• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
बिश्व

बंगलादेश टी-२० विश्वकप खेल्न 'भारत नजाने'

काठमाडौं । बंगलादेश सरकारले आफ्नो राष्ट्रिय क्रिकेट टोलीले भारतमा गएर टी-२० विश्वकप नखेल्ने निर्णय गरेको छ। बाङ्ग्लादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम बुलबुलले त्यहाँको अन्तरिम सरकारका खेलकुद सल्लाहकार आशिफ नजरुलसँगको भेट पछि आफ्नो टोली भारत नपठाउने निर्णय गरेको जनाएको हो।

 

बीबीसी न्यूज बाङ्ग्लाका अनुसार सल्लाहकार आशिफले भनेका छन्, "हामीले आईसीसीबाट न्याय पाउन सकेका छैनौँ। आईसीसीले हाम्रो सुरक्षासम्बन्धी चासोलाई गम्भीर रूपमा विचार गरी श्रीलङ्कामा खेल्ने हाम्रो अनुरोध स्वीकार गर्ने छ भन्ने हामी आशा गर्दछौँ।" भारतीय भूमि सुरक्षित नभएको भन्दै आफ्ना खेलहरू अर्को आयोजक राष्ट्र श्रीलङ्कामा गर्न गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्वीकार गरेपछि पनि बंगलादेशले आफ्नो अडान कायम राखेको हो।

 

आईसीसीले भारतमा खेल्ने वा नखेल्ने निर्णय गर्न बीसीबीलाई बिहीवारसम्मको समय दिएको थियो। आईसीसीले बुधवार बसेको बोर्डको निर्णय सुनाउँदै भनेको थियो, "प्रतियोगिता सुरु हुन लागेका बेला परिवर्तन गर्नु सम्भव छैन। अनि कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको अवस्थामा कार्यक्रम परिवर्तन गर्दा भविष्यका आईसीसी प्रतियोगिताहरूको मर्यादामा असर पार्ने नजिर स्थापित हुन सक्ने छ।" उसले भारतीय भूमिमा खेल्न बंगलादेश सुरक्षित हुने नहुने विषयमा भित्रैसम्म पुगेर अनुसन्धान गरेको र त्यसमा बाङ्ग्लादेशी खेलाडी, अधिकारीहरू, मिडिया र दर्शकलाई कुनै पनि सुरक्षा चुनौती नहुने निष्कर्ष निकालेको पनि जनाएको छ।

 

भारतसँग समस्या रहेको अर्को देश पाकिस्तानको भने लीग चरणको सबै खेल श्रीलङ्कामा छ। पछिल्लो समय भारतको चर्चित फ्रेन्चाइज क्रिकेट लीग आईपीएलमा कोलकाता नाइट राइडर्समा आबद्ध बंगलादेशी खेलाडीलाई टोलीबाट हटाएपछि दुई छिमेकीबीचको तनाव सतहमा देखिएको थियो। भारतीय क्रिकेट बोर्ड बीसीसीआईको निर्देशनमा कोलकाताले ९.२ करोड भारतीय रुपैँयामा अनुबन्धित भएका बंगलादेशी बायाँहाते पेसबलर मुस्तफिजुर रहमानलाई टोलीबाट मुक्त गरिदिएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार