्न धेरैले सामना गर्छन्, मैले पनि गरेको छु।)  तर वास्तवमै म सँग त्यस्तो विशेष दक्षता छैन । भएको भए नेपाली रंगमञ्च अझ समृद्ध, व्यवस्थित र खुशी हुन्थ्यो होला । अथवा यो प्रश्न सुनेर म यति आत्तिने थिइन होला । मलाई सहजीकरण गर्न मन पर्छ । त्यही गर्न सिक्दैछु । 

 

मण्डलामा राजन खतिवडा, दयाहाङ राई पछि तपाईंको निर्णय चल्छ जस्तो मलाई लाग्छ । कुरा के हो ? तपाईंले अरु सदस्यहरु भन्दा कलात्मक हिसावले कुन पक्षमा उल्लेख्य योगदान गरे जस्तो लाग्छ ?
मण्डलामा मेरो, दयाहाङ राई, राजन खतिवडा वा अरु कसैको मात्र निर्णय चल्ने भएको भए आज मण्डला रहँदैनथ्यो होला । अझ म त शुरु नै हुँदैन थियो भन्छु । सामूहिक छलफल गरेर निर्णय गर्ने हाम्रो एउटा प्रक्रिया छ । तुलनात्मक रुपमा मैले उल्लेख्य योगदान गरेको जस्तो दावी गर्ने आधार म सँग छैन । हामी सबैजना फरक विशेषता र रुची सहित काम गर्न खोजिरहेका छौं । मेरो लत चैं संयोजन र सहजीकरणमा ज्यादा बसेको छ । 

 


 

रंगमञ्च मै लागेर जीवन धान्न सकिन्छ ? तपाईंको आत्मनिर्भरता र अरु रंगकर्मीहरुको आम्दानीमा के समानता छ ?
कस्तो जीवन भन्ने कुरा मुख्य होला । गर्न सकिने के के छन् र मैले के के गरेको छु भन्ने प्रश्न आफैंलाई सोधियो भने धेरै उत्तर मिल्न सक्छ होला । रंगमञ्चलाई हामी ‘मल्टिडिसिप्लेनरी आर्ट’ भन्छौं, आफैंमा एक विस्तारित कला भएको हुनाले यसै मार्फत जे पनि गर्न सकिने र जीवन धान्न सकिने सम्भावना देख्छु म । स्टेजमा (अझ त्यो भन्दा बढी फिल्ममा) अभिनय गर्ने कुरालाई मात्र रंगमञ्च मान्ने अनि तीन महिना अभिनय सिकेको कुरालाई नै आफ्नो योग्यता मानि रहने हो भने चाहिँ यो पेशाले तपाईंलाई टिकाउन गाह्रो हुन्छ । मेरो आत्मनिर्भरता मैले गर्ने काम, मैले दिने समय, म सँग भएको रुची, सीप र प्राथमिकतामा निर्भर रहन्छ । हो, मैले पाएका अमूल्य अवसरहरु पनि यसका जिम्मेवार हुन् । 


आइएनजीओको पैसा थिएन भने तपाईंले गरिरहेको रंगमञ्चको अवस्था कस्तो हुन्थ्यो होला?
नेपालमा मात्रै होइन, विश्व जगत मै टिकट मात्रै बेचेर रंगमञ्च चलाउने÷बचाउने स्थिति छैन । अरुतिर राज्यले यदि कला बुझेको छ भने सहायता प्रदान गर्छ । नेपालमा ‘यो सरकार कलाकारहरुको सरकार हो’ भन्ने प्रधानमन्त्री हुनुहुन्छ, वहाँ कै पार्टी सम्बद्ध मेयरसाव नाटक सम्बन्धी कार्यक्रममा आउनु हुन्न तर नाटकमा बेचिएको टिकटको हिसाव खोज्दै प्रति टिकट ५ प्रतिशत मनोरन्जन कर उठाउँदै हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालयमा धमाधम एनजीओको रुपमा दर्ता भएका नाट्य संस्थाहरुले स्वभावत : आइएनजीओसँग काम गर्छन् । केही नाट्य संस्थाहरु कम्पनीको हिसावले व्यवसायिक रुपमै पनि राम्रै काम गरिरहेका छन् । आइएनजीओको सहायता थिएन भने पक्कै पनि मैले गरिरहेको रंगमञ्चको अवस्था फरक हुन्थ्यो । फरकको अर्थ यसमा अझै चुनौतीहरु हुन्थे होलान् तर चुनौतीसँग लड्ने ईच्छाशक्ति र स्रोतसाधनहरु पनि सायद बढ्ने थिए । 


स्पोन्सर खोज्न नसक्ने तर प्रतिभा भएका रंगकर्मीको लागि कसरी काम मिल्न सक्छ जस्तो लाग्छ ?
फेरि पनि कस्तो काम भन्ने प्र्र्र्रश्न आउँछ । स्टेज र फिल्ममा अभिनय गर्ने काम मात्रै हो भने तपाईंको काम रुचाउने मानिस फेला पार्नुहोस् । कसैलाई मेरो प्रतिभा प्रति रुची छैन भने म यसलाई सामान्य रुपमा लिन्छु, ताकि अरुले यसलाई असामान्य रुपमा लिउन् ।

 
तपाईंलाई लागेका समसामयिक रंगमञ्चका अब्बल रंगकर्मी वा समूह को को हुन् ?
मेरो विचारमा सवैजना उत्तिकै इमानदारीका साथ आफ्नो रुची अनुसारको काम गरिरहनुभएको छ । यसमा अब्बल, सबल या दुर्बल भन्ने नहोला । कसैका लागि प्राथमिकता फरक हुनसक्छ । सामाजिक संरचनाको हिसावले कसले अवसर बढी पायो भन्ने पनि होला । तर सवैलाई हेरेर नेपाली रंगमञ्चको भविष्य सम्भावनायुक्त छ भन्न सक्छु ।

 

प्रस्तुति : सुकृत नेपाल 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार