• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
राजनीति

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गरेको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको हो ।

 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको सो विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेभसाइट (opmcm.gov.np) मा हेर्न सकिनेछ । भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान छ । 

 

प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । यसको स्रोत समाजिक सञ्जाल हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । आमाको नाममा काठमाडौंमा ५ आना जग्गा घर,धनुषामा डेढ बिगाहामा घर र महोत्तरीमा बाबुको नाममा ९ बिगाहा जग्गा रहेको छ । प्रधानमन्त्री शाहले शेयरको विवरण राखेका छैनन् ।

 

गृहमन्त्री सुधन गुरुङको ८९ तोला सुन छ । उनको नामा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । गृहमन्त्री गुरुङका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । गृहमन्त्री गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । उक्त शेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।

 

अर्थमन्त्री डा स्वर्णिम वाग्लेको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन् ।

 

परराष्ट्रमन्त्री शिशिर खनालको घरजग्गा बुवा सूर्यभक्त खनालको नाममा रहेको छ । उनको बुवाको नाममा काठमाडौंमा ६ आनाको घर रहेको छ । त्यस्तै बुवाकै नाममा तनहुँ नवलपुर र नेपालगञ्जग गरी २८ रोपनी र २ कठ्ठा जग्गा छ । उनको बैंक ब्यालेन्स- १३ लाख रुपैया छ भने सुन मात्र २२ तोला छ । श्रीमति र आफ्नो नाममा विभिन्न कम्पनीमा शेयर उनको शेयर छ ।

 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् । त्यस्तै सेयरमा १ ४५ लाख ४८ हजार ४२० रुपैयाँ रहेको विवरण छ । उनीसँग गाडी, स्कुटर र इभी गाडी रहेको पनि उल्लेख छ ।

 

कानुनमन्त्री सोबिता गौतमले काठमाडौं र चितवनमा दुई वटा घर रहेको उल्लेख गरेकी छिन् । सम्पत्ति विवरण अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बैंक ब्यालेन्स स्वरुप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् ।

 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसंग  २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ । मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनका श्रीमान्‌सँग पल्सर मोटरसाइकल रहेको छ । नगद ५० हजार रुपैयाँ र बैंकमा उनी र श्रीमान्‍को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ । मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन-चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स छ ।सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ । उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख गरेका छन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको काठमाडौंमा जग्गा छ । काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेका उल्लेख छ । आफूसँग २५ तोला सुन रहेको र स्रोत स्वआर्जन तथा परिवारको उपहार भनेकी छन् । बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् ।

 

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ । उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ । ५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरीले ऋण काढेर एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुटर खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार