बाङ्ग्लादेशमा भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिने फैसला
बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र "मानवताविरोधी अपराध" गरेको अभियोगमा बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमवार उनीसहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो।
गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा सुरु भएर चर्किएको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसङ्घको एउटा अनुमानअनुसार उक्त आन्दोलनका क्रममा १,४०० जनाको मृत्यु भएको थियो।
अदालतले हसिनाको अनुपस्थितिमै फैसला सुनाएको हो। सत्ताच्युत भएपछि उनी भारतमा छिन्।उनले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन्।मृत्युदण्ड हुने फैसला आएपछि उनले पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै त्यो "पूर्वाग्रही र राजनीतिक रूपबाट प्रेरित भएको" टिप्पणी गरेकी छन्।विज्ञप्तिमा उनले अन्तरिम सरकारमाथि आफ्नो पार्टी "अवामी लीगको राजनीतिक शक्ति" मेटाउन खोजेको आरोप पनि लगाएकी छन्। बीबीसी





प्रतिकृया दिनुहोस