गायिका आशा भोसलेको निधन
काठमाडौं । भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो। सन् १९३३ सेप्टेम्बर ८ मा साङ्गलीमा जन्मिएकी आशा पण्डित दीनानाथ मङ्गेशकरकी तेस्रो सन्तान थिइन। १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गरेकी उनले सात दशक लामो अवधिमा ११ हजारभन्दा बढी गीतमा स्वर दिएकी छिन् । सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड्सले उनलाई विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गराउने कलाकारको रूपमा मान्यता दिएको थियो।
उनका मिरमिरे साँझमा, एउटा मान्छे मनपर्छ, यति धेरै माया दियौ, आज हाम्रो भेट भाको दिन, को होला मेरो मायालु, साउने झरीमा, किन बढ्दैछ ढुकढुकी, पहाडको माथि माथि, तिम्रो मनमा लुकेको कुरा, तिमी मेरो म तिम्रो, तिम्रो आँखाको सागरमा लगायत दर्जनौं गीत लोकप्रिय छन् । खासगरी स्वरसम्राट नारायणगोपालसँग उहाँको युगल गायन निकै चर्चित थियो । चलचित्र ‘प्रेमपिण्ड’ को ‘गैरी खेतको शिरै हान्यो’ ‘चिनो’ मा नारायणगोपालसँग गाउनुभएको ‘मोहनी लाग्ला है’, र ‘स्वर्ग’ को ‘दियो बाली साँझको’ गीतलाई अझ पनि हामी बिर्सन सक्दैनौ । रञ्जित गजमेर, सम्भुजित बास्कोटा, कुसुम गजमेर, तुलसी घिमिरे, किरण खरेल, यादव खरेल आदिसँग उनले गीतहरुमा सहकार्य गरेकी छिन् ।
भोसलेले 'नयाँ दौरु', 'तीसरी मञ्जिल', 'उमराव जान', 'इजाजत' र 'रङ्गीला' जस्ता सयौँ चलचित्रमा अविस्मरणीय गीत गाएकी छिन्। उनले दुई पटक राष्ट्रिय पुरस्कार, दादासाहेब फाल्के पुरस्कार (२००१) र पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मान प्राप्त गरेकी छिन् । सन् १९९७ मा उहाँ ग्रामी अवार्डका लागि मनोनयन हुने पहिलो भारतीय गायिका समेत बनेकी थिइन।
मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो। हृदयाघात र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शनिबार अस्पताल भर्ना हुनुभएकी भोसलेको स्वास्थ्यमा सुधार नभएपछि उनलाई मृत घोषणा गरिएको थियो । उहाँको अन्तिम संस्कार सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिने छ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस