पोखरा एभेन्जर्स ९ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ । जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हरायो । १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ गुमाएर १३८ रन बनायो । पोखराका लागि कुशल भूर्तेलले २४ बलमा पाँच चौकासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा पनि रन जोड्न सकेनन् ।
बलिङतर्फ जनकपुर बोल्ट्सका लागि मोइन अलीले चार ओभरमा एक मेडनसहित १३ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, हरमित सिंह र सैफ हसनले समान दुई–दुई तथा जिमी निशम र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।
जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४७ रन बनायो । जनकपुरका लागि प्रारम्भिक ब्याटर तृतराज दासले अर्धशतकीय इनिङ खेले । उनले ५५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रनको इनिङ खेलेका हुन् । एनपिएल करिअरमा तृतराजको यो पहिलो अर्धशतक हो । यस्तै, मोइन अलीले १६ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए । अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले । जिमी निशम ११ रनमा आउट भए ।
बलिङतर्फ पोखरा एभेन्जर्सका लागि शाकिब अल हसनले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, चमिका करुणारत्नेले दुई, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान एक–एक विकेट हात पारे । जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस