‘कामा’ युके र आयरल्याण्डका हलमा रिलिज हुदै

काठमाडौं । निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश फिल्म ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने फिल्म सस्पेन्स, एक्शन र थ्रिलले भरिएको बताइन्छ ।
युकेका बिभिन्न स्थानमा खिचिएको फिल्ममा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ । फिल्मको ट्रेलरले दर्शकको मन जितिरहेको छ । फिल्ममा हलिउड कलाकार म्याट वेकफोर्डनट,जेमिमा टोम्स,मिया बेनेट,साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा अभिनीत छन् ।
विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता र एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कथा स्व. बिसारद बस्नेतको हो भने स्क्रिप्ट हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको ‘कामा’ ले इटलीमा सम्पन्न मिलान इन्टरनेशनल फिल्म मेकर फेष्टिभलमा सर्वाेत्कृष्ट फिल्म,सर्वाेत्कृष्ट स्क्रिप्ट,सर्वाेत्कृष्ट अभिनेता र सर्वाेत्कृष्ट अभिनेत्रीको चार अवार्ड जितेको थियो ।
त्यसैगरी,म्याड्रिड इन्टरनेशनल फिल्म फेष्टिभल–२०२४ मा सर्वाेत्कृष्ट अभिनेता,सिनेमाटोग्राफर र सहअभिनेताको अवार्ड जितेको थियो । थुप्रै फेष्टिभलमा नोमिनेशनमा परेको छ । लामो समयदेखि युकेमा बसोबास गर्दै आइरहेका अभिनेता,निर्माता बिक्रम जोशीले यसअघि ‘पासवर्ड’,‘ह्याप्पी डेज’,‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ फिल्म निर्माण गरिसकेका छन् । ‘कामा’ छिट्टै अमेरिका,अष्ट्रेलिया,क्यानडालगायतका देशका हलमा तथा केही समयपछि हिन्दीमा भारत र नेपालीमा नेपालका हलमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस