• बिहीबार ३-२५-२०८३/Thursday 07-09-2026
देश/प्रदेश

समावेशी र समतामुलक समाज निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण

काठमाडौं । अपांगता भएका आदिबासी जनजाति महिला र बालिकाका सवाललाई मुलधारका सञ्चार माध्यममा मुलप्रवाहिकरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय आदिबासी जनजाति अपाङ महिला संघ–नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को आयोजनामा मंगलबार राजधानीमा अपांगता भएका आदिबासी जनजाति महिलाका मुद्धाका विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा उक्त विषयमा जोड दिइएको हो । 


 मुलधारका सञ्चार माध्यमहरुमा अपांगता भएका आदिबासी जनजाति महिला र बालिकाका आवाजलाई मुलप्रवाहिकरण गर्न पत्रकार महिलाको भूमिका विषयक कार्यक्रममा निडवानकी अध्यक्ष डा.प्रतिमा गुरुङले लैंगिकता, अपांगता र सिमान्तकृतका सवाललाई मुलधारका सञ्चारमाध्यममा समावेशीकरण र मुलप्रवाहिकरण कसरी गर्न सकिन्छ र त्यसमा के के चुनौति छन् भन्ने विषयलाई उजागर गर्नु कार्यक्रमको उद्धेश्य रहेको बताइन् । 


समावेशी र समतामुलक समाज निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने भएकाले अपांगता भएका आदिबासी जनजाति महिलाका यस्ता संवेदनशील सवालहरुलाई कसरी अधिकारमूखी अवधारणाबाट ब्यक्तिको मर्यादित जीवनसम्म जोड्न सकिन्छ भन्नेमा सामूहिक रुपमा पहल गर्नुपर्नेमा उनले जोड दिइन् । पत्रकारले समाचार लेख्ने क्रममा प्रयोग गर्ने शब्दहरुदेखि तस्बिरलगायतलाई कसरी यस वर्गमैत्री बनाउने भन्ने विषयमा पनि सचेत हुन उनले आग्रह गरिन् । 


कार्यक्रममा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को तर्फबाट प्रस्तुति दिँदै संस्थाकी अध्यक्ष रामकला खड्काले मुलधारका सञ्चार माध्यमले आफ्नो सञ्चार गृहको जनशक्ति र नेतृत्व तहमा सबै बर्ग र लिंगको समानुपातिक प्रतिनिधित्व गराउने, समाचार र कार्यक्रमहरुमा सिमान्तकृत समुदायका मुद्धालाई प्राथमिकता दिने र सञ्चार संस्थाले आफ्नै ‘समावेशी सञ्चार निर्देशिका’ बनाएर लागु गराउनुपर्ने जनाइन् । 


त्यसैगरी निडवानको तर्फबाट प्रस्तुति दिँदै संस्थाका प्राविधिक सल्लाहकार कृष्ण गहतराजले जसको जीवन्त भोगाई छ समाचारमा त्यसैलाई केन्द्रित गर्दै उसैको आवाजमा प्रशारण हुनुपर्ने उनले बताए । अपांगता भएका महिला त्यसमा पनि आदिबासी जनजाति महिलालाई पनि पत्रकारितामा ल्याउनुपर्ने उनले सुझाव दिए । पत्रकारले जति नै समाचार बनाए पनि विभिन्न खाले अपांगता भएका ब्यक्तिले त्यसलाई पढ््न, हेर्न बुझ्न सकेन र त्यो सूचनामा पहुँच हुन सकेन भने यसको पनि कुनै अर्थ नहुने हुँदा पत्रकार महिलाले पनि यस विषयमा ध्यान दिनुपर्ने उनले सुनाए । अपांगताको सवाललाई मिडियाले दयामुखी अवधारणाले बस्तुकरण मात्र नगरेर अधिकारको हिसाबमा पनि हेरिदिन र हरेक विषयलाई अन्तरक्षदिय दृष्टिकोणबाट हेर्न उनले सुझाव दिए । 


निडवानकी महासचिव श्रुती कुमालले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाले आफूले अपांगता भएका आदिबासी जनजाति महिलाका विषयमा लेखेका समाचारहरूका विषयमा अनुभव सुनाए । कतिपय अवस्थामा आफूहरुले अपांगतामैत्री, महिलामैत्री र आदिबासी जनजातिमैत्री शब्दहरुको प्रयोग गरेर निकै संवेदनशील ढंगमा कुराकानी गरेर स्टोरी लेखन वा कार्यक्रम तयार पारे पनि डेस्क सम्पादक वा सम्पादकको तहबाट राम्रो बनाउने नाममा उल्टै बिगारिदिने परिपाटि रहेकाले सम्पादकहरुका लागि पनि यस्ता विषयमा तालिम तथा सचेतना कार्यक्रम आवश्यक रहेको जनाए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार