हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी
काठमाडौँ । कालिकास्थानस्थित नेपालयको 'आर' शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठको 'पलेँटी' सम्पन्न भएको छ ।
पलेँटी विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम हो । आजभन्दा १८ वर्ष पहिले पनि यसै कार्यक्रममा मदनकृष्ण श्रेष्ठको एकल गायन प्रस्तुत भएको थियो । यसपालि भने मञ्चमा मदनकृष्णका साथ उनका छोरा यमन श्रेष्ठको गायन समेत प्रस्तुत भएको थियो ।
कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक तथा संगीतकार आभासले गरेका थिए । झन्डै २ घण्टासम्म चलेको कार्यक्रममा १६ वटा गीतहरू समेटिएका थिए । कार्यक्रममा समावेश गीतहरूमा मदनकृष्ण र यमन श्रेष्ठका अलावा कवि दुर्गालाल श्रेष्ठ, नीर शाह, दिनेश अधिकारी, कमल मैनाली, राजनराज शिवाकोटीका शब्द-रचनाहरू समेटिएका थिए । प्रस्तुत गीतहरूमा न्ह्यू बज्राचार्य, शक्ति बल्लभ, हरि लम्साल, राजनराज सिवाकोटीले भरेका धुनकासाथै अधिकांश धुन मदनकृष्ण र यमन श्रेष्ठकै सृजना रहेका थिए ।
कार्यक्रमको थालनी मदन कृष्णको लोकप्रिय गीत 'अरबौं मान्छेहरूमा तिमी एक मनमिल्ने मान्छे' बाट भएको थियो ।पहिलो गीतको प्रस्तुतिपछि कार्यक्रम सञ्चालकले मदनकृष्ण श्रेष्ठको स्वास्थ्यप्रति इंगित गर्दै 'यसपालीको पलेँटीमा हामी मदनदाइले कस्तो गाउनुहुन्छ भनेर उपस्थित भएकाभन्दा पनि उहाँको सक्रियताको सेलिब्रेसनको लागि उपस्थित भएका हौ...' भन्दा दर्शकको तालीले 'आर'शाला जीवन्त बनेको थियो ।
कार्यक्रमको दोस्रो प्रस्तुतिमा यमनले 'जिन्दगीमा सायद मैले जिउनै जानिनँ' बोलको गीत सुनाएका थिए । मदनकृष्णको शब्द रहेको यस गीतको प्रस्तुति लगत्तै उनले आफ्नै रचनामा रहेको 'नौलो बस्ती देखेँ, जहाँ कोही मान्छे छैन' बोलको गीत सुनाएका थिए ।
कार्यक्रमको पहिलो चरणमा गम्भीर खालका गीतहरू समावेश गरिएका थिए तर पनि कार्यक्रम सञ्चालकको जिज्ञासासँगसँगै मदनकृष्ण श्रेष्ठ र यमन दुबै ठट्यौली पारामा आफ्नो संस्मरण सुनाउँथे र हल हाँसोले गुन्जायमान बन्न पुग्थ्यो ।
कार्यक्रमको चौथो र पाँचौं प्रस्तुतिमा मदनकृष्णले आफ्नै शब्द संगीतमा रहेको 'तिमीलेभन्दा धेरै माया दिने' र राजनराज शिवाकोटीको 'बिर्सी दे भन्छौ मायालु' बोलका गीत सुनाएका थिए । छैठौँ कोसेलीमा गीतकार कमल मैनालीको रचना 'हेर्दा कतै घाउ छैन, नदुखेको ठाउँ छैन' बोलको गीत रहेको थियो । जसलाई आफैंले भरेको धुनमा यमनले प्रस्तुत गरेका थिए ।
यसपछि कार्यक्रममा मदन कृष्ण श्रेष्ठको जीवनसँग मेल खाने गम्भीर प्रकृतिको काव्यात्मक गीत प्रस्तुत भएको थियो । कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको यस गीतमा संगीतकार हरि लम्सालले धुन भरेका छन् ।
'पहाड भो मलाई यो उमेर काट्न,
नसक्ने भएछु तिमी बिना बाँच्न'...
यस गीतमा काव्य वाचन शैलीको प्रयोग गरिएको छ । कार्यक्रममा मदनकृष्णले कविता अंश वाचन गर्दा अधिकांश दर्शकहरूका गह रसाएका देखिन्थे ।
कार्यक्रमको मध्यभागमा आइपुग्दा यमनले गीतकार नीर शाहले रचना गरेको र आफैले धुन भरेको 'यो मन बदल्न चाहन्न, एक्लो पन बदल्न चाहन्न' बोलको गीत सुनाएका थिए । त्यसपछि यमनले नै दिनेश अधिकारीले रचना गरेको चलचित्र ‘फिलिम’का निम्ति बनेको तर प्राविधिक कारणले फिलिममा नसमेटिएको 'मान्छेले किन मान्छेलाई मार्छ, ताकेर निशाना' बोलको गीत गाएका थिए ।पलेँटी अङ्ग्रेजी महिनाको सप्ताहन्तमा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम हो ।
यो शृङ्खला अन्तरगत अगष्ट महिनाको पलेँटीमा (२८ र २९ तारिक) नीर शाह प्रस्तुत हुने भएका छन् । शाह अभिनय क्षेत्रका चर्चित कलाकार हुन् । साथै उनी गीति सृजनामा पनि उल्लेख्य योगदान गर्दै आएका लोकप्रिय गीतकार हुन् । शाहले रचेका 'कहिलेकाँही म हाँस्छु', ‘पर्खी बसेँ आउला भनी मेरो, उठ्ने पालो', ‘बादल बनाइदेऊ' लगायत थुप्रै गीतहरू लोकप्रिय छन् । सो कार्यक्रममा नीर शाहले आफ्ना रचनाका रचनागर्भ सुनाउने छन् भने पलेँटी टिमले उनका गीति सृजनाहरू प्रस्तुत गर्नेछ ।
आयोजकले अगष्ट पलेँटीको टिकेटको बुकिङ खुली सकेको कुरा जानकारी गराउँदै त्यसका निम्ति पलेँटीको आधिकारिक वेभसाइटमा प्रवेश गर्नुपर्ने बताएका छन् ।
सम्बन्धित समाचार





प्रतिकृया दिनुहोस